सामाजिक संजालबाट भ्रम फैल्याउने र चरित्र हत्या गर्ने पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग – Nepal Press

सामाजिक संजालबाट भ्रम फैल्याउने र चरित्र हत्या गर्ने पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग

काठमाडौं । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद र तमू प्ये ल्हु संघ चितवनले सामाजिक सञ्जालबाट भ्रम फैल्याएको र चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग गरेका छन् ।

परिषदकी अध्यक्ष विमला देवी गुरुङ र संघका अध्यक्ष लाल प्रसाद गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै गुरुङ जातिको परम्परागत संस्कृति र जातीय भाइचारा तथा एकतालाई समेत खलल पुर्याउने गरी भरतपुर महानगर १६ निवासी पूर्णीमाया गुरुङको भिडिओ र तस्बिर दुरुपयोग गरी उपाध्यायले ‘गोरु खाने धराने’ भनि फेसबुकमा पोस्ट गरेर चरित्र हत्या गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनीहरुले सामाजिक एकता भंग गर्ने यस्ता कार्यको घोर भत्र्सना गर्ने जनाउँदै संलग्न व्यक्तिहरु पूर्वसचिव उपाध्याय र सन्तोष रिजाललाई पक्राउ गरी कानूनबमोजिम कारबाहीका लागि माग गरेका हुन् । कारबाही नगरिए पीडितको न्यायका लागि विरोधका कार्यक्रमहरु घोषणा गरिने उनीहरुले चेतावनी दिएका छन् ।

पूर्वसचिव उपाध्यायले फेसबुकमा पूर्णीमायाले आफन्तको कार्यक्रममा भोज खाएको भिडिओ राखेर पोस्ट गरेपछि उनले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् ।

नेपाल सरकारका पूर्व सचिव उपाध्याय केही वर्षयता सामाजिक संजालमा भ्रामक पोष्ट गर्नेमा अग्रपंक्तिमा छन् । उनले यसअघि पनि पटक पटक सर्वसाधारणको चरित्रहत्या हुनेखालका सामग्री सम्प्रेषण गरेको आरोप छ ।

तीन वर्षअघि उनी यस्तै प्रकरणमा पक्राउ समेत परेका थिए । उनीमाथि जातीय तथा सामाजिक विद्धेष फैलाउने र नभएका पोष्टहरु गरेर भ्रम फैलाउने गरेको आरोप छ ।

 


प्रतिक्रिया

One thought on “सामाजिक संजालबाट भ्रम फैल्याउने र चरित्र हत्या गर्ने पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *