सत्तापक्षका संसदीय दलका नेताले प्रयोग गरेको सवारीबारे प्रदेशसभा सचिवालयको यस्तो जवाफ – Nepal Press

सत्तापक्षका संसदीय दलका नेताले प्रयोग गरेको सवारीबारे प्रदेशसभा सचिवालयको यस्तो जवाफ

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सत्ता पक्षका संसदीय दलका नेताले लिइरहेको सवारी साधनबारे संसदीय समितिलाई जवाफ दिएको छ । यस अघि संसदीय समितिले प्रदेश सभा सचिवालयलाई सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका सरकारी गाडीबारे दुरुपयोग भएको भन्ने आरोप लागेको भन्दै जवाफ मागेको थियो ।

आज प्रदेशसभा सचिवालयले गाडीको विवरणबारे लेख्दै तीन दलका नेताहरूलाई गाडी फिर्ता माग्न अनुरोध गरेको जानकारी गराएको हो ।

‘लामो समय देखी गाडी थन्किएको हुँदा उहाँहरूलाई गाडी उपलब्ध गराइएको हो ’जवाफमा भनिएको छ ‘कानुनमा गाडी सुविधा उल्लेख भएपनि अनुसूचीमा त्यो सुविधा छैन । त्यसैले गाडी फिर्ता गर्न अनुरोध गरिसकेका छौँ ।’

आज प्रदेश सभा सचिवालयले दिएको जवाफ सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य ले बुझिसेका छन् । उनले आगामी बैठकमा उक्त जवाफ पेस गर्ने बताए ।

‘प्रदेश सभा सचिवालयले जवाफ दिएको छ अर्काे बैठकमा हामी उक्त जवाफबारे छलफल गर्छौ’ ज्येष्ठ सदस्य विक्रम धामीले जानकारी दिए ।

अहिले सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्तिका घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा तथा पारिश्रमिक सम्बन्धी ऐनमा उनीहरुले गाडी पाउने व्यवस्था भएपनि सोही ऐनको अनुसूचीमा उनीहरूलाई गाडी सुविधाबारे उल्लेख नगरेपछि सार्वजनिक लेखा समितिले प्रदेश सभा सचिवालयलाई गाडी सुविधा बारे जवाफ मागेको थियो ।

आज सचिवालयले दिएको जवाफमा संसदीय दलका नेता मात्रै नभई तीन वटा बिषयगत समितिका ज्येष्ठ सदस्यहरूले पनि गाडी प्रयोग गरिरहेको भन्दै जवाफ दिएको छ ’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *