भारतको अन्तरिक्ष यानले सम्झाएको अमेरिकासँगको ‘गाई कार्टुन वार’ – Nepal Press

भारतको अन्तरिक्ष यानले सम्झाएको अमेरिकासँगको ‘गाई कार्टुन वार’

बेइजिङ । गत अगस्ट २३ अर्थात् भदौ ६ गते भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने चौथो मुलुक बन्यो । सोभियत संघ, अमेरिका, चीनपछि भारत चन्द्रमा क्लबको चौथो शक्ति बनेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने त भारत नै प्रथम देश बन्यो । दक्षिण अफ्रिकामा ब्रिक्सकाे १५औं शिखर सम्मेलनमा पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उतैबाट भर्चुअल सम्बोधन गरेर चन्द्रमामा भारत पुगेकोमा खुशी साटे ।

भारत चन्द्रमामा पुगेकै समयमा भारतका मिडिया र सोसल मिडियामा भने चन्द्रमामा पुगेको खुशीमात्रै थिएन । अमेरिकी अखबारको कार्टुन असफल बनाएकोमा उत्सव पनि थियो । अमेरिकाको विश्व प्रसिद्ध अखबार न्यू योर्क टाइम्सले नौ वर्ष अगाडि बनाएको कार्टुनलाई लिएर भारतीयहरूले व्यङ्ग्य कसिरहेका थिए । उनीहरूले भनिरहेका थिए, ‘कार्टुनको नयाँ अपडेट खै ?’

सन् २०१४ सेप्टेम्बर २८ मा न्यू योर्क टाइम्सले छापेको कार्टुनमा एक गाई समाएर उभिएको दाह्रीवाल पञ्जावी किसान जस्ता देखिने एक युवा ढोका ढकढक्याइरहेका छन् । भित्र केही पश्चिमा देशका मान्छेहरू अखबार पढिरहेका छन् । अखबारको शीर्षकमा लेखिएको छ, ‘भारतको मंगल मिसन ।’ त्यो पढिरहेको कोठाको नाम दिइएको छ, ‘एलिट स्पेस क्लब’ । सिंगापुर निवासी कलाकार हेङ किम सोङले नौ वर्ष अगाडि बनाएको यो कार्टुनकाे चर्चा चन्द्रयान ३ को सफल अवतरणपछि भारतमा फेरि भएको छ । त्यो कार्टुन पुरानो भएको भन्दै न्यू योर्क टाइम्सको बिल्ला भारतीय मिडिया र सोसल मिडियामा व्यापक छ ।

यद्यपि, न्यू योर्क टाइम्सले चन्द्रयान ३ को सफलतामा भने कुनै कार्टुन बनाएको छैन ।

भारतीय अखबारको काउन्टर कार्टुन

भारतले सन् २०१४ मा बनाएको मंगल मिसनको बारेमा कार्टुन बनाएको तीन वर्षभित्रै भारतले एकैपटक १०४ भूउपग्रह छोड्यो । त्यो घटना अन्तरिक्षबारेमा काम गर्ने इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो) को मात्रै सफलता नभएर अन्तरिक्ष क्षेत्रकै सफलता भएको भनियो । यो सफलतासँगै भारतीय मिडिया टाइम्स अफ इन्डियाले अर्को कार्टुन बनायो । त्यो कार्टुन तीन वर्षअगाडिको न्यू योर्क टाइम्सकाे कार्टुनको काउन्टरमा बनाइएको थियो । भारतले १०४ भू-उपग्रह प्रक्षेपण गरेको समाचार पढिरहेका पन्जावी किसानका साथमा गाई थियो । बाहिर भने अमेरिकीलगायतका देशहरू ढकढक्याइरहेका थिए । भित्रको कोठाको नाम लेखिएको थियो, ‘एलिट स्पेस क्लब’ ।

चन्द्रयानपछि आएको भाइरल ‘होली काउ’ कार्टुन

अहिले भारतको चन्द्रयान ३ सफलतासँगै पुनः केही कार्टुन सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले बनाएका छन् त कतिपय कार्टुन भने विभिन्न भारतीय मिडियाहरूले । त्यसमा एक कार्टुन चर्चित छ । चन्द्रमामा भारतीय झण्डा भएको देखाइएको छ । त्यसलाई तलबाट भारतीय किसानले गाईको छेउमा बसेर सलाम गरिरहेका छन् । गाईको मुहारबाट प्रेमिल इमोजी उडाइएको देखाइएको छ । त्यो दृश्य इलिट स्पेस क्लबमा बसिरहेकाहरूले दुर्बिन लाएर हेरिरहेका छन् र, भनिरहेका छन्, ‘होली काउ ।’

न्यू योर्क टाइम्सले माफी माग्यो, भारतीय अझै बेखुश

नौ वर्षअगाडिको न्यू योर्क टाइम्सको कार्टुनलाई लिएर माफी माग्ने काम भइसकेको छ । कार्टुन प्रकाशन हुँदाताका न्यू योर्क टाइम्सका विचार पृष्ठ संयोजक एन्ड्र रोसेन्थलले माफी मागेका थिए । कार्टुनको अर्थ अब अन्तरिक्ष खोज र अनुसन्धानको कर्म केही सीमित धनी र पश्चिमा देशहरुमा मात्रै नभएर अन्यत्र पनि फैलिएको देखाउने उद्देश्य कार्टुनमा भएको भनेर उनको तर्क आएको थियो । उनले कार्टुनलाई लिएर व्यापक संख्याका पाठकहरूको गुनासो आएको लेखेका थिए ।

माफी माग्दै उनले लेखेका थिए, ‘सिंगापुर निवासी हेङ उत्तेजक शैलीका तस्बिर र शब्द अन्तर्राष्ट्रिय घटनाक्रमहरूको अवलोकन गर्न गरेका छन् । हामी हाम्रो तस्बिर प्रयोगका क्रममा मन दुःखाएका सबै पाठकहरूसमक्ष माफी माग्छौं ।’

न्यू योर्क टाइम्सको कार्टुनबारेमा आएको यो माफीको समाचार बीबीसीले पनि बनाएको थियो । सन् २०१४ अक्टोबर ६ मा बीबीसीले समाचार बनाएको थियो । न्यू योर्क टाइम्सले भारतलाई होच्याउने कार्टुन बनाएकोमा माफी आफ्नो अखबारमा भने मागेको छैन । विचार पृष्ठ संयोजकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मात्रै माफी मागेका थिए । सायद यही भएर हुनुपर्छ, अहिले भारतीयहरूले चन्द्रयान ३ को सफलतापछि न्यू योर्क टाइम्सलाई एकै लयमा सोधिरहेका छन, ‘कार्टुनको नयाँ अपडेट खै ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर