नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छ : शेखर कोइराला – Nepal Press

नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औं पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताएका हुन् ।

नेता कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे । नेपालका सबै पार्टीका नेताहरुले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क थियो । राजनैतिक पेशा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।

‘राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेशा व्यवसायी गर्दा भइगयो नि’, उनले भने, ‘पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यतिथि बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरु आएका छन् ।’

मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठलगायतले स्वर्गीय न्यौपानेको राजनैतिक र सामाजिक व्यक्तित्वका विषयमा चर्चा गरे ।

नेविसंघ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर