भ्रष्टाचार मुद्दामा सायल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ कर्मचारीले पाए सफाइ – Nepal Press

भ्रष्टाचार मुद्दामा सायल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ कर्मचारीले पाए सफाइ

डोटी । भ्रष्टाचारको आरोपमा निलम्बनमा रहेका डोटीको सायल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटासहित तीनजना कर्मचारीले सफाइ पाएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन रकमबाट सायल गाउँपालिका-५ को मेल्लेख चपन्ना सडक निर्माणको कार्य नगरेरै मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल असार २८ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा, ईन्जिनियर किरण सागर भण्डारी र लेखापाल दिपक कार्कीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले उक्त सडकमा कामै नगरि १४ लाख ३४ हजार २८६ रुपैयाँ भुक्तानी गरेको भन्दै तीन जना कर्मचारीसहित सात जनाका बिरुद्ध मुद्धा दायर गरेको थियो ।

गैरकानूनी तरिकाले रकम भुक्तानी दिई सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै तीन जना कर्मचारीहरुलाई जनही १४ लाख ३४ हजार २८६ रुपैयाँ बिगो कायम गरि सोही बमोजिम जरिवाना र कैद हुनुपर्ने अख्तियारको मागदाबी रहेको थियो । अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेपछि तीनै जना कर्मचारीहरु निलम्बनमा परेका थिए ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, सालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त ईजलासले उनीहरुलाई सफाई दिएको हो ।

सो मुद्दामा गाउँपालिकाको वडा नं. ५ का तत्लकालीन वडाध्यक्ष गणेशवहादुर बोगटी, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी वोगटी ‘खड्का’ लाई पनि विपक्षी बनाईएको थियो ।

उनीहरुलाई जनही १४ लाख ३४ हजार २८६ रुपैयाँ बिगो कायम गरि सोही बमोजिम जरिमाना गर्नु पर्ने माग दाबी थियो । विशेष अदालतले उनीहरुलाई समेत सफाई दिएको छ ।

सफाइ पाएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बिशेष अदालतबाट आफुलाई न्याय पाएको अनुभूति भएको वताए ।

‘झुटो मुद्धा बनाएर हामीलाई फसाउने काम भएको थियो’ सापकोटाले भने ‘न्यायालयले झुटलाई झुटनै भनेको छ, त्यसैले खुशी छु ।’ उनी आफुमाथी लागेको दागले भने सधैं झस्काईरहने बताउँछन् । उनी भन्छन् ‘समाजले जे जे लान्छना लायो, त्यसको क्षतिपूर्ति त कसरी होला र ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *