केन्द्रमा संसदीय समिति सभापति पाउँदैमा कोशीमा राप्रपाले गठबन्धनलाई साथ दिँदैन : भक्ति सिटौला – Nepal Press

केन्द्रमा संसदीय समिति सभापति पाउँदैमा कोशीमा राप्रपाले गठबन्धनलाई साथ दिँदैन : भक्ति सिटौला

विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्ति सिटौलाले कोशी प्रदेशमा सत्तागठबन्धनलाई राप्रपाले सहयोग नगर्ने प्रष्ट पारेका छन् । उनले सत्तागठबन्धनलाई राप्रपाले साथ दिने भनेर आएका समाचार हल्लामात्रै भएको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै सिटौलाले राप्रपाले कोशीमा सत्तागठबन्धनलाई साथ दिने विषयमा कुनै सहमति नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘सर्वोच्च अदालतले कोशीको सरकार गठनका विषयमा प्रश्न उठाएका बेला राप्रपाले साथ दिने भन्ने कुरा आउँदैन । भदौको १५ गते सम्भवत: उद्धव थापा नेतृत्वको सरकारलाई अदालतले बदर गर्छ त्यस्तो बेलामा राप्रपाले साथ दिन्छ भनेर हल्ला चलाइएको हुन सक्छ ।’

उनले राप्रपा लामो समयका लागि राजनीति दौडमा निस्केकाले प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको सभापतिसँग कोशी प्रदेशको राजनीति नसाट्ने बताए । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा माओवादीले माधव सापकोटालाई ब्याक गराएर राप्रपाका दीपक सिंहका लागि मैदान खाली गरेको थियो । प्रतिनिधिसभाको संसदीय समितिमा राप्रपालाई भाग छुट्याएर गठबन्धनले कोशीका लागि ढोक्सा थापेको चर्चा परिचर्चा छ ।

सिटौलाले भने, ‘हामी लामो समयका लागि राजनीति सम्भावना हेरिरहेका छौं । अहिले नै यति सानो कुरामा पुरानो सहयात्रीसँग साथ छाड्दैनौं ।’

उनले पुरानो सहयात्री भन्दै एमालेसँगको राजनीतिक सहयात्रा ८४ को चुनावभन्दा पछाडि पनि जान सक्ने बताए । एलायन्स जारी छ ।

गत मंसिरको प्रदेश र संघको निर्वाचनमा राप्रपा-एमालेबीच सहकार्य भएको थियो । यसैको आडमा कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वको सरकार बनेको थियो । सो सरकारलाई समर्थन गरेका माओवादी र जसपाले साथ छाडे पनि अहिलेसम्म राप्रपा सँगै छ ।

कोशी प्रदेशमा बहुमत पुग्नका लागि ४७ सीट आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आर्थिक मामिला मन्त्री तथा योजना मन्त्री बनाए पनि एमाले र राप्रपाले बैठकको सभाध्यक्ष नगरिदिँदा विश्वासको मत लिन समस्या परेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौको ४ गते प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई समेत पक्षमा मत हाल्न लगाएर विश्वासको मत लिएका थिए । मन्सुरीले उपसभामुख बिरामी भएको अवस्थामा र ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट र मालती सुब्बाले बिदा लिएको अवस्थामा अध्यक्ष मण्डलको सदस्यको हैसियतले प्रदेश सभाको अध्यक्षता गरेका थिए ।

अध्यक्षता ग्रहण गरेका बेला अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न लगाएर थापालाई विश्वासको मत दिएका थिए । जसलाई अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

हिक्मत कार्कीको रिटमा बिहीबार सुनवाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले फेरि पनि ‘कामचलाउ’ हैसियतमा खुम्च्याउँदै दीर्घकालीन र नीतिगत प्रकृतिका कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

भदौ १५ गते शुक्रबार अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर