सालीको मृत्युपछि नेपाल ल्याएर पालेका भारतीयलाई नागरिकता दिन खोज्दा प्रहरीकाे फन्दामा – Nepal Press

सालीको मृत्युपछि नेपाल ल्याएर पालेका भारतीयलाई नागरिकता दिन खोज्दा प्रहरीकाे फन्दामा

रूपन्देही । पश्चिम नवलपरासीमा झुटो विवरण पेश गरी नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले ठूलो बाबुलाई आफ्नै बाबु बनाएर नेपाली नागरिकता लिन खोजेको आरोपमा ती व्यक्तिलाई गरेको हो ।

यसरी पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका २० वर्षीय राहुल कुर्मी रहेका छन्। प्रतापपुर गाउँपालिका-६ कठहवाका गौरीशंकर कुर्मीले आफ्नी सालीका छोरा राहुललाई नागरिकता दिलाउन खोजेको अनुसन्धानबाट खुल्न आएको छ।

वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस र अन्य सबै कागजपत्र बनाएर राहुल र गौरीशंकर इलाका प्रशासन कार्यालय सेमरीमा नागरिकता लिन पुगेका थिए।

एक महिनाअघि मात्र राहुलको जन्मदर्ता भएको कागज देखेपछि प्रशासनका कर्मचारीले शङ्का मानेर प्रहरी सर्जिमन गर्न पठाएका थिए। प्रहरी सर्जिमनमा स्थानीयले राहुल गौरीशङ्करका सालीका छोरा रहेको बताएपछि उनी भारतीय नागरिक भएको खुलेको थियो ।

जन्मदर्तामा राहुलका बाबुआमा गौरीशङ्करका दम्पती उल्लेख छ। गौरीशंकरको नागरिकता वंशजको हो। गौरीशङ्करले केही महिनादेखि सालीका छोरालाई नागरिकता दिलाउने प्रयासमा बाबु बनेर कागजपत्र तयार गरेको एक स्थानीयले बताएका छन्।

भारतीय नागरिक साली र साडुको मृत्यु भएपछि गौरीशङ्करले सानै उमेरदेखि छोरालाई ल्याएर पालन पोषण गरेका थिए। जन्मदर्ताको प्रमाण पत्र र गौरीशंकर आफैँले वडामा आएर छोरा हो भनेर सनाखत गरेपछि नागरिकताको सिफारिस दिइएको कार्यवाहक वडाध्यक्ष अवदेश यादवले बताएका छन्।

‘गौरीशङ्करका आफ्ना दुईवटा छोरा छन्। नागरिकता बनाउन आएका व्यक्तिको अनुहार पनि गौरीशंकरसँग मिल्छ, कान्छा छोराको नागरिकता बनाउन आएका होलान् भनेर सिफारिस दियौँ। झुक्काएर लगेको पछि बल्ल थाहा भयो,’ कार्यवाहक वडाध्यक्ष यादवले भने ।

इलाका प्रशासनको पत्रानुसार गाउँमा गएर सर्जिमन बुझ्दा भारतीय नागरिक भएको खुलेपछि राहुललाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताएका छन् ।

उनलाई नागरिकतासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा गैर नागरिकलाई नागरिकता दिलाउन खोज्ने र सिफारिस गर्ने सबै क्रमशः अनुसन्धानको दायरामा आउने प्रहरीले जनाएको छ।

पछिल्लो पटक नागरिकता एेन शंशोधनपछि बाबुआमाको नागरिकता भएर नपाएकाहरूलाई दिन थालिएको भएपनि तराईका केही स्थानमा जनप्रतिनिधिको गलत सिफारिसका कारण केही विवादहरू बाहिर आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर