कांग्रेसद्वारा चितवनका १८ बागी-विद्रोहीको निलम्बन फुकुवा, रविको समर्थन गरेको निहुँमा जगन्नाथ कारबाहीमै – Nepal Press

कांग्रेसद्वारा चितवनका १८ बागी-विद्रोहीको निलम्बन फुकुवा, रविको समर्थन गरेको निहुँमा जगन्नाथ कारबाहीमै

चितवन । नेपाली कांग्रेसले चितवनका बागी-विद्रोही नेताहरूको निलम्बन फुकुवा गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा भएको जानकारी गराएको छ ।

कारबाही फुकुवाको पहिलो नम्बरमा दिनेश कोइरालाको नाम छ । उनी एमाले अध्यक्ष केपी ओली आफैले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरका गठबन्धनका बागी उम्मेदवार हुन् ।

उनी चितवन ३ मा बागी उठेपछि केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । स्थानीय निर्वाचनताका भरतपुर महानगरमा मेयर पदमा जगन्नाथ पौडेललाई गठबन्धन उम्मेदवार रेनु दाहालको विरुद्ध उम्मेदवार बनाई उनका प्रचारमा मुख्य भूमिका खेलेका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तत्कालीन महासमिति सदस्य मीना खरेललगायतको भने निलम्बन फुकुवा गरिएको छ ।

गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन बैठक बसी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन भूमिका खेल्ने नेताहरूलाई निलम्बन फुकुवा गर्ने निर्णय गरिएको थियो । सोही अनुरूप गत वैशाखको उपचुनावमा आफ्ना उम्मेदवार जिताउन बारा, तनहुँ र चितवनमा भूमिका खेल्ने नेताहरूको जिल्लाको सिफारिसका आधारमा निलम्बन फुकुवा गरिएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए ।

१८ जनाको निलम्बन फुकुवा गर्दा स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरका उम्मेदवार रेनु दाहालको विरुद्धमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलको निलम्बन भने फुकुवा गरिएको छैन ।

जिल्ला कार्यसमितिले केन्द्रीय अनुशासन आयोगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेको पक्षमा भाषण तथा भोट नै मागेको भनेर रिपोर्टिङ गरेपछि निलम्बन फुकुवा नभएको हो ।

चितवन कांग्रेसका सचिव पोखरेलले भने, ‘वैशाख १० को निर्वाचनमा केही साथीहरू मौन बसे, केहीले हाम्रा उम्मेदवारलाई सघाए, तर जगन्नाथजीले खुलेरै घण्टीको पक्षमा भोट माग्नुभयो हामीले उहाँको निलम्बन फुकुवा गर्न सकेनौं ।’

पौडेल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यदेखि विभिन्न जिम्मेवारीमा बसिसकेका व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर