पाकिस्तानमा सन्दीपको छाप : एकै म्याचमा लिएका थिए बाबर र मुनरोको विकेट – Nepal Press

पाकिस्तानमा सन्दीपको छाप : एकै म्याचमा लिएका थिए बाबर र मुनरोको विकेट

काठमाडौं । बुधबारदेखि सुरु हुने एसिया कपमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि सन्दीप लामिछानेले लेखेका छन्, ‘पाकिस्तानमा यसअघि रहँदाका धेरै गज्जबका सम्झनाहरु छन् ।’ नेपालले पाकिस्तानसँग पहिलो खेल खेल्दै एसिया कप यात्रा थाल्नेछ ।

समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालको भेट अर्को सशक्त टोली भारतसँग हुने छ । पाकिस्तान हाल एकदिवसीय अन्तर्राष्ट्रिय विश्व वरीयतामा शीर्ष स्थानमा रहेको छ । तर अन्योलताबीच सन्दीप पाकिस्तान प्रस्थान भएपछि नेपाली टोलीको आत्मविश्वास बढेको छ । सन्दीपले यसअघि सन् २०१९ मा पाकिस्तानमा पाकिस्तान सुपर लिग-पीएसएल खेलेका थिए ।

अस्ट्रेलियामा बिग बास लिग–बीबिएल खेलिरहेकै समयमा उनी पीएसएल खेल्न पाकिस्तान आइपुगेका थिए । विश्वका होनाहार खेलाडीहरु सहभागी त्यस प्रतियोगितामा सन्दीपले गतिलो छाप छाडेका थिए । उनले त्यहाँ एकै खेलमा विश्व वरियताका शीर्ष दुई खेलाडीलाई आउट गरेका थिए ।

कराँचीविरुद्धको खेलमा उनले पहिला कोलिन मुन्रो र त्यसपछि बाबर आजमलाई आउट गरेका थिए । मुन्रो क्याच आउट भएका थिए भने बाबरले सन्दीपको गुगलीलाई यकिन गर्न नसक्दा क्लिन बोल्ड हुन पुगेका थिए । त्यतिबेला आजम विश्व वरियतामा पहिलो र मुनरो दोस्रो नम्बरमा थिए ।

त्यसभन्दा अघिल्लो खेलमा उनले क्वेटाविरुद्ध ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिएका थिए । टी–२० क्रिकेटमा सन्दीपको त्यो बेस्ट बलिङ फिगर थियो । त्यस खेलमा उनले सेन वाट्सन, रिली रोस्सु, उमर अकमलसहितको विकेट लिएका थिए ।

उक्त फिगर सन्दीपले गत वर्ष मात्र सुधार गरेका थिए। केन्यासँग भएको खेलमा उनले ९ रन खर्चिएर ५ विकेट लिएका हुन् । पाकिस्तानका कप्तानसमेत रहेका बाबरको विकेट लिएपछि आफ्नो टोली लाहोर क्वालान्दर्सका एबी डे भिलियर्सले सन्दीपलाई अँगालो हाल्दै धाप मारेका थिए । त्यस सिजन पीएसएलमा केवल ७ खेल खेलेका सन्दीपले ११ विकेट लिएका थिए ।

सन् २०२१ को संस्करणमा पनि लाहोरले रसिद खानको स्थानमा सन्दीपलाई समावेश गरेको थियो तर कोरोना महामारीका कारण त्यस सिजन प्रतियोगिता हुन सकेन । त्यसयता उनले पाकिस्तानमा खेलेका छैनन् । सन्दीपसँग पाकिस्तानमा मात्र होइन भारतमा पनि व्यावसायिक क्रिकेट खेलेको अनुभव छ ।

उनले इन्डियन प्रिमियर लिग-आईपीएलमा ९ खेल खेल्दै १३ विकेट लिएका छन् । उनले दिल्ली क्यापिटल्सबाट खेल्दै सन् २०१८ मा ५ र २०१९ मा ८ विकेट लिएका थिए । त्यहाँ उनले सुरेश रैना, सूर्यकुमार यादव, कायरन पोलार्ड, क्रिस गेललगायतलाई आउट गरेका थिए ।

यसपटक सन्दीप फरक फर्म्याटको क्रिकेट खेल्दैछन् पाकिस्तान र श्रीलंकामा। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलहरुमा सन्दीपलाई खह्रो उत्रन त्यति सजिलो छैन । पाकिस्तानका बाबर आजम, मोहम्मद रिजवान, भारतका विराट कोहली, रोहित शर्माजस्ता थुप्रै नाम छन् जसले विश्वका होनाहार बलरलाई समेत कठिन बनाउँछन् ।

हाल एकदिवसीय ब्याट्सम्यानको विश्व वरियताको शीर्ष ५ भित्र पाकिस्तानका तीन र भारतका एक खेलाडी छन्। बाबर आजम शीर्षस्थानमा छन् ।

पाकिस्तानकै इमाम उल हक तेस्रो र फखर जमान पाचौँ स्थानमा छन् । यस्तै, भारतका सुबमन गिल चौथोमा छन् । सन्दीपले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म एकदिवसीयतर्फ ४९ खेल खेल्दै १ सय ११ र टी–२० तर्फ ४४ खेल खेल्दै ८५ विकेट लिएका छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *