दिपायल सिलगढीका वडाध्यक्ष खड्काको अनुभव- जनताको काम गर्न स्वतन्त्र नै जित्नुपर्ने रहेछ – Nepal Press

दिपायल सिलगढीका वडाध्यक्ष खड्काको अनुभव- जनताको काम गर्न स्वतन्त्र नै जित्नुपर्ने रहेछ

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका- २ का वडाध्यक्ष राजेन्द्र खड्कालाई केही नयाँ गर्ने हुटहुटी छ । उनी कसरी जनतालाई स्थानीयस्तरमा जनप्रतिनिधि भएको अनुभूति दिलाउने भन्नेमा चिन्तित देखिन्छन् ।

वडाध्यक्षमा खड्काको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा खड्का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई विजयी भएका थिए । २०७९ साल बैशाख ३० गते भएको निर्वाचनमा पनि उनी कांग्रेसबाटै उम्मेदवार हुन चाहन्थे । तर, कांग्रेसले उनलाई टिकट दिएन ।

टिकट नपाए पनि वडावासीले स्वतन्त्र उम्मेदवार हुन दबाब दिएपछि उनी खरायो चुनाव चिह्न बोकेर चुनावी मैदानमा आए । उनले नेपाली कांग्रेसका उम्मेदवार रोशन कठायतलाई ५४ मतले पछि पार्दै वडाध्यक्षको दोस्रो कार्यकालको यात्रा तय गरे ।

खड्काले ४६९ मत पाउँदा कठायतले ४१५ मत पाएका थिए । उनले प्रतिस्पर्धीसँग २०७४ भन्दा २०७९ मा मतभार बढाए । २०७४ साल असार १४ गते भएको स्थानीय तहको पहिलो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर खड्कालाई ४१ मतले पछि पारेका थिए । त्यतिवेला खड्काले ४७१ र प्रतिस्पर्धी प्रेमले ४३० मत पाएका थिए ।

खड्का दोस्रो पटकको आफ्नो जीतलाई जनताले आफूप्रति देखाएको माया बताउँछन् ।

‘पहिलो कार्यकालमा हामी सबै नयाँ नयाँ थियौं, कानूनहरु पनि बनेका थिएनन्, कर्मचारीको पनि अभाव थियो’, वडाध्यक्ष खड्काले भने, ‘अन्योलबीच हामीले गर्दै सिक्दै गरिरहेका थियौं, अलिअलि लय समात्न लागेका के थियौं, कोरोना महामारी सुरु भइहाल्यो । त्यसले गर्दा चाहे जति काम गर्न सकेनौं ।’

दोस्रो पटकमा स्वतन्त्र उम्मेदवार हुँदा पनि सफलता प्राप्त गर्नुमा उनी जनतासँगको नियमित सम्बन्ध भएको बताउँछन् ।

उनी थप्छन् ‘कोरोना महामारीको बेला होस् वा अन्य दुःखसुखको बेला होस्, म सधैं जनताको घरदैलोमै रहे, दुःखमर्का परेका व्यक्तिहरुलाई सक्दो सहयोग गरें, ठूल्ठूला योजनाहरु निर्माण गर्न सकेन हुँला । तर, जनताको मप्रतिको भरौसा टुट्न दिएको छैन ।’

नयाँ केही गरेर देखाउने प्रयास गरिरहेका खड्काले वडाभित्रको स्वास्थ्य चौकीको मातहतमा रहने गरी एम्बुलेन्स भित्र्याए ।

‘मैले पहिलो पटकको निर्वाचनकै बेला वडामा एम्वुलेन्स ल्याउने प्रतिबद्धता गरेको थिएँ । त्यति बेलादेखिकै प्रयासले म सफल पनि भएँ’, उनले थपे ।

पछिल्लो समय गाईवस्तुमा फैलिएको लम्पी स्किन महामारीमा पनि उनले नयाँ गरेर देखाए । उनी भन्छन्, ‘वडाकै बजेट र जनशक्ति परिचालन गरेर गाईवस्तुलाई खोप लगाउने काम गरें । प्राविधिक परिचालन गर्नेमा नगरपालिकाले पनि केही सहयोग गर्‍यो ।’

उनी वडाभित्रका २०० गाईवस्तुलाई लम्पी स्किनविरुद्धको खोप लगाएको बताउँछन् । गाईवस्तु मरिरहेका बेला खड्का खोप र प्राविधिक टोलीसहित किसानको घरगोठमै पुगे ।

उनले पहिलो कार्यकालमा शिक्षालाई प्राथमिकतामा राखेको बताए । वडाभित्रका सामुदायिक विद्यालयहरुमा भवन, फर्निचरका लागि सहयोग गरेको खड्काले स्थानीय देवी माविलाई १२ कक्षासम्मको पढाइ हुनेगरी स्तरोन्नति गरेका थिए ।

नयाँ केही गर्ने हुटहुटी अझै घटेको छैन उनको । उनी अव बैदेशिक रोजगारीमा गएका वडावासीको दुर्घटना बीमा गराउन चाहन्छन् । त्यसका लागि अहिले प्रक्रिया बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।

‘हाम्रो वडाबाट धेरै जना रोजगारीका लागि विदेशिएका छन्, उनीहरुको दुर्घटना बीमा गर्ने योजना बनाएको छु । हामीले वडा समितिबाट स्वीकृत पनि गरिसकेका छौं, अब प्रक्रियाका बारेमा बुझ्दैछौं’, वडाध्यक्ष खड्काले भने ।

दल विशेषको तर्फबाट उम्मेदवार हुनुभन्दा स्वतन्त्र उम्मेदवार हुनु राम्रो भएको उनको अनुभव छ । उनी भन्छन्, ‘पार्टीबाट उम्मेदवार भएपछि पार्टीको निर्देशन मान्नैपर्ने, कार्यकर्ताहरुको दबाब झेल्नैपर्ने रहेछ ।’

पार्टी निर्देशन र कार्यकर्ताको दबाब भएपछि आफूले चाहेअनुसारको काम गर्न नसकिने उनको अनुभव छ । उनी जनप्रतिनिधिहरुले ठूल्ठूला भाषण गर्नेभन्दा पनि जनताका दैनिक समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउँछन् ।

त्यसो त खड्का जिल्लाकै समग्र विकासको खाकासमेत बुन्दैछन् । जिल्लाका ६५ वटै वडाका अध्यक्षहरुको समन्वय समितिका संयोजक रहेका खड्का वर्षौंदेखि अलपत्र परेको खुटिया-बीपीनगर दिपायल फास्टट्र्याक छिटो सञ्चालन हुनुपर्ने, जिल्ला अस्पताल डोटीमा आईसीयु सञ्चालन हुनुपर्ने, खप्तड पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार हुनुपर्ने जस्ता विषयहरुमा आवाज उठाउँदै अघि बढिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर