तीन पालिकाका गाडीलाई भरतपुर महानगरमा नौ महिनादेखि निषेध – Nepal Press

तीन पालिकाका गाडीलाई भरतपुर महानगरमा नौ महिनादेखि निषेध

चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्र जिल्लाभित्रकै तीन वटा नगरपालिकाका बासिन्दा चढ्ने स्थानीय रुटका गाडी प्रवेश रोक लगाएको ९ महिना भएको छ ।

भरतपुर महानगरका मेयर रेनु दाहालको अध्यक्षतामा गतवर्ष मंसिर २८ गते जिल्लाका प्रशासन, प्रहरी, यातायातलगायत सरोकारवाला निकायको सर्वपक्षीय बैठक बसेर पूर्वी चितवनको तीनवटा पालिकाको स्थानीय रुटमा चल्ने गाडी भरतपुर छिर्न नदिने निर्णय गरिएको हो ।

महानगरभित्र गाडीको चाप व्यवस्थापनको लागि भनेर तीन पालिका राप्ती, खैरहनी र रत्ननगरका स्थानीय यात्रु बोकेर भरतपुर आउने यात्रुबाहक सार्वजनिक सवारी भरतपुर छिर्न नदिइ केन्द्रीय बस टर्मिनल भरतपुरको बाहिर नै रोक्ने गरिएको छ । महानगरको सीमा भित्र प्रवेश गरे भने उनीहरुलाई चर्को जरिवाना तिराउने गरिएको छ ।

चितवनको सदरमुकाम भरतपुर भएकोले मुख्य बजार, जिल्ला प्रहरी, प्रशासन, यातायात, अस्पताल र नागकिका दैनिक जनजीविकासँग सरोकार राख्ने कार्यालय सबै भरतपुरमा नै छन् ।

२०७८ सालको जनगणाना अनुसार पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकामा ६६ हजार ४ सय २६, खैरहनीमा ६६ हजार २ सय २९ र रत्ननगर नगरपालिकामा ९० हजार ९ हजार ७८ जना मानिसको बसोबास रहेको छ । उनीहरुको प्रशासनिक काम भरतपुरसँग नै जोडिएको हुन्छ ।

पूर्वी चितवनको लोथरबाट भरतपुरसम्म मिनीबस चलाउने करण दराई महानगर भित्र छिरेमा ट्राफिकले मनलाग्दी जरिबाना लगाउने गुनासो गरे । भरतपुरबाट पूर्वी क्षेत्रमा रहेको सबैभन्दा टाढा राप्ती नगरपालिकाको लोथर हो ।

त्यहाँबाट भरतपुरसम्म आउने बसको पूरा भाडा ११० रुपैयाँ पर्छ । करण भन्छन्, ‘हामीलाई भरतपुरसम्म पुग्न दिए त्यही भाडामा यात्रुले गन्तव्यमा पुग्न पाउँथे । हामीलाई बसपार्कमै रोक्दा यात्रुले हामीलाई नै गाली गर्ने गरेका छन् ।’

अहिले भरतपुर महानगरभित्र चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा स्थानीय रुटका म्याजिक गाडीले लिन्छन् । सबैभन्दा धेरै विद्यार्थी, हस्पिटलमा काम गर्ने नर्स तथा नर्सिङ्ग पढ्दै गरेका विद्यार्थी, कार्यालयहरुका कर्मचारीहरु समस्यामा परेको गुनासो गर्दै आएका छन् ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले आफूले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई सम्पर्क गरेर गाडी नारायणगढसम्म पुग्ने व्यवस्था मिलाउन भनेको बताए । उनले भने, ‘भाडाको विषयमा कुरा भएन तर, जतिसक्दो चाँडो नारायणगढसम्म पुग्ने व्यवस्था मिलाउन भनेका छाैं ।’

खैरहनी नगरपालिकाका प्रमुखले सबै स्थानीय तहको बैठकमा जिल्ला समन्वय समितिमा दुई पटकसम्म महानगरका प्रमुख दाहाललाई पूर्वी क्षेत्रको यात्रुले दुःख पाएका जानकारी गराएका थिए । तर, ९ महिनायता गाडी भने नारायणगढ पुग्न पाएका छैनन् ।

तीन पालिका समेटिएको क्षेत्र चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यस क्षेत्रका पूर्व सांसद समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले करिब एक महिना अघि सार्वजनिक कार्यक्रम गरेरै पूर्वी भेगका गाडी नारायणसम्म पुग्न दिन प्रमुखजिल्ला अधिकारीमार्फत सबैलाई ध्यानाकर्षण गराएका थिए ।

क्षेत्र नम्बर १ का सांसद हरी ढकालले एक दिन सार्वजनिक गाडीलाई नारायणगढ लिएर गए । दोस्रो दिन पनि नारायाणगढ लिएर गएका व्यवसायीहरुलाई जिल्ला ट्राफिक कार्यालय चितवनले ५ सयदेखि दुई हजार रुपैयाँसम्म जरिवाना लगाएको थियो ।

भरतपुर महानगरकी मेयर दाहालका प्रेस संयोजक सुरेशचन्द्र अधिकारी ६ लेनको सडक निर्माणका कारण महानगरभित्रको भरतपुर तथा नारायणगढ क्षेत्र अस्तव्यस्त भएकोले गाडी आउन नदिएको बताउँछन् । उनले भने, ‘यो बाटो बनेर सकिएपछि पूर्वी क्षेत्रको गाडी सहज रुपमा सञ्चालन हुन्छ ।’

चितवनमा एकसाता अघि मात्रै नयाँ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आएका छन् । उनले आफू नयाँ भएकोले महानगर, स्थानीय राजनीतिक दल, यातायात व्यवसायी लगायतसँग गाडी रोकिएको विषयमा बुझ्दै गरेको बताए । उनले सरोकारवाला सबैसँग वस्तुस्थिती बुझेर मात्रै गाडी छोड्ने नछोड्ने विषयमा निर्णय गर्न सकिने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *