उपप्रधानमन्त्री खड्का र भारतको नेशनल डिफेन्स कलेजका अधिकारीबीच शिष्टाचार भेट – Nepal Press

उपप्रधानमन्त्री खड्का र भारतको नेशनल डिफेन्स कलेजका अधिकारीबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भारतको नेशनल डिफेन्स कलेजका एअर भाइस मार्सल मनिष कुमार गुप्ताको नेतृत्वमा आएको १६ जना शिक्षार्थीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रुपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गरे ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको बताए ।

खड्काले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरुमा यस सम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भईरहेको सन्दर्भमा नेपालमा समेत रक्षा सम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताए ।

प्रतिनिधिमण्डलको नेतृत्‍व गर्ने एअर भाइस गुप्ताले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिएका थिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उल्लेख गरे ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दुतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर