जेसीज सम्मेलनमा प्रतिनिधि छनौटको विवादले नाराबाजी – Nepal Press

जेसीज सम्मेलनमा प्रतिनिधि छनौटको विवादले नाराबाजी

रूपन्देही । आजदेखि रुपन्देहीको तिलोत्तमामा सुरू भएको नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन प्रतिनिधि छनौटमा एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले नाराबाजी गरेपछि विवादमा तानिएको छ ।

क्षेत्र ‘घ’ अन्तर्गत रुपन्देहीको सिद्धार्थ लेडी जेसीज र धनगढी लेडी जेसीजमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विवाद सुरू भएको थियो ।

विशेषगरी सम्मेलनका महिला सहभागीहरुले ती दुई शाखाको विवाद टुंगो लगाएर मात्रै सम्मेलन सुरु गर्नुपर्ने अडान राखेपछि विवाद सुरू भएको हो ।

सम्मेलनमा असन्तुष्ट पक्षले केहीवेर नाराबाजी गरेको भएपनि आयोजकले सम्मेलन सुरु गरेका छन् । विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसीजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएको भन्दै असन्तुष्ट सिद्धार्थ लेडी जेसीजका केही सदस्यहरु कार्यक्रमस्थलमै पुगेर विरोध गरेका थिए ।

नेपाल जेसीजको नेतृत्वले व्यक्तिगत स्वार्थअनुसार सिद्धार्थ लेडी जेसीजको अध्यक्षमा विष्णु पाण्डे हुनुपर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएका कारण विवाद भएको सिद्धार्थ लेडि जेसीजकी पूर्वअध्यक्ष रचना क्षेत्रीले बताइन् ।

नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समूहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिने गरेका कारण बिवाद भएको क्षेत्रीले बताइन् ।

सिद्धार्थ लेडी जेसीजमा सन २०२० देखि नै उध्यक्षको उमेर विवाद छ। उक्त जेसीजमा उमेर विवाद समाधान गरेर विष्णु पाण्डेलाई नेतृत्व हस्तान्तरण गर्ने पूर्व सहमति भएपनि जवरजस्ती गिता बन्जाडेलाई अध्यक्ष बनाएको भन्दै पूर्व अध्यक्षहरु सहितको एउटा समूहले असहमति जनाइरहेको छ ।

यसैगरी, धनगढी लेडि जेसीजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ ।

धनगढी लेडिज जेसीजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको कारण विरोध सहभागीहरुले बताएका छन् । अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुंदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको उनीहरुको तर्क छ ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राममा सुरु भएको सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट सहभागिता रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *