बेरुजु घटाउन कर्णालीका अर्थमन्त्री सिंहको निर्देशन – Nepal Press

बेरुजु घटाउन कर्णालीका अर्थमन्त्री सिंहको निर्देशन

कर्णाली सरकारको ४ अर्ब ३६ करोड बेरुजु

सुर्खेत । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अभियानमा लाग्न निर्देशन दिएका छन् । मन्त्री सिंहले बेरुजु घटाउने अनिवार्य दायित्व हो भन्ने सम्झिन कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बेरुजु व्यवस्थापन सम्बन्धी दुई दिने पुनर्ताजगी कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो निर्देशन दिए ।

सबैले आफ्नो जिम्मेवारीलाई मनन गरेर काम गर्ने हो भने बेरुजु समस्या न्यूनीकरण हुँदै जाने मन्त्री सिंहको भनाइ छ । प्रतिशतका हिसाबले सात प्रदेशमध्ये कर्णाली प्रदेशको बेरुजु धेरै देखिएको भन्दै मन्त्री सिंहले यसको न्युनीकरणका लागि सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

‘सरकार र राष्ट्रसेवक कर्मचारी जिम्मेवार र जवाफदेही बन्यौं भने, आ-आफ्नो जिम्मेवारीलाई मनन् गरेर दत्तचित्त भएर लाग्यौं भने बेरुजु समस्या अन्त्य गर्न सकिन्छ’, मन्त्री सिंहले भने । अशल मनाशायले काम गर्दागर्दै पनि कहिलेकाहीँ अपजस खेप्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री सिंहले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

‘आर्थिक अनुशासन र सुशासन कायम गर्ने तपाईं, हामी सबैको दायित्व हो । अपसज खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्न लाग्नुहोला । यसमा सरकारले गर्नुपर्ने सहजीकरण गर्नेछ । तपाईंहरू स्वयम् सरकारको प्रतिनिधि भएकाले जनतालाई सुशासनको अनुभूति हुनेगरि काम गर्नुहोला’, मन्त्री सिंहले भने ।

मन्त्री सिंहले नियमित बेरुजु धेरै रहेकाले यसलाई समयमै फर्छ्योट गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । असुल उपर गर्नुपर्ने बेरुजुलाई असुल गर्न र पेस्की फर्छ्योटलाई तदारुकता दिन पनि मन्त्री सिंहले निर्देशन दिए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब ३६ करोड रहेको छ ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका कायममुकायम सचिव दीर्घबहादुर पोखरेलले बेरुजु फर्छ्योटमा तत्परता नदेखिएको हो कि भन्ने आफूलाई अनुभूत भएको बताए । उनले कुनै पनि कार्यालयमा अघिल्ला कार्यालय प्रमुखका पालामा रहेको बेरुजुलाई अहिलेका प्रमुखले जिम्मेवारी लिएर फर्छ्योट गर्न लाग्नुपर्ने बताए ।

‘विगतको बेरुजुलाई फर्छ्योट गर्ने जिम्मेवारी र दायित्व हाम्रो हो भन्ने सोच्नुपर्छ । बेरुजु फर्छ्योटलाई कसरी प्राथमिकता दिने भन्ने विषयमा यो कार्यशाला सफल हुनेछ भन्ने विश्वास लिएको छु’, कामु सचिव पोखरेलले भने । आर्थिक अनुशासन कायम गर्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।

कार्याशालाको अन्तिममा एउटा प्रयोगात्मक कार्ययोजना बनाउने र बेरुजु व्यवस्थापनका सम्बन्धमा गम्भीर छलफल गरिने प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर