इन्द्रसरोवर गाउँपालिकाले वार्षिक समीक्षा : ८४ प्रतिशत बजेट खर्च भयो – Nepal Press

इन्द्रसरोवर गाउँपालिकाले वार्षिक समीक्षा : ८४ प्रतिशत बजेट खर्च भयो

काठमाडौं । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा सम्पन्न गरेको छ । गाउँपालिकाले पहिलो पटक समीक्षा गरेको हो । गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

गत आर्थिक वर्षमा ४७ करोड बजेट रहेकोमा चालु खर्च ८४.८६ प्रतिशत, पुँजींगत खर्च ७३.७२ प्रतिशत र वित्तीय प्रगति ७९.२९ प्रतिशत भएको छ ।

गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले इन्द्रसरोवर गाउँपालिकामा पहिलो पटक ग्रामीण आँखा केन्द्र स्थापना गरी स्थानीय स्तरमै आँखा सेवा सुचारु गरिएको बताए । कक्षा ८ को परीक्षामा नतिजा सुधार्न गाउँपालिकाले अंग्रेजी, गणित र विज्ञान विषयको सिकाई उपलब्धि परीक्षा सञ्चालन गरेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले आर्थिक वर्ष २०८०/८१ मा सबै योजनाहरु बैशाख मसान्तसम्म सम्पन्न गरिसक्न सम्बन्धित शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘अघिल्लो आर्थिक वर्षको ढिलाईबाट पाठ सिक्दै संघीय र प्रदेश सरकारबाट सञ्चालन हुने समपूरक र विशेष अनुदानका योजनाहरु समयमै सम्पन्न गर्नु पर्छ । ई-बिडिङ प्रक्रियाका लागि सबै प्रक्रिया पुरा गर्न यही भदौ १५ गतेसम्मको समयसीमा तोकी छ । सुशासन कायम गर्न गाउँपालिकाले लामो समयदेखि हुन नसकेको सार्बजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरी जवाफदेहिता बढाउन खोजिएको छ ।’

गत आर्थिक वर्षमा गाउँपालिकाका विभिन्न शाखाहरुबाट सम्पादन गरिएका कार्यहरुका बारेमा सम्बन्धित शाखा प्रमुखहरुले प्रगति विवरण पेश समेत पेस गरेका थिए । समिक्षाका क्रममा गाउँपालिकाले अवलम्बन गरेका असल अभ्यासका बारेमा सहभागी विभिन्न जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका थिए ।

साना र टुक्रे खरिदलाई निरुत्साहित गर्दै विद्युत्तीय खरिद प्रणालीलाई प्रश्रय दिइएको, भुक्तानीका लागि चेक राइटिङलाई विस्थापित गर्दै प्रिन्टेड चेकका साथै इलेक्ट्रोनिक फन्ड ट्रान्सफर लागू गरिएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष बन्जाराले बताए ।

गाउँपालिकाले गत आवमा ४१ वटा विवादका विषय दर्ता भएकामा ३० वटा विवादहरु मेलमिलापका माध्यमबाट निरुपण गरिएका छन् । भने बाँकी मेलमिलापका प्रक्रियामा रहेका छन् । समीक्षा कार्यक्रममा गाउँउपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ्य चौकीका इन्चार्जहरु लगायतको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर