टिकटक बन्द गराउन युवराज सफलले दिए सञ्चारमन्त्रीलाई निवेदन, अबदेखि लाइभ नबस्ने घोषणा – Nepal Press

टिकटक बन्द गराउन युवराज सफलले दिए सञ्चारमन्त्रीलाई निवेदन, अबदेखि लाइभ नबस्ने घोषणा

काठमाडौं । रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको उनको गुनासो छ ।

निवेदनमा उनले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् ।

‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’, उनको निवेदनमा भनिएको छ ।

टिकटकमा गेमको नाममा लाखाैं करोडौंको समेत कारोवार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरुले आजसम्म नेपालमा कुनै पनि राजश्व नतिरेको सफलको दाबी छ । टिकटक गेमलाई समेत करको दायरामा ल्याउन उनले माग गरेका छन् ।

त्यसो त युवराज सफल आफैं एक सक्रिय टिकटक प्रयोगकर्ता हुन् । उनी बाक्लै लाइभमा पनि झुल्किरहेका हुन्छन् । अब भने उनले आफू पनि टिकटक लाइभमा नबस्ने घोषणा गरे ।

‘म पहिले पहिले बिहान बेलुका दुई चार घण्टा लाइभमा बस्ने गर्थेँ । तर, अब बस्दिनँ’, उनले नेपाल प्रेससँग भने । आफूले टिकटक लाइभबाट कसरी पैसा कमाउने भनेर मेसो पनि नपाएको उनको दाबी छ ।

टिकटकमा धेरै गालीगलौज आएर बन्द गराउन माग गर्नुभएको हो भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरो व्यक्तिगत कुरा होइन । मैले देश र समाजका लागि भनेको हो । यदि सञ्चार मन्त्रालयले गरेन भने सर्वोच्च पनि जानेछु ।’

टिकटकबाट अश्लिल गालीगलौज, वेश्यावृत्ति, सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनले बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “टिकटक बन्द गराउन युवराज सफलले दिए सञ्चारमन्त्रीलाई निवेदन, अबदेखि लाइभ नबस्ने घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *