रुपन्देहीमा सातौँ खुल्ला स्नुकर प्रतियोगिताको तयारी – Nepal Press

रुपन्देहीमा सातौँ खुल्ला स्नुकर प्रतियोगिताको तयारी

रुपन्देही । सरकारी सहयोगबिना पनि रुपन्देहीका स्नुकर खेलाडीहरूले आफ्नो प्रतियोगितालाई निरन्तरता दिएका छन् ।

लागू औषध तथा अन्य कुलतमा युवाहरूलाई लाग्न नदिने उद्देश्यले युवाहरूको समूहले सुरु गरेको यो खेल अहिले धेरै संस्थागत भएको छ ।

०६८ सालदेखि संस्थागत भएको यसका खेलाडीहरू अहिले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत पुगेका छन् । अहिले रुपन्देहीमा ४४ वटा स्नुकर खेलाउने क्लब नै बनिसकेका छन् भने १ हजारभन्दा धेरै खेलाडी आबद्ध भइसकेका छन् ।

स्नुकर खेलको अन्तर्राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ बुटवलका हुन् । विश्व स्नुकर च्याम्पियनसिपमा अन्तिम १६ सम्म पुग्न सफल भएर इतिहास रचेका उनी नेपालको स्नुकर खेलको एक नम्बर रेटिङका खेलाडी हुन् ।

उनीजस्तै रुपन्देही र लुम्बिनी प्रदेशबाट दर्जनौंं खेलाडीहरू राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यति धेरै खेलाडी उत्पादन भएको क्षेत्रमा सरकारबाट भने चासो नदिएको यो खेलका पारखीहरूले गुनासो गरेका छन् ।

सरकारी सहयोगबिना उनीहरूले खेलाडी र खेलप्रेमीहरुको सहयोगमा सातौँ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८० तयारी गरेका छन् ।

युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भदौ २२ गतेबाट शुरु हुने प्रतियोगिताको खेलाडी दर्ता, खेल स्थलको तयारी लगायत सबै पूरा भएको संघका अध्यक्ष सुजन पुनले बताए ।

बेरोजगार र कुलतमा फसेका युवाहरूको थलोको रूपमा यो खेललाई चिनिने गरेको बेला पछिल्लो समय भने यसको परिचय फेरिएको उनले बताए ।

स्थानीय स्तरमा खेलाडी, खेलप्रेमीहरु निरन्तर लागेर अहिलेको स्थानमा पुगेको उनले बताए । बुटवलबाट रेगन श्रेष्ठजस्ता अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए ।

नेपालको रेटिङमा नम्बर एक खेलाडी बुटवलकै रहेको उनले बताए । सरकारबाट नै आवश्यक पूर्वाधार र खेलकुद सामग्री उपलब्ध गराउन सके युवा खेलाडी उत्पादनमा थप प्रोत्साहन मिल्ने उनले बताए ।

छैटौँमा राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको यो खेल सातौँ, आठौँ र नवौँ प्रतियोगितामा भने सहभागी नगराएकोमा उनले दुःखेसो गरे ।

अहिलेको प्रतियोगिताको उपाधिलाई विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफ, प्रमाणपत्र, उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी हाई स्कोररलाई नगद १० हजार रुपैयाँ, ट्रफ, प्रमाणपत्र, उदयमान खेलाडी, अनुशासित खेलाडीलाई नगद ५ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी पूर्ण स्कोर १४७ लाई नगद १ लाख रुपैयाँ, ट्रफ, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका महासचिव शंकर खड्काले जानकारी दिए ।

संघका कोषाध्यक्ष अमिन थापाले एउटा प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने र यो रकम प्रतियोगितामा खेलप्रेमीहरुको सहयोगबाट नै उठाउने गरेको बताए । प्रतियोगिताको छैटौँ संस्करणको विजेता भैरहवा कसिस कोइराला रहेका थिए ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा संघका सल्लाहकार शिव राना, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, सल्लाहकार शिशिर गुरुङ, स्नुकरको पाल्पा च्याम्पियन कुनल श्रेष्ठ, महासचिव शंकर खड्काले स्थानीय खेलाडीहरुलाई प्लेटफर्म दिने गरी स्थानीय स्तरमा प्रतियोगिताहरूका साथै राष्ट्रिय प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । उनीहरूले यो खेललाई थप व्यवस्थित बनाउन स्थानीय सरकारलाई ध्यान दिन आग्रह गरेका छन् ।

संघका प्रथम उपाध्यक्ष वासु प्रधानले स्नुकर अनुशासित खेल भएको बताए । शारीरिक र मानसिक दुवै व्यायाम हुने स्नुकर खेलप्रति समुदायमा रहेको गलत दृष्टिकोण फेरिएको भन्दै नेपालमा विकासकै क्रममा रहेको बताए । अहिलेको प्रतियोगितामा १ सय ५० जना खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *