भक्तपुरको नहः पुखुमा अब वाटर साइक्लिङमा सरर… (तस्बिर/भिडिओ) – Nepal Press

भक्तपुरको नहः पुखुमा अब वाटर साइक्लिङमा सरर… (तस्बिर/भिडिओ)

भक्तपुर । पोखरी नै पोखरीको शहर भक्तपुरको नह पोखरी (नहःपखु) मा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्नै उद्देश्यले नेपालमा नै पहिलो पटक पोखरीमाथि वाटर साइकल चलाउन सुरु गरिएको छ ।

एडभभेन्चर पर्यटकहरूका लागि मात्रै होइन पोखरीमा बोटिङको मज्जा लिनेहरूका लागि समेत लक्षित गरेर पोखरीमाथि साइक्लिङ सुरु गरिएको हो ।

टी एण्ड एन एडभेन्चर कम्पनी मार्फत भक्तपुरको नह पोखरीमा शनिवार देखि पाँच वटा साइकल मार्फत पोखरीमाथि साइकल चलाउन सुरु गरिएको हो ।

नेपालमा नै पहिलो पटक सुरुवात गरिएको वाटर साइकलमा एक पटकमा दुई जना एउटै साइकलमा बसेर पोखरीको परिक्रमा गर्न सक्ने टी एण्ड एन एडभेन्चरका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए ।

पोखरा लगायतका अन्य ताल भएको शहरमा समेत यसको सुरुवात गर्न खोजे पनि पोखरामा भने अनुमति प्राप्त नभएको सञ्चालक तिमिल्सिनाले बताए ।

हामीले अहिले सर्लाहीको भरत तालमा समेत सञ्चालनको अनुमति प्राप्त गरिसकेका छौ,अब केही दिन भित्रै भरत तालमा पनि यसको सुरुवात गर्ने छौ सञ्चालक तिमिल्सिनाले भने ।

भक्तपुर नगरपालिकासँग अनुमति लिएर नह पोखरीमा अहिले ५ वटा साइकलबाट यसको सुरुवात गरेको र अन्य पोखरीहरूमा समेत सञ्चालन गर्ने सञ्चालक तिमिल्सिनाले जानकारी दिए ।

यसरी लिन सकिन्छ पोखरीमाथि साइकलको मज्जा !

पोखरीमाथि साइकल चलाउने अन्य देशहरूमा भएपनि नेपालमा भने पहिलो पटक भएकाले पनि पानीमाथि साइकल चलाउँदाको मज्जा एकदमै एडभेन्चरको अनुभव भएको पोखरीमाथि साइकल चलाएका सञ्चारकर्मी समेत रहेका विमल नेपालले बताए ।

जोखिम एकदमै कम रहेकाले पनि महिला,वृद्धा सबैले यो चलाउन सक्ने सञ्चालक तिमिल्सिनाले जानकारी दिए । ऐतिहासिक शहर भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूले एकपल्ट यसको मज्जा लिनका लागि टी एण्ड एन एडभेन्चर कम्पनीका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले आग्रह गरे ।

‘हामी केही युवाहरू मिलेर यसको सुरुवात गरेका छौ,सबै क्षेत्रबाट सहयोग भयो भने हामी अन्य पोखरीहरूमा समेत वाटर साइकल सञ्चालन गर्छौ’ तिमिल्सिनाले भने ।

एक जनाले १५ मिनेटमा पोखरीमाथि दुई राउण्ड साइकल चलाउन सक्ने र शुल्क भने प्रति व्यक्त २ सय कायम गरिएको अध्यक्ष न्यौपानेले बताए ।

शनिवारदेखि सुरु भएको वाटर साइकलको औपचारिक रूपमा सुरुवात भएको छ । भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले नह पोखरीमा सुरुवात भएको वाटर साइकलको सुरुवात गरेका थिए । पोखरीको शहर भक्तपुरमा यो सुरुवातले यस क्षेत्रको पर्यटकहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

भक्तपुर जिल्लामा ५० बढी पोखरीहरू रहेका छन् भने ती मध्ये हाल ३४ वटा मात्रै संरक्षणमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर