२१ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको त्यो म्याच – Nepal Press

२१ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको त्यो म्याच

काठमाडौं । नेपालसँग विश्वकप खेलेको अनुभव पहिल्यै थियो । सन् १९९९ को एसीसी युथ एसिया कप (एसीसी यू-१९ कप)को फाइनलसम्म पुगेपछि नेपालले एक वर्षपछि आयोजना भएको आईसीसी यू-१९ विश्वकप खेल्ने मौका पायो । अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खरै वामे सर्न थालेको नेपालका लागि विश्वकप सहभागिता ऐतिहासिक उपलब्धि थियो ।

एसीसी युथ एसिया कपको फाइनलमा नेपाललाई उपाधि भिडन्तमा हराएको बंगलादेशले सन् २००० को जुनमा टेस्ट मान्यता पाएपछि एसियाली एसोसिएट क्रिकेटमा नेपालको दबदबा सुरु भयो, खासगरी यू-१९ क्रिकेटमा । श्रीलंकामा आयोजना भएको सन् २००० को यू-१९ विश्वकपमा नेपाल केवल एक खेल जितेर दोस्रो चरण पुग्न सफल भयो भने दक्षिण अफ्रिका जस्तो सशक्त टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।

नेपालले केन्यालाई मात्र हराएको थियो भने पाकिस्तान र दक्षिण अफ्रिकासँगका खेल रद्द भएपछि अंक बाँडेको थियो । दक्षिण अफ्रिकाले भने तीनवटै खेल रद्द भएका कारण अंक बाँडेर बाहिरिनु परेको थियो । दक्षिण अफ्रिकासँग २९६ रनको लक्ष्य पछ्याएको नेपाल वर्षाले खेल रोकिनुअघि १२ ओभरमा २४/४ को अवस्थामा थियो । त्यसपछि खेल सुचारु हुन सकेन ।

सन् २००१ मा नेपालमै आयोजना भएको एसीसी युथ एसिया कपमा नेपाल फाइनलमा मलेसियालाई हराएर लगातार दोस्रोपटक विश्वकप पुग्न सफल भयो । सन् २००२ मा न्युजिल्याण्डमा आयोजना भएको यू–१९ विश्वकपको पहिलो चरणमा नेपालले पाकिस्तान, इङ्ल्यान्ड र पपुआ न्युगिनीसँग खेल्नुपर्ने थियो ।

नेपालले समूहका दुई खेल जित्यो तर नेट रनरेटका आधारमा पहिलो चरणबाटै बाहिरिन पुग्यो ।

पहिलो खेलमा इङ्ल्यान्डसँग ३७ रनले पराजित भएको नेपालले दोस्रो खेलमा पाकिस्तानलाई ३० रनले हराएर सनसनी मच्चाएको थियो । पाकिस्तानले टस जितेर नेपाललाई ब्याटिङका लागि बोलायो ।

नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १५१ रन जोड्यो । त्यस खेलमा नेपालका बरदान चालिसेले ४२, मन्जित श्रेष्ठले १७, कनिस्क चौगाईंले १५, सन्जम रेग्मीले १६ र शक्ति गौचनले १२ रन बनाएका थिए । कप्तान विनोद दासले खाता खोल्न सकेका थिएनन् । यसवन्त सुवेदीले ५ र मनोज कटवालले ८ रन जोडेका थिए ।

पाकिस्तानका जुनैद जिया र कमरान साजिदले समान ४-४ र उमर गुलले २ विकेट हात पारेका थिए ।

तर, पाकिस्तानका ब्याट्सम्यानहरुमाथि नेपाली बलरहरु हावी भए । उसले ४५.४ ओभरमा सबै विकेट गुमाएर १२१ रनमात्र जोड्न सक्यो ।

नेपालका शक्ति गौचन र सन्जम रेग्मीले ३-३ विकेट लिएका थिए । विनोद दास, लाक्पा लामा र बरदान चालिसेले पनि एकएक विकेट हात पारेका थिए ।

पाकिस्तानका कप्तान सलमान बट १०, कमरान युनिस २, कमरान साजिद १७, असिम मुनिर ३४ र खकान अर्सलले २४ रन बनाएका थिए । पाकिस्तानी टोलीमा अजहर अली पनि थिए ।

पाकिस्तानले ८४ रन जोड्दा चौथो विकेटका रुपमा खकानलाई गुमाएपछि लगातार दबाबमा आएको थियो । शक्ति गौचनले खकानलाई एलबीडब्लु धरापमा पारेका थिए । शक्तिले त्यसपछि विकेटकिपर अमिन उर रहमानलाई डकआउट गरेका थिए ।

ब्याटिङमा सर्वाधिक ४२ रनसहित ३ ओभरमा बलिङ गर्दै एक मेडन राखेर २ रनमात्र खर्चिएका बरदानलाई प्लेयर अफ दी म्याच अवार्ड दिइएको थियो । त्यसपछि समूहगत चरणबाटै बाहिरिएका टोलीबीच भएको प्लेट च्याम्पियनसीपमा नेपालले पहिलो चरणमा क्यानडा, नामिबिया र स्कटल्यान्डलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

बंगलादेशससँग भएको सेमिफाइनलमा नेपाल २३ रनले विजयी भएर फाइनल पुगेको थियो । बंगलादेशविरुद्ध नेपालले १८१ रनको लक्ष्य दिएको थियो । नेपालका बासुदेव थापाले अविजित ४१, मन्जित श्रेष्ठले २७, बरदान चालिसले २७, प्रेम चौधरीले २५ र कप्तान विनोद दासले १७ रन बनाएका थिए ।

बंगलादेशका सेयद रसेलले २ तथा आसिकर रहमान, अली अरमान, वासेलुद्धिन अहमद र मोहम्मद असरफुलले एकएक विकेट हात पारेका थिए ।

बंगलादेशले ४७.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र जोड्न सकेको थियो ।

नेपालका बरदान चालिसले ४, विनोद दासले २ तथा मन्जित श्रेष्ठ र सन्जम रेग्मीले एकएक विकेट हात पारेका थिए । नेपाली टोली फाइनलमा जिम्बावेसँग १३७ रनले पराजित भए पनि एउटै प्रतियोगितामा दुईवटा टेस्ट राष्ट्रलाई हराएर भविष्यमा बलियो टोलीका रुपमा उदाउन सक्ने संकेत गरेको थियो ।

नेपालले सन् २००४ को यू-१९ विश्वकपको पहिलो चरणमै दक्षिण अफ्रिकालाई हराएर फेरि सनसनी मच्चाएको थियो । तीन टोलीको समान अंक भएपछि नेपाल नेट रनरेटमा पछाडि परेर दोस्रो चरण पुग्न सकेको थिएन ।

सन् २००६ को विश्वकपमा नेपालले इयन मोर्गनको कप्तानीमा रहेको आयरल्यान्डलाई पहिलो चरणमा हराएको थियो । मोर्गन पछि इङ्ल्यान्डको कप्तान बनेका थिए । उक्त विश्वकपमा नेपाल प्लेट च्याम्पियन बनेको थियो । नेपालले क्वाटरफाइनलमा युगान्डा, सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।

त्यसयता नेपालले यू-१९ क्रिकेटको विश्वकपमा एकपटक न्युजिल्यान्डलाई हराउनुबाहेक टेस्ट राष्ट्रलाई पराजित गर्न सकेको छैन । सन् २०१६ को विश्वकपमा नेपालले न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । त्यो बेला टोलीमा रहेका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने अहिले नेपालको सिनियर राष्ट्रिय टोलीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *