सरकारी बजेट खर्चेर प्रधानमन्त्रीलाई प्राधिकरणको काउन्टर, टेरामक्सको लबिङ गर्न गोप्य गोष्ठी (भिडिओ) – Nepal Press

सरकारी बजेट खर्चेर प्रधानमन्त्रीलाई प्राधिकरणको काउन्टर, टेरामक्सको लबिङ गर्न गोप्य गोष्ठी (भिडिओ)

काठमाडौं । खुफिया एजेन्सीको काम गर्ने र व्यक्तिगत गोपनीयता रेकर्ड हुने भनी आलोच्य भएपछि प्रधानमन्त्रीले नै रोकेको टेरामक्स प्रविधि जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अझै आशक्ति देखाएको छ ।

नेपाल टेलिकमले ग्राहकको गोपनीयताको विषयलाई लिएर अदालतको आदेशसमेत देखाउँदै टेरामक्स प्रणाली जडान गर्न नसकिने भनेको र प्रधानमन्त्रीले समेत आफूले सो प्रविधि रोक्ने भनेपछि प्राधिकरणले सरकारी बजेटमा त्यसको पक्षमा लबिङ थालेको हो ।

विभिन्न सञ्चारमाध्यमबाट सशुल्क समाचार (एड्भोर्टरियल) मार्फत टेरामक्सको पक्षमा लबिङ गरेको प्राधिकरणले प्रधानमन्त्री नै त्यसको विपक्षमा उभिएपछि प्रधानमन्त्रीकै काउन्टरमा निजी संस्थालाई बजेट दिएर सोमबार गोष्ठी गर्न लागेको छ ।

प्राधिकरणले कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) लाई गोष्ठीको सबै खर्च दिनेगरी सो कार्यक्रम आयोजना गर्न लगाएको खुलासा भएको छ । क्यानको कार्य समिति बैठकमा प्राधिकरणले सबै बजेट दिनेगरी टेरामक्सको पक्षमा गोष्ठी गर्न लागिएको भन्ने भिडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ ।

कम्प्युटर व्यवसायीहरूको छाता संगठन क्यान महासंघको कार्यसमिति बैठकमार्फत नै निर्णय गराएर टेरामक्सको बारेमा लबिङ गर्न लागिएको भिडिओमा सुनिन्छ । सो कार्यक्रममा ‘विशेष पत्रकारहरू, प्राधिकरणका सीमित व्यक्तिहरू रहने उल्लेख छ ।

शुक्रबार बसेको कार्यसमिति बैठकमा सो विषयमा कुनै औपचारिक एजेन्डा नभएकोमा, दूरसञ्चार प्राधिकरणले टेरामक्सको बारेमा पत्रकारहरूलाई जानकारी दिलाउन कार्यक्रम गराउन अनुरोध गरेको एजेन्डा प्रस्तुत गरिएको थियो ।

टेरामक्स विवादमा परेपछि र प्राधिकरणका उच्च अधिकारीहरूले क्यानमार्फत सरकारी बजेटमा प्रधानमन्त्रीको निर्देशनलाई काउन्टर दिन र मिडियाबाट जनमत बनाउन खोजिएको बताइएको छ । शुक्रबारको बैठकमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले विविधअन्तर्गत सो एजेन्डा पेश गरेका थिए ।

एक भिडिओ क्लिपमा महासचिव अधिकारीले भनेका छन्, ‘विविधमा टेरामक्सको बारेमा प्राधिकरणबाट आग्रह आएको छ । बढीमा ३० जना सोमबार २ देखि ४ बजेसम्म र भेन्यू फाइनल भइसकेको छैन । महासंघबाट १० जना, प्राधिकरणबाट १० जना स्पेसल पत्रकार १० जना रहने भन्नेछ । प्रधानमन्त्री कार्यालयबाट यसलाई रोक्ने भन्ने कुरा आएको छ, प्राविधिक एंगलबाट यसको बारेमा बहस गर्न महासंघले आयोजना गरोस्, सम्पूर्ण बजेट महासंघले व्यहोर्ने भन्ने आएको छ । ‘

बैठकमा कार्यक्रमको लागत कति हुने र कसले बेहोर्ने भन्ने बारेमा क्यानका सदस्यहरूबीच विवाद भएको र बजेटबारे दाहोरो कुरा भिडिओमा सुनिन्छ ।

यसैबीच दूरसञ्चार प्राधिकरणले सोमबार हुने गोष्ठीलाई गोप्य राख्न खोजेको छ । प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले सोमबारको गोष्ठीको भेन्यूबारे आफूलाई अझै जानकारी नभएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

One thought on “सरकारी बजेट खर्चेर प्रधानमन्त्रीलाई प्राधिकरणको काउन्टर, टेरामक्सको लबिङ गर्न गोप्य गोष्ठी (भिडिओ)

  1. टेरामक्स-प्रणाली जोड्ने मरिहत्ते किन ?

    दूरसंचार सेवाग्राहीका कल-विवरण र एस.एम.एस. लगायत व्यक्तिगत गोप्य विवरण संकलन गर्ने टेरामस्क प्रणाली जडान गर्न ने.दू.प्रा. किन मरिहत्ते गरी लागेको हो ? यो नागरिकको ब्यक्तिगत गोपनियता- रक्षाको बिषयसँग जोडिएको रहस्यमयी संवेदनशील प्रश्न बनेको छ।
    नत संसद र संसदीय समितिमा र न जनता वीचमा नै यसबारे खुलेर छलछल भएको छ, न प्राधिकरणले नै कुनै चित्तबुझ्दो कारण दिन सकेको छ। फेरि पनि टेरामस्क जडान गर्न प्राधिकरणलाई किन हतारो ?
    कहीं यो ०४६ सालपछि राजनीतिक दल-नेतृत्त्वका सरकारले गरेका राष्ट्रिय स्वतन्त्रता, जनताको पारिवारिक जीवन, देशमै जीविको- पार्जन गर्ने तथा देशलाई समृद्ध बनाउनेे जनाधिकार, जनताको अात्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी प्राकृतिक श्रोत- साधनहरुको जनता तथा राष्ट्रको हितमा प्रयोग गर्ने जन-अधिकार माथिकाे कुठराघात वा प्रतिगमन र परिणामतः देशमा ब्याप्त बनेका गरीवी, महंगी, वेरोजगारी, भ्रष्टाचार, दण्डहीनता, बेथिति, अान्तरिक संकट र चर्को विदेशी चलखेल तथा हस्तक्षेपका विरुद्ध जनतामा बढ‌ि- रहेक‍ो देशभक्तिपूर्ण प्रजातान्त्रिक जागरण र यसका पक्षधरहरुलाई दमन गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय रणनीति अनुसार चालिएको कदम त होइन भन्ने अाशंका समाजमा बढिरहेको छ।
    टेरामस्क प्रणाली,यसका गुन-बैगुन, नेपालमा यसको जडानको अावश्यकता, हुनसक्ने दुरुपयोगको नियन्त्रण अादिबारे विशद वहश नगरी र यससम्बन्धी सुबिचारित ढंगले संसदबाट कानुन पारित नगरी यो प्रणाली भित्र्याउने हरकोहीका प्रयत्नको घनघोर बिरोध गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर