‘प्रोक्सी वारको इपिसेन्टर’ धरान- बाहिरकाले भाँड्न खोज्दा नभाँडिएका धरानवासी – Nepal Press
ग्राउण्ड जिरोमा नेपालप्रेस-२

‘प्रोक्सी वारको इपिसेन्टर’ धरान- बाहिरकाले भाँड्न खोज्दा नभाँडिएका धरानवासी

धरानमा केही उत्तेजक हर्कत भएकै हुन् तर सामाजिक सञ्जालहरूमा हल्ला भएजस्तो धरानवासी विभाजित छैनन्

धरान । गत शनिबार इटहरीचोकदेखि तरहराको पानीपियासम्म हिन्दू धर्मावलम्बीहरूले र्‍याली प्रदर्शन गरे । हजारौंको संख्यामा धरानसम्महिँडेको र्‍यालीलाई सुनसरी जिल्ला प्रशासनले पानीपियाबाट धरान छिर्न रोक लगायो । एक दिन अघि नै जिप्रकाले २४ घण्टे निषेधाज्ञा लागू गरेर प्रदर्शनकारीलाई पानीपियामै रोक्ने निर्णय गरेको थियो ।

प्रदर्शनकारी धरान पुग्दै गर्दा हुनसक्ने सम्भावित दुर्घटनालाई निस्तेज पार्न पानीपियामा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालित थिए । प्रदर्शनकारीले पानीपियामै कोणसभा गरे । नारा लगाए । र फिरे ।

एकातिर देशभरबाट हिन्दू प्रदर्शनकारी सुनसरीमा भेला भएका थिए । बस नै रिजर्भ गरेर आएका धेरै प्रदर्शनकारीलाई विराटनगर, मोरङतिरै प्रहरीले रोकेर राखेको थियो । अर्कातिर धरानलाई लिएर सामाजिक सञ्जाल तरंगित बनिरहेको थियो । धरानलाई लिएर हिंसा भड्काउन चाहनेहरूको भिड सञ्जालमा थेगिनसक्नु थियो ।

सञ्जाल हेर्दा यस्तो प्रतीत हुन्थ्यो, धरान कोलाहलमय छ । सञ्जालमात्रै हेर्दा लाग्थ्यो, साह्रै असहज परिस्थितिको सृजना भइरहेको छ धरानमा । अनेक स्वार्थ बोकेका मान्छेले धरानलाई लिएर भड्काउ अभिव्यक्ति दिइरहेका थिए ।

इटहरीदेखि पानीपियासम्म भएको विशाल र्‍यालीमा र सामाजिक सञ्जाल हेर्दा सबैलाई लाग्थ्यो, वास्तवमै धरान सहज अवस्थामा छैन ।

धरान शान्त छ ?

एक लाख ७३ हजार ९६ जनसंख्या रहेको धरान आफैंमा विविधताको प्रतीकसहितको सहर थियो, छ । अनेक जातजातिले बसोबास गरेको धरानमा भाषा, संस्कृति, संस्कारको विविधता त छँदै थियो । तर, विविधताबीच बसेको धरान एक सय ३० वर्षे इतिहासमा यसरी उत्तेजित कहिल्यै बनेको थिएन ।

‘लाहुरेहरूले बसालेको सहर’ भनेर परिचित धरानको परिचय शान्त सहरको रूपमा थियो । त्यही शान्त सहरमा ढुंगा हान्ने काम गरिरहेका थिए केही उग्रवादी सोच भएका संजाल प्रयोकर्ताहरू ! शान्त धरानको सामाजिक सद्भावमा हिलो छ्यापेर स्वार्थ पूरा गर्न जोडतोडले लागेका थिए केही अतिवादी सोच भएकाहरू संजाल प्रयोगकर्ताहरू ! र हिंसा भड्कउन उद्दत उनीहरू धरानलाई बिथोल्न मात्रै चाहिरहेका थिए ।

शनिबार राति जिप्रकाले लगाएको निषेधाज्ञा सकियो । नेपालप्रेस टीम आइतबार बिहानै धरानका लागि हिँड्यो । तर, यसबेलासम्म सञ्जालले अझै उग्र रूप लिइसकेको थियो । भड्काउ अभिव्यक्ति दिनेहरू गुणत्मक हिसाबले बढिरहेका थिए । सञ्जालमा समुदाय-समुदायबीच मतभेद ल्याउनेहरू उफ्रिरहेका थिए । फरक धार्मिक आस्थामाथि वितृष्णा फैलाउनेहरू चिच्याइरहेका थिए । उनीहरूलाई हेर्दा लाग्थ्यो, धरान वास्तवमै जोखिममा छ ।

मोरङ पथरीकी रमा लिम्बू (५७) को धरान नयाँ बजारमा माइती छ । विवाह गरेको ३६ वर्ष भयो । विवाह गरेर धरान छाडे पनि माइती आइरहन्छिन् । आइतबार पनि बेलायतबाट आएका दाइलाई भेट्न धरान हिँडेकी थिइन् । उनले निर्धक्क सीधा हेरेर भनिन्, ‘धरानमा केही भएकै छैन ।’

काँकडभित्ताबाट धरान हिँडेको बसमा इटहरी चोकबाट चढ्यौं । गाडीमा पनि हामी छलफलमै थियौं, ‘साँच्चै धरान तनावग्रस्त छ र ?’

हामीले सरोकार राखिरहेको विषयमा वरिपरि रहेका यात्रुहरू पनि चासोका साथ नियालिरहेका थिए । तर, केही प्रतिक्रिया दिएका थिएनन् । हाम्रा लुगा, ल्यापटपले टनाटन भरिएका ब्यागहरूमाथि उनीहरूको आँखा तेर्सिरहेका थिए । हाम्रा क्यामेरा, ट्राइपोड, मोबाइलमाथि उनीहरू जासुसी नजर लगाइरहेका थिए ।

‘बाहिर स्थिति सामान्य छ’ भन्ने प्रमाणित गर्न बसको झ्यालबाट मोबाइल र क्यामेरा बाहिर निकालेर तस्बिरहरू लिइरहेका थियौं ।

यसैबैला एक महिला बोलिन्, ‘भाइहरू पत्रकार जस्तो छ । धरान हिँड्नुभएको होला ! धरानमा केही भएकै छैन ।’

मोरङ पथरीकी रमा लिम्बू (५७) को धरान नयाँ बजारमा माइती छ । विवाह गरेको ३६ वर्ष भयो । विवाह गरेर धरान छाडे पनि माइती आइरहन्छिन् ।आइतबार पनि बेलायतबाट आएका दाइलाई भेट्न धरान हिँडेकी थिइन् । उनले निर्धक्क सीधा हेरेर भनिन्, ‘धरानमा केही भएकै छैन ।’

यो पनि पढ्नुस्-  ग्राउण्ड जिरोमा नेपालप्रेस- आखिर किन अशान्त छ धरान ?

हामी भने एक खालको संशयमा थियौं । सञ्जालका हल्लावाजले थप माहौल बिगारिरहेका थिए । रमा लिम्बूले अर्कैथोक आत्मविस्वासका साथ भनिरहेकी थिइन् ।

हाम्रो बस पानीपियाबाट सुरू भएको जंगल काटेर धरान प्रवेश गर्‍यो । तीनकुने, बरगाछी, भोटे पुल हुँदै हामी भानुचोक पुग्यौं । भानुचोकमा झर्नासाथ सिटी सफारी, टेम्पोका चालकहरू हुर्र आइपुगे,‘कता जाने हो ?’

भानुचोकमा सयौं सिटी सफारी लाइन लागेर पालो कुरेर बसेका थिए । भानुचोकको घण्टाघरको पेटीहरूमा टेलरका मेसिन नै मेसिनका लाइन थिए । छेवैमा जुत्ता सिलाउनेहरू लहरै बसेका थिए । गाडीहरू चलिरहेका थिए । मान्छेहरू आवतजावत गरिरहेका थिए । व्यवसाय संचालन गर्न निर्धक्क सटरहरू खोलिएका थिए ।

मृत शहरमा जीवन छ

छेवैमा घण्टाघर ठिंग उभिएको थियो ।

घण्टाघर आफ्नै इतिहास बोकेर उभिएको छ । विंसं. २०४५ सालमा उदयपुरको मुर्कुच्चीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पको पराकम्पले धरान सहर तहसनहस भएको थियो ।

उदयपुरको नजिकको घना बस्ती भएको सहर धरानको जनधनमाथि सबैभन्दा ठूलो क्षति भएको थियो । त्यसवेला धरानलाई मृत सहर (डेड सिटी) समेत भनिएको थियो । कतिपय मान्छेहरू भूकम्पकै कारण धरान छाडेर बसाइँसमेत सरेर गएको धरानका जानकारहरू बताउँछन् ।

फिरोज अलि १४ वर्षका हुँदा धरान आए । उनका बुवा सप्तरी जिल्लाबाट व्यवसायको सिलसिलामा धरान आइपुगेका थिए ५० वर्षअघि । तर, एमाले सुनसरी जिल्ला सदस्य फिरोज संविधानतः बोल्छन्,‘गाई, गोरु खाने मान्छेहरू त मुस्लिम हुन् । तर, हामी मुस्लिम संविधानभन्दा माथि छैनौं । हामीले कुनै पनि अप्रिय घटना नघटोस् भनेर सामूहिक दुवा पनि मागेका छौँ ।’

तर, भूकम्पले ध्वस्त बनाएको धरान फेरि उठ्यो । जातीय, धार्मिक, सामाजिक सद्भाव सहित उठ्यो । धरान सहरको आरोह अवरोहलाई नजिकबाट नियालेका अध्येता चेवन राई भन्छन्, ‘राजनीतिक र कूटनीतिक अर्थलाई पर राख्ने हो भने धरान सहर जापानको हिरोशिमा सहरजस्तै हो । भलै हिरोशिमालाई मानव निर्मित बमले ध्वस्त बनाएको थियो । धरानलाई प्राकृतिक विपत्तिले ! दुवै सहर क्षतिग्रस्त हुनुका कारण, अर्थ र समय फरक थिए । तर, दुवै सहर जसरी उठे, त्यसमा समानता छ । हिरोशिमा पनि जनभावना र जनसहभागिताले उठेको थियो, धरान पनि त्यसैगरी उठेको थियो ।’

भूकम्पका कारण ढलेको सहर उठेको एउटा प्रमाण हो, घण्टाघर !

जो २०४५ सालको भूकम्पमा मरेकाहरूको सम्झनामा बनाइएको स्मृति पार्क छेवैमा ठिंग उभिएको थियो । र, त्यस वरिपरि जुन खालको सामान्य गतिविधि थियो, त्यसले पुष्टि गरिरहेको थियो, सञ्जालमा छरपष्ट भएजस्तो धरान असहज छैन । वास्तविकतामा सामान्य स्थितिमा छ ।

यसैबेला एक अटो ड्राइभर ‘कता जाने हो’ भनेर सोध्दै आए ।

हामीले भन्यौं, ‘धरान त बाहिरबाट हेर्दा एकदमै अशान्त र अस्थिर छ जस्तो छ । तर, यहाँ त जनजीवन सामान्य नै रहेछ !’

राजकुमारले नेपाल प्रेसको लाइभमै भने,‘बाहिरबाट हेर्दा त्यस्तो देखियो । भित्र केही पनि भएको थिएन । बाहिरबाट अशान्ति छ भनिनु पपुलारिटीका लागि मात्रै हो । यो राजनीतिक दलको स्टन्टमात्रै हो । माहौल तपाईंहरूले आफैं देखिरहनु भएको छ । अशान्त भनेर भनिनु राजनीतिको पाटो मात्रै हो ।’

राजकुमारसँग कुराकानी गरिसकेपछि हामी धरानको पूर्वी लाइनतिर अगाडि बढ्यौं । भिड छिचोल्दै हामी पुरानो बजार पुग्यौं । पुरानो बजार आफैंमा इतिहासको एक प्रस्थान विन्दु बनेर बसेको ठाउँ हो धरानको ।

धरानको मङ्गलवारेमा गोरु काट्ने अड्डा पनि छ । आफैंले पनि खाएका थिए । तर, नवीनकै भनाइमा त्यसरी भिडियो हालेर अर्को समुदायलाई उत्तेजित चाहिँ बनाउनु हुँदैन थियो ।

विंसं. १९५० मा धरानमा बस्ती बस्न सुरू भयो । बस्ती बसेको आठ वर्षपछि १९५८ सालमा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर धरान पुगेका थिए । उनैले अहिलेको पुरानो बजारलाई‘चन्द्र नगर’ नामाकरण गरेर धरान सहरको जग बसालेको संस्कृति तथा इतिहासविद्हरू बताउँछन् ।

के भन्छन् धराने जनता र जनप्रतिनिधि ?

यही पुरानो बजारमा हाम्रो भेट व्यवसायी तथा धरान उपमहानगर-२ का वडा सदस्य दिनेशकुमार अग्रवालसँग भयो । दिनेश धरानमै जन्मिए । धरानमै हुर्किए । हार्डवेयर व्यवसायी दिनेशको बुवाले धरानमा पहिलो पाइला राखेका थिए व्यवसायीको रूपमा । समयकै हिसाब गर्दा ६० वर्ष भइसक्यो ।

‘कस्तो छ त धरानको माहौल ?’ हामीले सोध्यौं ।

दिनेशले चित्त दुखाउँदै बोले,‘मैले थाहा पाएसम्म यस्तो परिस्थिति देखिएको थिएन । अहिलेसम्म मैले सुनेको पनि थिएन । र सुन्न पनि नपरोस् । धरान त हामी सबैको साझा फूलबारी जस्तो छ । हाम्रो यो सद्भावना बिथोल्ने काम बाहिरिया मान्छेहरूले गरिरहेका छन् ।’

बाल्यकालदेखि अधबैंसे उमेरसम्म आइपुग्दा दिनेशले धरानलाई जहिल्यै शान्त देखे । जहिल्यै धरानलाई रमणीय र पर्यटकीय देखे । धरानमा विभिन्न धर्म र विस्वास पद्दतिमा बाँचेमा मानिसहरूको एकता देखे ।

गएको शुक्रबार दिनेशहरूले धरानमा सद्भावना र्‍यालीसमेत आयोजना गरे ।

 

दिनेश चुनौती दिँदै भन्छन्, ‘मान्छेहरूले भनेजस्तो धरान कहाँ अशान्त छ र ! सामाजिक सञ्जालमा होडबाजी गर्नेहरूले अशान्त जस्तो देखाएका हुन् । हामी फरक जात, वर्ण, भाषा र संस्कृतिका मान्छे मिलेर बसेका छौं । हामीलाई वर्गीकरण गर्नतिर कोही नलागेकै राम्रो । र धरानका जुन जाति, समुदायको मान्छे भए पनि उसलाई कसैले नचलाउनू । हामी मिलेर बसेका छौं । आगामी दिनमा पनि बस्नेछौं । धरान बाहिरका मान्छेले उत्तेजित नबनाएकै राम्रो ।’

दिनेशसँग छुटिनसाथ भेट भयो, नयाँ बजारमा टेलर चलाइरहेका फिरोज अलिसँग । नयाँ बजार धरानको त्यो ठाउँको नाम हो, जुन नाम जुद्ध शमशेरसँग जोडिन्छ । वि.सं. १९९० सालको भूकम्पपछि धरान पुगेका तत्कालीन राणा प्रधानमन्त्रीश्री ३ जुद्ध शमशेरले ‘जुद्ध नगर’ बसाएका थिए । जो प्रजातन्त्र आएसँगै नयाँ बजारमा रूपान्तरित भएको थियो ।

त्यही नयाँ बजारमा फिरोजको टेलर छ ।

फिरोज अलि १४ वर्षका हुँदा धरान आए । उनका बुवा सप्तरी जिल्लाबाट व्यवसायको सिलसिलामा धरान आइपुगेका थिए ५० वर्षअघि । तर, एमाले सुनसरी जिल्ला सदस्य फिरोज संविधानतः बोल्छन्,‘गाई, गोरु खाने मान्छेहरू त मुस्लिम हुन् । तर, हामी मुस्लिम संविधानभन्दा माथि छैनौं । हामीले कुनै पनि अप्रिय घटना नघटोस् भनेर सामूहिक दुवा पनि मागेका छौं ।’

फिरोजले कोट्याउन खोजेको विषय गोरु काटेर खाएको भिडिओको थियो । जसको भिडिओ गएको साउन २७ गते सार्वजनिक भएपछि सञ्जाल एकाएक बहसमा उत्रिएको थियो । कतिले त्यसलाई सामाजिक संस्कारको रूपमा स्वाभाविक हो भने । कतिले धार्मिक आस्थाका कारण अस्वाभाविक भने ।

तर, धरान उपमहानगरको पूर्वउपमेयर मञ्जु भण्डारीका अनुसार धरानमा ‘गोरु खाने’ घटना निकै पहिलादेखि नै हुँदै आएको थियो ।

टेम्पो चालक स्थानीय नवीन थापा मगरका अनुसार त ३२ वर्षअघि मोरङको लेटाङबाट बसाई सरेर आएदेखि नै गोरु काटेर खाइएको देखेका थिए । धरानको मंगलबारेमा गोरु काट्ने अड्डा पनि छ ।आफैंले पनि खाएका थिए । तर, नवीनकै भनाइमा त्यसरी भिडिओ हालेर अर्को समुदायलाई उत्तेजित चाहिँ बनाउनु हुँदैन थियो ।

मञ्जु पनि भन्छिन्,‘गोरु काटेर त यहाँ पहिलादेखि नै खान्थे । यसबारे धरानका सबैलाई थाहा छ । संस्कारको हिसाबले एउटा समुदायका लागि ठीक होला, आस्थाको हिसाबले अर्को समुदायलाई बेठीक होला । तर, भिडिओ नै बनाएर हाल्नु चाहीँ हुन्न थियो । हामीले त समाजलाई मझदारबाट हिँडाउँदै गतिशील बनाउने हो । एक अर्कालाई चिढ्याएर जाने होइन ।’

मञ्जुका अनुसार धरानका ब्रह्माण समुदायलाई समेत गोरु काटेर खाने घटनाहरूबारे थाहा छ । तर, उनीहरू सद्भाव नबिथोलियोस् भनेर हल्ला गर्दैनन् । विमति राख्दैनन् । त्यसैगरी धरानका अन्य समुदायले पनि केही सम्यंमता अपनाए अर्को समुदाय धरानको सद्भावका लागि चुप लाग्छन् । तर, धरान बाहिरका मान्छेले खेल्ने ठाउँ दिनु चाहिँ गलत परिणामको भागीदार हुनु हो भन्ने मञ्जुको विश्लेषण छ ।

के हो धार्मिक विवाद ?

पुरानो बजारका दिनेश र पुरानो बजारमा भेटिएका फिरोजसँग कुराकानी गरेपछि हामी अलि माथि विजयपुर डाँडा उक्लियौं । धरान उपमहानगरपालिका-१४ मा अवस्थित विजयपुरगढीको इतिहास १६ औं शताब्दीमा पाल्पाका सेनवंशी राजासँग जोडिन्छ ।

सेनवंशी राजाले विजयपुर गढीलाई तत्कालीन समयमा महत्वपूर्ण किल्ला बनाएका थिए । समयक्रममा वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले सम्झौतामार्फत् नेपालमा गाभ्नुअघि विजयपुरगढी किरात प्रदेशको राजधानी भएको इतिहासविद्‍हरू बताउँछन् ।

त्यही विजयपुर गढी डाँडोमा एक मन्दिर थियो, बाल गोपाल मन्दिर । मन्दिरकै छेवैमा होली ट्रिनिटी विलिभर्स इस्टर्न चर्च बन्यो । संजालमा उफ्रिनेहरूका लागि यो अर्को कारक मुद्दा बन्यो ।

तर, पूर्व उपमेयर मन्जुका अनुसार धरानमा ८४-८५ चर्चहरू हुँदा हिन्दू धर्मावलम्बीले कतै चित्त दुखाएका थिएनन् । मन्दिर छेवैमा यो चर्च बनिँदै गर्दा उनीहरूले चित्त दुखाए । यसलाई स्वाभाविक ठान्छिन् मञ्जु ।

तर, यस खालको चित्त दुखाईको निरूपण गर्ने अभिभारा उपमहानगरको अभिभावक मेयर हर्क सम्पाङको रहेको मन्जुको धरणा छ । तर, साम्पाङ भने आफूलाई असफल बनाउन चाहने जत्थाले अनेक हत्कण्डा अपनाएर अनेक लफडा सृजना गरेको आरोप लगाउँछन् ।

हर्क साम्पाङ/मञ्जु भण्डारी ।

नेपालप्रेससँग कुरा गर्दै उनले भने, ‘मलाई मन्दिर, चर्च, मस्जिद, गुम्बा लगायत जुनसुकै धर्म र आस्थासँग जोडिएका मान्छेप्रति सम्मान छ । तर, यी यावत् विषय जोडेर जसरी मेरो आलोचना गरिँदैछ, त्यो सरासर मलाई असफल बनाउन रचिएको प्रपञ्च हो ।’

विजयपुर डाँडामा हाम्रो टीम पुग्दा मन्दिर र चर्च दुवै सुनसान थियो । मन्दिर र चर्चलाई छुट्याउने एकै सिमाना थियो, रोड । जुन रोड धरानको बूढासुब्बा मन्दिरसम्म जानका लागि थियो ।

हाम्रो टीम उक्त स्थानबाट ओरालो लाग्यो ।

अलि तल्तिर चिया पसलमा भेटिइन् भानुचोकको पूर्वी लाइन हुँदै अलि पर सदन रोडमा कस्मेटिकको व्यापार गर्ने सविना पौडेल । सविना पौडेलका अनुसार चर्च बनाए या गोरु काटे, त्यसमा कसैलाई मतलब छैन धरानमा । उनले भनिन्, ‘मास्तिरको चर्च र मन्दिरका मान्छे यही चिया पसलमा सँगै बसेर चिया पिउँछन् । उनीहरूलाई समस्या छैन । तर, देशभरका सारा मान्छेहरूलाई समस्या रहेछ ।’

विजयपुरडाँडा तल ओरालो पुरानो बजार चोकबाट टेम्पो लिएर सैनिक चोकसम्म हिँड्यौं । टेम्पो ड्राइभर थिए उनै नवीन थापा मगर । नवीन भन्दै थिए, ‘यहाँ गोरु खान त खाइरहेका छन् । तर, देखिने गरी भिडिओ बनाएर खाएका थिएनन् । पहिलोपटक लाइभ गरेर खाएछन् । यसरी खानेहरू सबै राजनीति गर्नेहरू हुन् । भिडिओ बनाएर खानु चाहिँ गलत हो ।’

नेपाल प्रेस टीमलाई नयाँ बजार सैनिक चोकसम्म पुर्‍याएपछि नवीनले भने, ‘सरहरू त प्रेस हुँनुहुँदो रहेछ, ठूला मान्छेको मात्रै फोटो खिच्नु हुन्छ होला ।’

हामीले भन्यौं, ‘ठूला मान्छे हाम्रा प्राथमिकता होइनन् । हाम्रा लागि आम मान्छेका संघर्षका कथामात्रै ठूला हुन्छन् ।’

अनि नवीनका दुई-चारवटा फोटो खिच्यौं ।

विविधतामा एकता, धरानको विशेषता

धरान बहुल जाति, भाषा र संस्कृतिको संगमस्थल हो । यसलाई प्रमाणित गर्न २०७८ सालको जनगणनाको तथ्यंक हेरेमात्रै पुग्छ ।

जनगणनाको तथ्यंकअनुसार धरानमा सबैभन्दा बढी राई ३४ हजार ५८ जना (२०.५ प्रतिशत) छन् । त्यस्तै लिम्बू २१ हजार दुई सय नौ (१२.७ प्रतिशत), क्षत्री १७ हजार तीन सय ३२ (१०.४ प्रतिशत), नेवार १६ हजार तीन सय २० (९.८ प्रतिशत), विश्वकर्मा १२ हजार दुई सय ३९ (७.३ प्रतिशत), तामाङ १२ हजार (७.२ प्रतिशत), ब्रह्माण ७ हजार एक सय तीन (४.३ प्रतिशत), परियार तीन हजार तीन सय ६५ (२ प्रतिशत), गुरुङ तीन हजार एक सय ४९ (१.९ प्रतिशत) र बाँकी अन्य समुदाय छन् ।

यस्तो विविधता सहित बाँचिरहेको समाजमा कहिल्यै पनि विग्रह नआएको धरान उपमहानगरका उपमेयर अइन्द्रविक्रम वेघा बताउँछन् ।

वेघाले नेपालप्रेसलाई भने, ‘तपाईंले मलाई क्षत्रीको घरमा अन्तर्वार्ता लिइरहनुभएको छ । यो घरसँगै जोडिएको पश्चिमतिर मारवाडीको घर छ । पूर्वतिरको भित्तामा लिम्बूको घर जोडिएको छ । यहाँ लिम्बूको घरमा सुँगुर खाइन्छ । क्षेत्रीको घरमा खसी खाइन्छ । मारवाडीको घरमा मासुमंसो केही खाइन्न । तर, यहाँ एक अर्काले एक अर्कालाई सम्मान गरेका छन् । अनि बाहिरको मान्छे उफ्रिएर हुन्छ ?’

पूर्वउपमेयर मञ्जु पनि वेघासँग सहमत छिन् । उनका अनुसार धरानमा कुनै पनि समुदायको संस्कार र संस्कृति त्यो समुदायको मात्रै होइन, बाँकी अन्य समुदायको पनि हो । धरानमा तिज कुन समुदायको हो, लाखे नाच कसको हो, साकेला कुन जातले मनाउँछ, धान नाच कसले नाच्छ, इद कुन समुदायको हो, स्पष्ट नहुने बताउँछिन् ।

मन्जु भन्छिन्-यी पर्वहरूमा सबै रमाइरहेका हुन्छन् । यो पर्व कुन जात र समुदायको हो, छुट्याउनै गाह्रो हुन्छ । अनि धरानमा कसरी जातीय हिंसा भड्किन्छ ? बाहिरका मान्छेले खेल्दैमा यहाँको सद्भाव भड्किँदैन !’

धरान वडा नम्बर ३ मा भेटिएका स्थानीय राजेन्द्र क्षेत्री पनि आफूहरूले शान्ति मात्रै चाहेको, अशान्ति नचाहेको बताउँछन् । संखुवासभाको खाँदबारीबाट १३ वर्षको उमेरमा धरान छिरेका क्षेत्री ६८ वर्षका भए । क्षेत्रीलाई पनि लाग्छ, धरान बाहिरका मान्छेले धरानका मान्छेलाई बिगार्न र उचाल्न खोजिरहेका छन् ।

क्षेत्रीको भनाइ छ, ‘धरान बस्दाबस्दै बूढो भइसकेँ । अहिलेसम्म शान्तिमै बितेको छ । अगाडि पछाडि जे बनाए पनि भो नि ! मन्दिर जाने मन्दिर जान्छन् । चर्च जाने चर्च जान्छ । अरुलाई टाउको दुखाइ किन ?’

अर्का स्थानीय उत्तरकुमार गुरुङ पनि धरानलाई लिएर भइरहेको बहसमा राजनीतिक स्वार्थमात्रै देख्छन् । उत्तरकुमार भन्छन्, ‘एकाध मान्छेहरू यहाँ हिंसा मच्याउन चाहन्छन् । अधिक मान्छेहरू चाहँदैनन् । राजनीतिले हामीलाई प्रयोग गर्छ, हामी त्यसरी जानु हुँदैन ।’

धरानसँग धेरैथोक छ । धरानसँग इतिहास छ, धरानसँग सांस्कृतिक विविधता छ, धरानसँग शिक्षा छ र धरानसँग सम्भावना छ । अध्येता चेवनलाई यस्तै लाग्छ । २०४५ सालको मृत सहर (डेड सिटी) भनिएको धरान जनसहभागिता र जनभावनाले तंग्रियो । त्यसलाई अझैं फुर्तिलो बनाउने काम २०५० सालमा सरकारले पहिलो मेडिकल कलेजको रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरू गरेपछि सुरू भएको चेवन बताउँछन् ।

२०४५ सालको भूकम्पपछि राज्यले पनि प्राथमिकतामा धरानलाई नराखेर अञ्चल अस्पताल विराटनगर सारिँदै गर्दा, वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर सारिँदै गर्दा, पूर्वान्चल अस्पताललाई कोशी अञ्चल अस्पतालमा सारिँदै गर्दा पनि धरान सहर धरानवासीकै कारण उठेको चेवनको तर्क छ ।

उनी भन्छन्, ‘धरानलाई राज्य नै लागेर कमजोर बनाउन खोज्दा पनि सदावहार रूपमा बस्न लायक सहर बनिरह्यो । त्यो कसैले बनाएको होइन, यहाँका जनताले हो । अहिले पनि धरानमाथि कसैले स्वार्थ पूर्ति गर्न खोज्दैमा धरानवासी भड्किँदैन । झनै मजबुद बनेर जान्छ ।’

आजभन्दा एक सय ३० वर्षअघि घना जंगलको बीचबाट उठेको धरान प्रतिकूल समयको सामना गर्दै अहिलेसम्म जसरी एकताबद्ध भइरहेको छ, त्यसलाई कसैले चलाउन र छुन पनि नसक्ने मेयर हर्कको दाबी छ । अहिले धरानलाई जुन मुद्दा लिएर उठाइएको छ, त्यो राजनीतिक इस्यूमात्रै भएको उनको भनाइ छ ।

हर्कले नेपालप्रेसलाई भने, ‘म स्वतन्त्र उम्मेदवार बनेर नगरप्रमुख बनेँ । त्यो कुरा धेरै राजनीतिक दलहरूलाई ठीक लागेको छैन । त्यसैले उहाँहरूकै कारण यस्तो भएको हो । यहाँ त हामी मिलेर बसेका छौं । तर, उनीहरूलाई त यहाँ ढुंगा हान् भन्दा हान्ने मान्छे चाहिन्छ । जुलुसमा हिँड्ने मान्छे चाहिन्छ । तोडफोड गर्ने मान्छे चाहिन्छ । यहाँ केही तत्वहरूले गर्दा बाहिर धेरै हल्ला भएको हो । नत्र यहाँ केही भएकै छैन । आज कसले कहाँ चर्च बनायो, गुम्बा बनायो, मन्दिर बनायो भनेर मलाई बदनाम गराउन खोजिएको छ । त्यो सरासर गलत छ ।’

सबै तस्बिर : गौरव पौडेल/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर