शान्ति प्रक्रिया नटुंगिँदा हामीलाई जति एमालेलाई दुःखेन : डिलाराम आचार्य – Nepal Press
नेपाल टक

शान्ति प्रक्रिया नटुंगिँदा हामीलाई जति एमालेलाई दुःखेन : डिलाराम आचार्य

‘एमालेलाई अहिले जुनसुकै मूल्यमा तुरुन्तै सत्ता चाहिएको छ तर, कांग्रेस तयार हुन्छ भन्ने मलाई लाग्दैन’

कैलाली । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्दैछ । यो अभियानका लागि नेताहरु अहिले गाउँ पसिरहेका छन् । सबै प्रदेशमा माओवादीका इन्चार्जहरू पनि फेरिएका छन् । माओवादी सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी केन्द्रीय सचिव डिलाराम आचार्यले पाएका छन् ।

विशेष रूपान्तरण अभियानका लागि सुदूरपश्चिम आएका डिलाराम आचार्यसँग माओवादीले सुरु गर्न लागेको रूपान्तरण अभियान, सत्ता गठबन्धनमा देखिएको खटपट र माओवादी नेताहरूमाथि लागिरहेको अनियमितताको आरोपका विषयमा गरिएको कुराकानीः

– नेतृत्वलाई पार्टी लामो समयदेखि सत्ता र शक्तिमा मात्रै केन्द्रित भएको र जनतासँग नरहेको आभास भएपछि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गरिएको हो ?

त्यस्तो होइन । हिजो जनयुद्ध, जनआन्दोलनको समयमा केही मुद्दा उठाएका थियौं । गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक राज्य व्यवस्था, संघीयतासम्म त हामीले पुरा गर्‍यौं । तर, जनतालाई हामीले गरेको प्रतिबद्धताअनुसार दुई वटा मुद्दा पूरा भएका छैनन् । एउटा समानता, अर्काे न्याय हो ।

समानता र न्यायमा जान फेरि पनि केही बाधाहरू छन् । सम्पूर्ण रूपले हामीले जितेर आएका होइनौं । जनतालाई त्यो थाहा छ । अर्काे कुरा, शहरबजार पसेपछि हामीलाई पनि धूलोमैलो लागेकै हो । हाम्रा बानी व्यहोरा पनि बिग्रेकै हो । ती सबै हामी स्वीकार गर्न तयार छौं । हामी हाम्रा कमजोरीहरूको आत्मालोचना गर्न तयार छौं ।

तर, समानता र न्यायमा जान एक पटक फेरि पनि तपाईंहरूको साथ सहयोग चाहियो भनेर हामी जनताको बीचमा गइरहेका छौं ।

– १५ वर्ष पहिले जितेको २२० र यस पटकको ३२ सीटको तुलना गर्दा तपाईंहरू जनताको नजरमा कहाँ चुक्नुभयो जस्तो लाग्छ ?

जनताले हामीलाई जसरी विश्वास गर्नुभयो, त्यसपछि हामीले राजनैतिक र साङ्गठनिक रूपले व्यवस्थापन गर्न सकेनौं । पार्टीभित्रै पनि केही विग्रह पैदा भए । त्यसले विभाजनतर्फ लग्यो । यसमा जनताको केही पनि दोष छैन । दोष सबै हाम्रै छ ।

पार्टी दुई होइन तीन हुँदै चार वटामा विभाजन भएपछि यसप्रकारको परिणाम आउनु स्वाभाविक थियो । अहिले हामी ३२ मा छौं कि २२० सीटमा थियौं भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा भनेको राजनैतिक इच्छा शक्तिको हो । ३२ र २२० सीटको अन्तर धेरै ठूलो छ । तर, हाम्रो इच्छा शक्तिको कुरा गर्नुहुन्छ भने हामी डगमगाएका छैनौं । जनतालाई साथमा लिएर फेरि जनताको नेतृत्व गरेर फेरि पनि समानता र न्यायको निम्ति देशलाई समृद्धितिर लैजाने हाम्रो योजना छ ।

– देशको व्यवस्था त बदलियो । तर, देशवासीको अवस्था त बदलिएन नि ! तपाईंहरूले किन बदल्न सक्नु भएन ?

हामीले राजनैतिक व्यवस्था बदल्यौं । आर्थिक र सामाजिक रूपले अवस्था बदलिनेभन्दा पनि झन् जर्जर भयो । विभेदहरू झन् बढ्दै गए । असमानताहरू झन् बढ्दै गए । बेरोजगारीहरू बढे । यसको कारण भनेको हामीले देशलाई उत्पादनशील बनाउन सकेनौं ।

अहिले हामी ३२ मा छौं कि २२० सीटमा थियौं भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा भनेको राजनैतिक इच्छा शक्तिको हो । ३२ र २२० सीटको अन्तर धेरै ठूलो छ । तर, हाम्रो इच्छा शक्तिको कुरा गर्नुहुन्छ भने हामी डगमगाएका छैनौं ।

– मुखैमा आइरहेको चाडपर्व छोडेर भारत जानेहरूको लर्को सीमामा छ । विमानस्थलमा पनि त्यस्तै तँछाड मछाड छ । तपाईंहरूलाई यस्ता दृश्यहरूले पोल्दैन ?

मलाई त के लाग्छ भने हामी नेपालीहरुले छिटो निर्णय गर्छौं । प्रचण्ड प्रधानमन्त्री र बाबुराम अर्थमन्त्रीको सरकारलाई नेपालमा १५ वर्ष चल्न दिनुपर्ने थियो । त्यसले केही गर्ने थियो ।

– अनि प्रचण्ड सरकारलाई जनताले हटाएका हुन् त ? प्रधानसेनापति प्रकरणमा आवेगमा आएर राजीनामा दिनुभएको होइन र, आफैं राजीनामा दिने अनि जनताले पत्याएनन् भन्न पाइन्छ त ?

बाहिर हेर्दा त्यो हो । तर, भित्र कुरो अर्कै थियो । त्यो बेला राष्ट्रपति रामवरण यादवलाई समर्थन गरेर एमालेले अविश्वासको प्रस्तावको तयारी गरिरहेको थियो । उपप्रधान र गृहमन्त्री खाएको एमालेले अविश्वासको प्रस्तावको लागि संख्या पुर्‍याएपछि लाटो राजनीति गर्ने हो भने त सदनबाट सोरेर फाल्दासम्म पर्खिन्छ । सचेत रहेछ भने उसले राजीनामा दिन्छ ।

अविश्वासको प्रस्ताव ल्याएर फाल्नुभन्दा आफूले राजीनामा दिनु निकै राम्रो विकल्प हो । प्रचण्डले रोजेको त्योमात्रै हो । सरकार जान्छ भन्ने निष्कर्षमा पुगेपछि उहाँले राजीनामा दिनुभएको हो ।

– भ्रष्टाचार नियन्त्रणमा माओवादीले शून्य सहनशीलता अपनाएकै हो त ? कि हात्तीको देखाउने दाँत जस्तोमात्रै हो ?

बाहिर नागरिकहरूले बुझेको जस्तो पनि छैन यो । किन भने माओवादीको बहुमतको सरकार होइन । हामी तेस्रो दल भएर पनि यो आँट गरिरहेका छौं । तेस्रो दल भएर पनि भ्रष्टाचारविरुद्ध यो आँट गर्दा भित्रैबाट र बाहिरबाट कति ठूलो दबाब होला भन्ने कुरा नेपाली जनताले नबुझेको कुरा हो । यो दबाबको बीचमा पनि हाम्रो कुरा भनेको सत्तामा टासिरहनुभन्दा दुईचार वटा फाइल खोलेर जनतालाई यस्तो छ है भनेर बाहिर निक्लिनु राम्रो हुनसक्छ भन्ने हो । हामीले यो विकल्प पनि सोचिरहेका छौं ।

तर, बाहिर आउनेबारे त्यस्तो छलफल भएको छैन । भ्रष्टाचार पार्टीभित्र र बाहिर भए पनि हामी ठोकेर जाने भन्ने कुरा छ ।

– भ्रष्टाचारको फाइल खोल्दा माओवादी नेताहरूको छुट्टै राखेर अरू नेताहरूको मात्रै खोल्ने त होला नि, हैन ?

त्यो हल्लामात्रै हो ।

– इलेक्ट्रिक सिगरेटमा महराको बुवाछोरामाथि लागेको आरोप तपाईंहरूले सुन्नुभएको छैन र ? माओवादी शिविरमा भएको घोटालाबारे पनि तपाईंलाई थाहा छैन ?

महराको सन्दर्भमा पार्टी अध्यक्षले नै भनिसक्नु भएको छ कि उहाँसँग जे बुझ्न छ सीबीआईले त्यो बुझ्नुहोस् भनेर । त्यो दबाब महसुस गर्न आवश्यक छैन ।

शिविर काण्डमा मान्छेहरूले धेरै कुरा गर्छन् । मैले बुझेको कुरा के हो भने शिविरमा हाम्रा २१ हजार मान्छेले तलब बुझेको कुरा सत्य हो । २१ हजारले तलब बुझ्दा २ हजार, ५ हजारको दरले पार्टीमा बुझाएका होलान् । त्यो भ्रष्टाचार हुन्छ कि हुन्न त्यसमा छलफल गरौं । त्यो त सबैतिर हुन्छ । अहिले पनि सांसदहरूले पार्टीलाई १० प्रतिशत बुझाइ रहनु भएको छ ।

तेस्रो दल भएर पनि भ्रष्टाचारविरुद्ध यो आँट गर्दा भित्रैबाट र बाहिरबाट कति ठूलो दबाब होला भन्ने कुरा नेपाली जनताले नबुझेको कुरा हो । यो दबाबको बीचमा पनि हाम्रो कुरा भनेको सत्तामा टासिरहनुभन्दा दुईचार वटा फाइल खोलेर जनतालाई यस्तो छ है भनेर बाहिर निक्लिनु राम्रो हुनसक्छ भन्ने हो ।

होइन भने प्रचण्डको नाममा वा कुनै नेताको नाममा शिविरले चेक काटेर त दिएको छैन नि ! अनि भ्रष्टाचार भ्रष्टाचार भन्ने, अख्तियारमा गए हुन्छ नि ढोका त खुला छ ! अदालतमा गए हुन्छ नि, ढोका त खुला छ । सदन त्यत्रो दिन अवरुद्ध गर्नेहरूले शिविरको छानबिन गर भने भइहाल्यो नि ! हाम्रो अध्यक्षले त भनिसक्नु भएको छ, शिविरको पनि खोलौं म जेल जान पर्छ भने तयार छु ।

– अनि फाइल खोल्ने सरकारले आफ्ना नेताहरुको फाइलमा कुनै आरोप छैन भन्न पाइन्छ ?

मुद्दा त आउनु पर्ला नि ! कसैले सडकमा नारा लगाएकै भरमा फाइलमा त जान्न विषय । औपचारिक रूपले कोही आउनु पर्‍यो ।

– शिविरमा घोटाला भएको छैन भन्ने माओवादीको ठहर हो ?

यूएनको रोहवरमा अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयको रोहवरमा व्यक्ति व्यक्तिलाई चेक बुझाएको छ । व्यक्तिले आफैं भर्पाइ गरेर चेक बुझेको छ । चेक बुझेपछि तपाईंले लिएर पूरै पार्टीलाई बुझाउनु भयो भने त्यो तपाईंको कुरा भयो ।

– त्यो बेला माओवादीसँग भएकोभन्दा बढी संख्या देखाएर रकम बुझेको कुरामा तथ्य छैन त त्यसो भए ? प्रचण्डले त्यो बेला बोलेको गोप्य कुराको रेकर्ड त तपाईंले पनि सुन्नु भएकै होला ?

त्यो राजनैतिक दाउपेच हो । शान्ति सम्झौता भइसकेपछि माओवादी फेरि लड्नु पर्दैन भन्ने कुराको ग्यारेन्टी त थिएन । त्यो बेलामा माओवादीले सेना बढाउन खोज्नु स्वाभाविक हो । त्यो ठाउँमा तपाईं, म जोसुकै नेता भए पनि गर्ने त्यही हो ।

यहाँको राजनीति कति नेपालबाट र कति विदेशबाट चल्छ भन्ने कुरा त हामीले बुझेकै छौं । कुनै पनि समस्या आएमा एउटा फोर्स सरकारी रकम खाएर बस्छ र भोलि हामीले सिट्ठी बजाउँदा बाहिर आउँछ भन्ने थियो । त्यो बेलामा विद्रोह गरेर आएको माओवादी त्यस्तो सोच्ने कुरा ठीकै हो । शान्ति प्रक्रिया भङ्ग हुँदा पनि १०-२० हजार आर्मी लिएर बाहिर निस्किने ठाउँमा थियो । त्यो राजनैतिक दाउपेच हो । त्यो सीधा बुझिने कुरा हो । त्यो टेप आएर त झनै राम्रो भयो ।

– विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि शान्ति प्रक्रिया पूर्ण रुपमा टुङ्गो लागेको छैन । तपाईंहरू किन यसलाई निकास दिनुहुन्न ?

देशमा शान्ति प्रक्रिया पूर्ण रुपमा टुङ्गो लगाउनु पर्छ भन्ने तपाईंको र मेरो जस्तो पवित्र हृदय सबैको छैन । कसैले माओवादीलाई तह लगाउन सकिने, सिध्याउन सकिने रुपमा यसलाई बुझेका छन् । शान्ति प्रक्रियाको बाँकी अंग उसको टाउकोमा झुण्ड्याएर राख्ने भन्ने बुझाइ छ । करिब ८ हजार नेतामाथि फौजदारी मुद्दा छ । त्यो टीमलाई जेलभित्र हाल्दिने, अरूलाई लखेटेर माओवादी सिध्याउन सकिन्छ भन्नेमा केही मान्छेहरू छन् । केही राजनैतिक फोर्सहरू पनि छन् ।

यूएनको रोहवरमा अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयको रोहवरमा व्यक्ति व्यक्तिलाई चेक बुझाएको छ । व्यक्तिले आफैं भर्पाइ गरेर चेक बुझेको छ । चेक बुझेपछि तपाईंले लिएर पूरै पार्टीलाई बुझाउनु भयो भने त्यो तपाईंको कुरा भयो ।

तर, एकले अर्काको टाउकोमा यसरी तरबार राखेर हिँड्नु हुँदैन । यसलाई सक्नुपर्छ भन्ने पवित्र धारण हो । सबैको पवित्र धारण त हुँदैन नि ! कोही कपटी हुन्छ, जालीझेली हुन्छ । यसभित्र जालझेलका खेलहरू पनि भइरहेका छन् ।

– कसले खेलिरहेको छ यस्तो खेल ?

एमालेका साथीहरू बढी आक्रोशित भएर लागिरहनुभएको छ । त्यो सबैले देखेको कुरा हो । म एमालेका साथीहरूलाई नेपाल प्रेसबाटै आग्रह गर्न चाहन्छु, यसो नगर्नुस् । सदनभित्र विधेयक अल्झिरहेको छ । एमालेका साथीहरूले ६ महिनादेखि सदनमा विधेयक अल्झाएर राख्नुभएको छ । त्यसो नगर्नुहोस् भन्ने मेरो आग्रह पनि ।

– तपाईंले अघि माओवादीले जति बेला पनि सरकार छोड्नसक्छ भन्नुभयो । पछिल्लो समय सत्ता गठबन्धनमा देखिएका असमझदारी त्यहाँसम्म पुग्छ भन्ने लाग्छ ?

यो अन्तरविरोधबाट हामी आत्तिएका छैनौं । शेरबहादुर देउवा धेरै पाका पुराना खेलाडी हुन् संसदीय व्यवस्थाका । उहाँले आफ्नै खुट्टामा बञ्चरो हान्नुहुन्छ जस्तो लाग्दैन ।

– माओवादी सत्ताच्युत हुनु भनेको शेरबहादुर देउवाको खुट्टामा बञ्चरो हान्नुसरह हो भन्न खोज्नु भएको हो ?

काटेर र फालेर ओइलाएको जस्तो भएको थियो नि कांग्रेस त ! चुनावपछि हामीले होइन पानी छम्केर जगाएको ? योभन्दा हामी डराउनू ! हामी डराउन्नौं । जरा उखालेरै चौरमा सुकाएको जस्तो भएको कांग्रेसलाई फेरि अर्काे प्रक्रियामा ल्याउनुपर्ने बाध्यता थियो त्यसमा ।

शान्ति प्रक्रियाको एउटा साझेदार कांग्रेस हो । हाम्रो बाध्यता के हो भने राष्ट्रिय सहमतिको सरकार आवश्यक थियो । हामीले एमालेलाई मनाउन सकेनौं त्यो सन्दर्भमा । किनभने हामीलाई जति दुःखेको थियो, एमालेलाई दुःखेन । त्यो गम्भीरता उहाँहरूले बुझ्नुभएन । उहाँहरूले राष्ट्रपतिको पदमात्रै देख्नुभयो ।

– तपाईंले कांग्रेसलाई उद्धार गरेको बताउनुहुन्छ । कांग्रेसले माओवादीलाई ३२ सीटसम्मको भए पनि हैसियत हामीले दियौं भन्छ । खासमा कसले कसलाई उद्धार गरेको हो ?

यो त एउटा लेनदेनको कुरा हो । गठबन्धन नभएको भए कांग्रेस पहिलो पार्टी नहुन पनि सक्थ्यो नि ! केही केही सीटमा कांग्रेसको कारणले हामीले जितेका छौं हो । फेरि कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन हाम्रो पनि भूमिका छ । हिजो कांग्रेसको साइज के थियो, आज कस्तो छ भन्ने कुराले पनि त्यो प्रस्ट पार्छ ।

– शान्ति प्रक्रिया नटुंगिएको हुँदा जुनसुकै बेला जोसुकै नेता पनि पक्राउ पर्न सक्ने खतराका कारण जसरी पनि सत्ता र शक्तिमै बस्नुपर्ने बाध्यता माओवादीलाई आइपरेको हो ?

शान्ति प्रक्रियाको जटिलतामा फसेको माओवादीमात्रै होइन । त्यतिकै शेरबहादुर देउवा पनि जेल जानुपर्ने हुन्छ । नेपाली सेनाका अधिकारीहरू पनि जेल जानुपर्ने हुन्छ । ब्रिटिसले एउटा अधिकारीमाथि के गर्‍यो त्यतातर्फ नजाउँ । त्यसो भएको हुँदा यसमा त देश नै फसेको छ ।

शान्ति प्रक्रियाको बाँकी अंग उसको टाउकोमा झुण्ड्याएर राख्ने भन्ने बुझाइ छ । करिब ८ हजार नेतामाथि फौजदारी मुद्दा छ । त्यो टीमलाई जेलभित्र हाल्दिने, अरूलाई लखेटेर माओवादी सिध्याउन सकिन्छ भन्नेमा केही मान्छेहरू छन् । केही राजनैतिक फोर्सहरू पनि छन् ।

दुर्भाग्य भनौं कि सौभाग्य, यी सबै खेलमा सामेल भएर पनि एमाले चोखो जस्तो देखिन्छ । अपजस जति अरूको थाप्लोमा जस जति आफूले लिने सुविधा एमालेले प्राप्त गरेको छ । होइन भने देशमा प्रमुख राजनैतिक शक्ति प्रमुख नेता सबैतिरबाट मुछिएका छन् । यो देशको घाउ हो । माओवादीलाई स्वाट्ट मेटाउने विषय होइन शान्ति प्रक्रिया । यो देशको घाउ हो । यसलाई हामीले निको पार्नुपर्छ ।

– कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि अहिले कांग्रेसभित्रको एउटा समूह एमाले र कांग्रेसको सरकार बनाउनुपर्छ भनेर लागिरहेको हल्ला सुनिन्छ । माओवादी सत्ता बाहिर जाने खतरा पैदा भएको हो र ?

सुनिल शर्मा जस्ता अराजनैतिक मान्छेहरूको त टिप्पणी गर्नुहुँदैन । मेरो त्यसमा कुनै टिप्पणी छैन । कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरामा कांग्रेस तयार हुन्छ भन्ने मलाई लाग्दैन । एमालेको अहिले धेरै ठूलो आवश्यकता छ त्यो कुरामा । सत्ता बाहिर एमालेलाई पाँच वर्ष राख्दा उसलाई के हुन्छ भन्ने कुरा हेर्दा हुन्छ । यद्यपि एमाले सिद्धिएर हामी खुशी हुन्नौं फेरि । एमाले जेसुकै भए पनि हसियाँ हथौडाको झन्डा त बोकेको छ । एमाले सकिएर खुशी हुनु भनेको आफ्ना मलामी कम भएर खुशी हुनु जस्तै हो ।

एमालेलाई अहिले सत्ता जुनसुकै मूल्यमा पनि तुरुन्तै चाहिएको छ । तर, कांग्रेसले त्यति हचुवा, त्यति केटाकेटी निर्णय गर्छ जस्तो मलाई लाग्दैन । कुनै कारणले हामीलाई त्यसो गरेर सत्ता बाहिर फाल्छन् भने पनि हामीले केही मुद्दाहरु बनाइसकेका छौं । हामी अब सडकमा जाने हो, जनतामा जाने हो । अहिले तुरुन्तै यो सरकार ढल्ने र अर्काे सरकार बन्ने सम्भावना छैन । कांग्रेस र एमाले मिल्ने सम्भावना पनि छैन । पाँचै वर्ष यो गठबन्धनको सरकार अगाडि बढ्छ ।

– गौर हत्याकाण्डका विषयमा सरकारले उपेन्द्र यादवमाथि छानबिन गर्न नसक्नु र ललिता निवास प्रकरणमा अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन आँट नगर्नु भनेको प्रधानमन्त्री जसरी पनि सरकार जोगाउन लागेको भन्ने टिप्पणी गरिन्छ नि ! उनीहरुमाथि छानबिन हुँदा सरकारको समर्थन फिर्ता लिने र सरकार अल्पमतमा पर्न सक्ने प्रचण्डको बुझाइ हो ?

त्यस्तो होइन । तर, हाम्रो प्रशासनयन्त्र आफैं राजनीतिबाट डराउँदै आएको छ । पूर्वप्रधानमन्त्रीहरूलाई छानबिन गर्ने भए पनि गर भनेर सरकारले भनिरहेको छ । माधव नेपाल युरोपको भ्रमण छोट्याएर आउनुभयो । बाबुराम भट्टराई पनि म छानबिनमा सहयोग गर्छु भन्नुभएको छ, उहाँहरूले किन आँट गर्नुभएन ? त्यो त अफिसरहरूलाई सोध्नुपर्छ । राजनैतिक कारणले कुनै दबाब परेको भन्ने कुरा मलाई लाग्दैन ।

शान्ति प्रक्रियाको जटिलतामा फसेको माओवादीमात्रै होइन । त्यतिकै शेरबहादुर देउवा पनि जेल जानुपर्ने हुन्छ । नेपाली सेनाका अधिकारीहरू पनि जेल जानुपर्ने हुन्छ । ब्रिटिसले एउटा अधिकारीमाथि के गर्‍यो त्यतातर्फ नजाउँ । त्यसो भएको हुँदा यसमा त देश नै फसेको छ ।

– पार्टी अध्यक्षमा फेरि प्रचण्ड घोषणा गर्दै सकिने त होला हैन माओवादीको विशेष महाधिवेशन ?

एउटा लिगेसी छ प्रचण्डसँग जनयुद्धदेखि जनआन्दोलन र पछिल्लो कालखण्डसम्मको । तर, कम्युनिष्ट पार्टीमा नेता को छानिन्छ भन्दा पनि नीति कस्तो आउँछ भन्ने कुराले अर्थ राख्छ ।

विशेष महाधिवेशनसम्म जाने बेला हामीले शान्ति प्रक्रिया टुंग्याउन सक्यौं र हामीले निर्णय गर्ने कुरामा कुनै दबाब भएन भने देशको आमूल परिवर्तन गर्ने राजनैतिक लाइन खुलस्त पास गर्न हामी स्वतन्त्र हुन्छौं । त्यो बेला अबको २० वर्षमा देश कता जाने भन्ने खाका पेश गर्छौं । त्यस्तो भएमा त्यो साँच्चिकै विशेष महाधिवेशन हुन्छ । त्यसो गर्न सकेनौं भने त्यसले कैयौं जटिलता पैदा गर्छ ।

– विप्लवलाई महासचिव बनाउन विशेष महाधिवेशन गर्न लागिएको भन्ने पनि सुनिन्छ नि ?

औपचारिक ढंगले पार्टीको कुनै पनि बैठकमा यो विषय प्रवेश गरेको छैन । बाहिर मिडियाहरूले मात्रै चर्चा गरेका हुन् ।

– पार्टी उपाध्यक्ष कृष्णबहादुर महराबाहेक अन्य पदाधिकारीको पनि यसमा विरोध हो ?

महराजीले पनि बाहिर के भन्नुहुन्छ मलाई थाहा छैन । बैठकमा त्यो विषय बोलेको मैले सुनेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर