प्रचण्डलाई माधव नेपालको ढाडस- शक्ति केन्द्रको धम्की धेरै आउँछ, प्रधानमन्त्रीज्यू नडराउनुहोला – Nepal Press

प्रचण्डलाई माधव नेपालको ढाडस- शक्ति केन्द्रको धम्की धेरै आउँछ, प्रधानमन्त्रीज्यू नडराउनुहोला

रुपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेपालका नेता, मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो अनुकूलमा लाग्ने गरी शक्तिकेन्द्रको धम्की आउने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सभामा उनले भने- ‘नेपालका नेता, मन्त्री, प्रधानमन्त्रीलाई शक्ति केन्द्रका आउने धम्की धेरै हुन्छन्, मैले धेरै भोगेको छु, त्यसको मुकाबिला गर्नुपर्दछ । मैले पनि विभिन्न कालखण्डमा त्यो भोगेको छु । त्यसमा प्रधानमन्त्री नडराउनुहोला ।’

बुधबारदेखि नेपालमा लागू हुन लागेको एमसीसी परियोजना सम्बन्धमा उनले भने, ‘हामीले सदनमा पास गरेका विषय तलमाथि नहोस्, एमसीसीका रहेका केही विषय सच्चाउनुपर्ने भएरै सच्चाइएको हो । विगतका सरकारबाट यो विषयमा गल्ती भएको हो । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, नेपाली जनताको हित विपरीत भए जनतालाई जवाफ दिनुपर्छ, मोर्चालाई जवाफ दिनुहोस्, सम्झौतामा क्लियर हुनुपर्दछ ।’

उनले नेपालमा कम्युनिष्ट पार्टीहरुप्रति जनताको भरोसा भएको बताए । अहिले मोर्चामा रहेका तीन पार्टी कम्युनिष्ट नै रहेको र जसपाको पनि इतिहास कम्युनिष्ट नै भएकाले त्यसको आधार रहेको उनले बताए ।

नेता नेपालले मोर्चाको विषयमा केही पार्टी र नेताहरुले गलत तरिकाले विश्लेषण गरे पनि सबैतिर उत्साह भएको बताए ।

समाजवाद र परिवर्तनका लागि मोर्चाको स्पष्ट दृष्टिकोण भएकाले सबैतिर ऊर्जा थपिएको र यो मोर्चाले समाजवादको लक्ष्यका साथ काम गरेको नेता नेपालको भनाइ छ ।

‘सबै प्रकारका विभेदको अन्त्य, आर्थिक समानताको लक्ष्यका लागि अहिले मोर्चामा रहेका ४ वटै दलको स्पष्ट भनाइ छ । अब यसले देशव्यापी अभियान चलाउने छ, सरकार सञ्चालनका लागि पनि यसले स्पष्ट दृष्टिकोण राखेको छ’, नेता नेपालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर