भक्तपुरको बालसुधार गृहमा भएको घटनाको मानव अधिकार आयोगले थाल्यो अनुसन्धान – Nepal Press

भक्तपुरको बालसुधार गृहमा भएको घटनाको मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । भक्तपुरको मध्यपुरस्थित बाल गृहमा तोडफोड भएको र सुधारगृहबाट बालबालिका बाहिर निस्केको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

बालसुधार गृहभित्र गत आइतबार रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर तोडफोड भएको र सुधारगृहबाट बालबालिका बाहिर निस्केको घटनाबारे स्थलगत अनुगमनपछि अनुसन्धान सुरु गरेको आयोगले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिए । उनका अनुसार स्थलगत अनुगमनको क्रममा आयोगले बालसुधार गृहमा रहेका बालबालिका, बालसुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानविन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानविन समितिका सदस्यसँग प्रत्यक्ष भेटेर जानकारी लिनुका साथै, बालसुधार गृहपरिसरको अवलोकन गरेको छ ।

प्रवक्ता शर्माका अनुसार बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवम् सुधारगृहका कमाण्डरले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका निज कमलको उपचारको अभावमा मृत्यु भएको अनुगमनबाट पाइएको छ ।

यस्तै, बालसुधार गृहका बालकको समूहले गत सोमबार ढुंगामुढा तथा तोडफोड गरी सुधार गृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको प्रवक्ता पोखरेले जानकारी दिए ।

बालबालिकाको स्वास्थ्य, सुरक्षा एवम् जीवनको अधिकारप्रति संवेदनशील हुँदै उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले विज्ञप्तीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, बालसुधार गृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर