झलनाथको रोडम्याप- फरक मत बोकेर माधव नेपालमाथि हावी, महाधिवेशनमा अध्यक्षको दाबी – Nepal Press

झलनाथको रोडम्याप- फरक मत बोकेर माधव नेपालमाथि हावी, महाधिवेशनमा अध्यक्षको दाबी

उपाध्यक्ष पाण्डे भन्छन्- म आफैं नेतृत्वमा जानेबारे सोचेको छैन

काठमाडौं । एमालेबाट विद्रोह गरेको दुई वर्षपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको १० औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेसँगै तयारी थालेको हो ।

महाधिवेशनका लागि मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वार्डहरुमा कमिटी गठन गर्ने र सबै कमिटीले सदस्यता वितरण गरिसक्ने लक्ष्य पार्टीले लिएको पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

सबै जनसंगठनले महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन थाल्नसमेत बैठकले निर्देश गरेको छ । नेकपा एसले एमालेको लिगेसी आफूहरुसँग भएकाले अब हुने महाविधेशनलाई १०औं भनेको छ ।

नेता खतिवडाले भने, ‘एमालेले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैन भन्ने निष्कर्षका साथ हामीले त्यसलाई पुनर्गठन गरेका हौं । यो विद्रोह त्यही पुनर्गठन हो । पुनर्गठन गरेपछि त्यो पार्टीको स्वामित्व हामीले लिएका छौं । त्यसैले हामी दशौं महाधिवेशन गर्न गइरहेका छौं । त्यो पार्टी आफ्नो ढंगले जे गर्दैछ-गर्दैछ ।’

माधवसँग दूरी बढाउँदै झलनाथ

महाधिवेशनको तयारी अघि बढेसँगै पार्टीभित्र आन्तरिक रुपमा पार्टी नेतृत्व परिवर्तनको गृहकार्य भइरहेको छ । अध्यक्ष नेपालसँग पार्टीका सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट छैनन् । उनी आफैंले पनि पार्टीको नेतृत्व गर्नेगरी आन्तरिक तयारी थालेको नेताहरु बताउँछन् ।

नेता खनालले पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले राखेको प्रतिवेदनमाथि पनि फरक मत राखेका थिए । माधव नेपालबाट पार्टी अघि नबढ्ने निष्कर्षसहित उनले आफू निकटका व्यक्तिहरुमार्फत् पार्टीभित्र टीम बनाउन सक्रिय रहेको नेकपा एसका एक नेताले बताए ।

पछिल्लो समय अध्यक्ष नेपाल र नेता खनालबीच दूरी बढेको छ । गठबन्धनदेखि समाजवादी मोर्चा गठनको विषयमा पनि उनले असन्तुष्टि राखेका थिए । वर्ग शत्रु किटान नगरी कांग्रेस र माओवादीको पिछलग्गू भएर हिँड्न नहुने नेता खनालको भनाइ थियो । उनले सार्वजनिक रुपमै पनि नेतृत्व परिवर्तन हुने बताइसकेका छन् ।

एक नेताले भने, ‘उहाँ (झलनाथ)ले अहिले पार्टीभित्र आफू निकटका केही व्यक्तिहरुलाई प्रयोग गराएर प्रचार गराइराख्नुभएको छ । बाहिर चर्चा भए जस्तो पार्टीभित्र उहाँको पक्षमा माहोल बन्न सहज परिस्थिति छैन ।’

तर, नेता खतिवडाले खनालले अध्यक्षको प्रतिवेदनमाथि फरक मत नराखेको दाबी गर्छन् । उनी भन्छन्, ‘उहाँले राखेको विचारलाई फरक मत होइन । उहाँले पार्टीलाई समृद्ध बनाउन सुझाव दिनुभएको हो । फरक मत अहिले आउने होइन । महाविधेशनमा पार्टीको दस्तावेज बनाउने बेलामा आउने हो ।’

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष नेपालले नेता खनालको सुझावलाई मनन गरेर अघि बढ्ने बताएका थिए ।

को को छन् दाबेदार ?

अध्यक्ष नेपालसँग असन्तुष्ट रहेकाहरुलाई नेतृत्व परिवर्तनको गृहकार्य थाले पनि संस्थापन पक्षका नेताहरु माधव नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

आफैंले लामो संघर्षबाट बनाएको एमाले छाडेर नेकपा एस निर्माणमा पनि उनैको भूमिका भएकाले तत्काल उनको विकल्प नखोज्ने संस्थापन पक्षको तयारी छ ।

तर, नेता खनाल पार्टी निर्माणको सुरुवातदेखि नै पार्टी नेतृत्वको निर्णयको विरुद्धमा छन् । उनले गत महिना बसेको स्थायी कमिटी बैठकमा पनि १६ पृष्ठको फरक मत राखेका थिए ।

उनले पार्टी सोचेअनुसार अघि बढ्न नसकेको भन्दै नेता कार्यकर्ता एमालेमा पलायन भइरहेको उल्लेख गरेका छन् । त्यसो त केही समयअघि नेता खनाल पनि एमालेमै फर्किन लागेको चर्चा थियो । पार्टी विभाजनको औचित्यसमेत पुष्टि हुन नसकेको खनालको आरोपको अध्यक्ष नेपालले प्रतिवाद गरिसकेका छन् ।

कम्युनिष्ट पार्टीमा फरक मत लिएर जानेले नेतृत्वको दाबी गर्छन् । पछिल्लो गतिविधिले झलनाथ अध्यक्षको दाबेदारको रुपमा अघि बढेको देखाउँछ ।

उनीसँगै नेतृत्वमा उपाध्यक्ष राजेन्द्र पाण्डेको पनि चर्चा छ । महासचिवमा भुसालसँगै उपमहासचिव जगन्नाथ खतिवडा, प्रकाश ज्वाला पनि दाबेदार छन् ।

महाधिवेशनको हलमा पुगिसकेपछि मात्रै नेतृत्वबारे थाहा हुने प्रवक्ता खतिवडा बताउँछन् ।

उनी भन्छन्, ‘विधानअनुसार महाविधेशन नेतृत्व परिवर्तनको विधिमा जाने भएकाले विधानमा परिवर्तन गर्नुपर्ने भए महाधिवेशनको हलमै पुगेपछि नेतृत्वबारे थाहा हुन्छ । अहिले हामीले नेतृत्वबारे छलफल गरेका छैनौं ।’

आफूहरु पार्टी निर्माणकै क्रममा रहेकाले दस्तावेजमा केन्द्रित रहेको उनी बताउँछन् ।

त्यसो त नेता खनाल पनि महाधिवेशनबाट पार्टीका विचार, नीति, सिद्धान्तलाई स्पष्ट बनाउने बताउँछन् । उनले भने, ‘हामी यो महाधिवेशनबाट विचार, नीतिलाई सुस्पष्ट बनाउने नेतृत्व निर्माण गर्छौं । नेतृत्वबारे हामीले भन्ने होइन, महाधिवेशनले भन्ने कुरा हो ।’

तपाईं पनि नेतृत्वमा दाबेदार हुनुहुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘त्यो त्यतिबेलै थाहा हुन्छ । अहिले भन्ने कुरा होइन ।’

नेतृत्वमा सर्वसम्मत कि निर्वाचन ?

महाधिवेशनको तयारी अघि बढे पनि नेतृत्वबारे आफूहरुले पार्टीभित्र छलफल नगरेको उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् ।

उनी भन्छन्, ‘नेतृत्व परिवर्तनबारे हामीले अहिलेसम्म सल्लाह गरेका छैनौं । अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित सिंगो पदाधिकारी टीम नै सर्वसम्मत चयन गर्नुपर्छ । त्यसमा कुनै विवाद हुँदैन । सर्वसम्मत नै गर्ने हाम्रो प्रयास हुन्छ । यो एकताको महाधिवेशन हो । त्यसैले नेतृत्वमा झगडा गर्नुहुँदैन भन्ने बुझाइ छ ।’

उनले आफू नेतृत्वमा जाने भन्नेबारे अहिले नसोचेको बताए ।

त्यसो त अर्का उपमहासचिव गंगालाल तुलाधार निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने दाबी गर्छन् । उनले भने, ‘निर्वाचनमा जाँदा को पर्छ को पर्दैन, अहिले नै भन्न सक्ने अवस्था हुँदैन ।’

पार्टीका सम्मानित नेता झनालले नेतृत्वमा दाबी गरे जस्तो आफूले नबुझेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले कसैले नेतृत्व दाबी गर्ने बेला पनि होइन । हामी भर्खर दुई वर्ष भएका छौं, पार्टी निर्माणको बेला हो । ठूलो पार्टीबाट विद्रोह गरेर आएका हौं । आफैंले बनाएको पार्टीमा केपीको व्यक्तिवादविरुद्ध आत्मसमर्पण गर्न नसकेर विद्रोह गरेका थियौं । त्यसैले यो पार्टीलाई जनताको पार्टी बनाउन नसकेसम्म नेतृत्व लिन होडबाजी गर्नु चाहिँ व्यर्थको कुरा हुन्छ ।’

पार्टी निर्माणको क्रममा अध्यक्ष नेपालको विकल्प खोजेर अरु कसैले नेतृत्वमा आउन दाबी गर्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

उनले थपे, ‘पार्टी कस्तो बनाएका छौं । कहाँ लैजान खोन्दैछौं, त्यो कुराको दिशानिर्देश नगरी नेतृत्वमा मै हुन्छु भन्ने कुरा गर्नु भनेको अपरिपक्वको कुरा हो । त्यो कसैले पनि गर्छ जस्तो लाग्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर