तीन दिन अस्पताल बसेर डिस्चार्ज भइन् कोशीकी उपसभामुख, ‘स्ट्रेस नलिन’ डाक्टरको सुझाव – Nepal Press

तीन दिन अस्पताल बसेर डिस्चार्ज भइन् कोशीकी उपसभामुख, ‘स्ट्रेस नलिन’ डाक्टरको सुझाव

डाक्टरले एक हप्तामा फेरि आउनुपर्छ भनेका छन्ः स्वकीय सचिव दाहाल

काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार तीन दिन गंगालाल हृदयरोग केन्द्रमा उपचारपछि हिजो डिस्चार्ज भएकी छन् । अहिले उनी निवासमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

कोशी प्रदेशमा सरकारले विश्वासको मत लिने अघिल्लो दिन दनुवार अस्वस्थ बनेको भन्दै काठमाडौं आएकी थिइन् । त्यहाँका सत्तारुढ दलहरूले भने उनी बैठक छल्ने नियतले भागेको आरोप लगाएका थिए । तर, काठमाडौंमा बकाइदा अस्पताल भर्ना नै भएर उनले उपचार गराएकी हुन् ।

उपसभामुख दनुवारलाई पहिल्यैबाट थाइराइड र प्रेसरको समस्या रहेको उनका स्वकीय सचिव भुवन दाहालले नेपाल प्रेसलाई बताए ।

‘उहाँलाई पहिले पनि प्रेसर तलमाथि हुने समस्या थियो । राजनीतिक घटनाक्रमहरूको तनावले गर्दा अलिकति गाह्रो भयो । त्यसैले काठमाडौं आएर उपचार गराउनुभएको हो,’ उनले भने ।

विश्वासको मत लिने अघिल्लो दिन आउनुलाई उनले संयोग मात्र मिलेको बताए ।

‘उहाँ आफैंले डाकेको बैठकमा नजाने कुरा थिएन । तर, स्वास्थ्यमा समस्या आएकाले नै तत्काल काठमाडौं आउनुपर्‍यो,’ दाहालले भने ।

उपसभामुखलाई भदौ ३ गतेदेखि अलिक गाह्रो भएको र स्थानीय चिकित्सकहरूसँग परामर्श गरेको उनले बताए । उनीहरूले काठमाडौंमा गई सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको दाहालको भनाइ छ ।

दनुवार सुरूमा गंगालाल अस्पतालको आकस्मिक कक्षमा नै भर्ना भएकी थिइन् । त्यसपछि उनलाई क्याबिनमा सारिएको थियो । उनको एनजिओग्राफी गरिएको छ । त्यसको रिपोर्ट के आयो भन्ने जानकारी नरहेको दाहालले बताए ।

अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको छ । तर, चिकित्सकले १ हप्तापछि फेरि फलोअपमा आउन भनेका छन् । उनीहरूले ‘स्ट्रेस नलिन’ सुझाव दिएका छन् । एक हप्ताको फलोअपपछि चिकित्सकको सल्लाहका आधारमा विराटनगर फर्किनेबारे निर्णय लिने दाहालले उल्लेख गरे ।

दनुवारसँग सम्पर्क प्रयास गर्दा उनको फोन रिसिभ भएन । हिजोमात्रै सर्वोच्च अदालतले सभाध्यक्षको भोट प्रयोग गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत् मान्न नसकिने भन्दै तत्काल दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर