पुछारसम्म छ नेपालकाे ब्याटिङ, बलियाे पाकिस्तानविरूद्ध `लाे अर्डर´ चल्ला ? – Nepal Press

पुछारसम्म छ नेपालकाे ब्याटिङ, बलियाे पाकिस्तानविरूद्ध `लाे अर्डर´ चल्ला ?

काठमाडौं। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका पछिल्ला प्रदर्शनहरु हेर्ने हो भने बलरहरुले ब्याटिङमा लगातार टेको दिँदै आएका छन्। सातौँ, आठौ , नवौँ नम्बरमा ब्याटिङ गर्न आउने ब्याट्सम्यानबाट खास अपेक्षा नहुने गरेपनि नेपाल भने भाग्यमानी रहँदै आएको छ।

खासगरी गुल्सन झा, करन केसी, सोमपाल कामी र सन्दीप लामिछानेले ब्याटिङमा पनि उल्लेखनीय योगदान गरिरहेका छन्। एसिया कपअन्तर्गत पहिलो खेलमा बुधबार नेपालविरुद्ध उत्रँदा पाकिस्तानका विश्वस्तरीय बलरलाई तल्लोक्रमका ब्याट्सम्यानको विकेट लिन पनि त्यति सजिलो हुने छैन।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका सोमपाल कामीले ४७ खेलमा २ अर्धसतकसहित ४ सय ७८ रन जोडेका छन्। उनको ब्याटिङ औसत २०।७८ रहेको छ।

गुल्सन झाले २२ खेलमा ३ अर्धसतकहित ४ सय ५२ रन बनाएका छन्। उनको ब्याटिङ औसत ३४।७६ रहेको छ। यस्तै सन्दीप लामिछानेले ४९ खेलमा १४।६८ को औसतमा ३ सय ६७ रन बनाएका छन्। करन केसीले ४६ खेलमा १३।९६ को औसतमा ३ सय ४९ रन बनाएका छन्। यी चारै जना बलिङ अलराउन्डर हुन्।

सोमपाल २ पटक, सन्दीप ६ पटक र करन ४ पटक शुन्यमा आउट भएको इतिहास छ। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सन हालसम्म शुन्यमा आउट भएका छैनन्। करियरको उच्च पालीका रुपमा सोमपालले अविजित ६३, सन्दीपले अविजित ३५, करनले ४२ र गुल्सनले अविजित ६७ रन बनाएको इतिहास छ।

सन् २०२२ को जुनमा सोमपाल कामीले आरिफ शेखसँग छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेका थिए। अमेरिकाविरुद्ध उक्त साझेदारी भएको थियो। गत मेमा गुल्सन झाले भीम सार्कीसँग मिलेर यूएईविरुद्ध चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरेका थिए।

सन्दीप र गुल्सनले गत जुलाईमा आयरल्यान्डविरुद्ध आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। सोही महिना सन्दीपले दीपेन्द्रसिह ऐरीसँग मिलेर यूएईविरुद्ध आठौँ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। गत मार्चमा पपुआ न्युगिनीविरुद्ध सन्दीप र आसिफ शेखबीच आठौँ विकेटका लागि ७७ रनको साझेदारी भएको थियो।

करनले रोहित पौडेलसँग मिलेर गत फेब्रुअरीमा स्कटल्यान्डविरुद्ध नवौँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेका थिए। गत जुनमा वेस्ट इन्डिजविरुद्ध गुल्सन र आरिफबीच सातौँ विकेटका लागि ६८ रनको साझेदारी भएको थियो।

सन् २०२१ मा पीएनजीविरुद्ध करन र रोहितले सातौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। सन् २०२२ मा गुल्सन र आरिफले यूएईविरुद्ध सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। गत अप्रिलमा करन र सोमपालले नवौँ विकेटका लागि ओमानविरुद्ध ६१ रनको साझेदारी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर