पत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा – Nepal Press

पत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा

यसअघि कोशी प्रदेशको नामकरणविरुद्ध सडकमै उत्रिएर पक्राउसमेत परेका थिए राई

काठमाडौंं । राष्ट्रिय जनावर तथा हिन्दू धर्माबलम्बीले ‘माता’ मान्ने गाई तथा गोरुको बध गर्न नेपालको कानूनले निषेध गरेको छ । तर, कानूनी व्यवस्थाको धज्जी उडाउँदै केही व्यक्तिहरुले गाईगोरु काटेको र खाएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।

गौहत्याको आरोपमा पक्राउ परेका दुई व्यक्ति केही दिनअघि धरौटीमा छुटेका थिए । उनीहरुलाई स्वागत गर्न भन्दै धरानमा भोज गरिएको थियो । भोजमा गोरुको मासु खाएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गरियो ।

त्यसयता थुप्रै व्यक्तिहरुले गाईगोरु काटेर खाएको भन्दै भिडिओ हालेर कानूनी निकायलाई चुनौती दिइरहेका छन् । तर, अहिलेसम्म कोही पनि कारवाहीको दायरामा आएका छैनन् ।

केही परिचित र जिम्मेवार व्यक्तिहरु गौहत्याको अभियानमा खुलेआम संलग्न भएको पाइएको छ । जसमध्ये एक हुन् नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष जनक ऋषि राई ।

‘गाईगोरु काटेर’ भोज गर्नेको जमातमा राई पनि थिए । उनले खुलेआम गौहत्या गर्न पाउनुपर्ने भन्दै वकालत गर्ने आएका छन् । यसरी नियम-कानूनको खिल्ली उडाउँदै समस्त हिन्दूहरुको आस्थामा प्रहार गरिरहेका राईलाई नेपाल पत्रकार महासंघले सामान्य स्पष्टीकरणसमेत सोधेको छैन ।

राईले पत्रकार आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको यो पहिलोपटक होइन । उनी कोशी प्रदेशको नामाकरणविरुद्धमा सडक आन्दोलनमा समेत उत्रिएका थिए । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । दुई दिन हिरासत बासपछि उनी छुटेका हुन् । त्यसअघि पनि उनी पहिचानवादीका कार्यक्रमहरुमा अभियन्ता भन्दै मिसिने गरेका छन् ।

राईले ‘गोरु चिन्तन’ शीर्षकमा पुस्तकसमेत लेखेका छन् । उनले यो पुस्तकको कभर आफ्नो फेसबुकको प्रोफाइलमा नै हालेका छन् । यो पुस्तकमा गाईगोरुको मासु खान पाउनुपर्ने वकालत गरिएको छ ।

पत्रकार भएर गैरकानूनी काममा संलग्न रहेको बारेमा नेपाल प्रेसले कुरा गर्न खोज्दा उनी उल्टै जंगिए । ‘म केही बाइट दिन्नँ, जे गर्न सक्नुहुन्छ गर्नु’ भन्दै उनले नेपाल प्रेस संवाददातालाई थर्काएका छन् ।

राईको गतिविधिबारे नेपाल पत्रकार महासंघ पनि जानकार छ । महासंघका अध्यक्ष विपुल पोखरेलले गाईगोरुको मासु काटेर भोज खानेजस्तो कार्य पत्रकार आचारसंहिताविपरीत हुने बताए । यस विषयमा आफूले राईसँग कुरा गरेको उनको भनाइ छ ।

‘पत्रकार आचारसंहितामा प्रष्टरुपमा सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि काम गर्न हुँदैन भनिएको छ । त्यही आधारमा हामीले उहाँ लगायत साथीहरुलाई यस्तो कार्यमा संलग्न नहुनु भनेर सम्झाएका छौं । जनकजीसँग पनि मैले कुरा गरेको छु । उहाँले अब त्यस्तो गर्दिनँ भन्नुभएको छ । तर, अझै पनि त्यस्ता गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्नेछौं’, उनले भने ।

हरेक नागरिकले कानूनको परिपालना गर्नुपर्ने भन्दै पोखरेलले पत्रकारलाई अझै बढी संवेदनशील हुनुपर्नेमा जोड दिए ।

 


प्रतिक्रिया

2 thoughts on “पत्रकार महासंघका सुनसरी अध्यक्ष खुलेआम गौहत्या अभियानमा

  1. कानुनी कार्यवाहि गरिनु पर्छ येस्ता फटाहालाई ।

  2. यो सबै गठबन्धनको नेपाली माथिको थिचोमिचो हो पहिचान जातीय राज्य लुटतन्त्र सबैको उपहार हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर