क्रान्तिकारी कम्युनिष्टका केन्द्रीय सदस्य बिक माओवादीमा प्रवेश – Nepal Press

क्रान्तिकारी कम्युनिष्टका केन्द्रीय सदस्य बिक माओवादीमा प्रवेश

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई एक कार्यक्रमका बीच पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराएका हुन् ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा ‘डायमण्ड’लगायतले विकलाई खादा र अविर लगाएर स्वागत गरेका छन् ।

पार्टी प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए । विगतमा सँगै रहेका केही कमरेड अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर बढ्नुपर्ने उनले बताए ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको बरिष्ठ उपाध्यक्ष पनि रहेका थिए ।

गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा बिक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए । विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत विभाजन हुनुअघि बिक नेकपाको जिल्ला सचिवालय सदस्य र युवा जनस्वयंसेवक नेपालको सचिवालय सदस्य रहेका थिए ।

नेकपा माओवादी प्रदेश सदस्यको जिम्मेवारीमा रहने गरी पार्टीमा प्रवेश गरेका बिकले दाङमा क्रान्तिकारी युवाबीच नयाँ ध्रुवीकरणको थालनी गर्ने बताए । अब युवाको भविष्य समाजवादमा रहेको र त्यसका लागि अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रको नेतृत्वमा मात्रै संभव भएको निष्कर्षसहित आफू मूल घर फर्केको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर