बढी मूल्यमा आईपीओ जारी गर्ने प्रतिस्पर्धा, लगानीकर्तालाई फाइदा कि घाटा ? – Nepal Press

बढी मूल्यमा आईपीओ जारी गर्ने प्रतिस्पर्धा, लगानीकर्तालाई फाइदा कि घाटा ?

प्रिमियममा जारी गरेको आईपीओभन्दा सस्तो मूल्यमै पाइन्छ दोस्रो बजारको शेयर

काठमाडौं । पछिल्लो समय सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेका अधिकांश कम्पनीहरुले प्रिमियम मूल्यमा शेयर बिक्री गरिरहेका छन् । आईपीओ भन्नेबित्तिकै प्रतिकित्ता एक सय रुपैयाँमै पाइने आम मानसिकता तोड्दै कम्पनीहरु प्रिमियममै शेयर जारी गर्ने होडबाजीमा उत्रिएका छन् ।

अंकित मूल्य १०० रुपैयाँ प्रिमियम थपेर शेयर जारी गरिरहेका कम्पनीहरुको जस्तोसुकै भए पनि उनीहरुको शेयर ओभर सब्सक्राइब (आवेदनभन्दा बढी माग) भएको छ । कतिपय लगानीकर्ताहरु भने कम्पनीहरुले बढी मूल्यमा शेयर जारी गरेर लगानीकर्ताको शेयरसम्मको पहुँच खुम्च्याउन खोजेको आरोप लगाइरहेका छन् ।

लगानीकर्ता तथा विश्लेषक मुक्ति अर्याल प्रिमियम मूल्यमा शेयर जारी गर्ने कम्पनीको विश्वास भरपर्दो नहुने बताउँछन् ।

‘बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी भए त्यसमा ‘क्वालिफाइड इन्स्टिच्युसनल इन्भेष्टर्स’ले मूल्य जाँच गर्ने र सही छ छैन पत्ता लाग्थ्यो । यसले लगानीकर्ताहरु फस्दैनथे, बजार स्थिर हुन्थ्यो’, उनले भने ।

उनले नाफामा गएका कम्पनीलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न पाउने व्यवस्था भएपछि घाटामा गएका कम्पनीलाई किन डिस्काउन्ट रेटमा आईपीओ जारी गर्न नदिएको भन्दै प्रश्न गरे ।

लगानीकर्ता कमलराज खरेल केही कम्पनीहरुले आईपीओ जारी गर्न नै नेटवर्थ राम्रो देखाउने गरेको बताउँछन् । त्यसको क्रसचेक नहुँदा लगानीकर्ता फस्न सक्ने उनको बुझाइ छ ।

यसको पछिल्लो उदाहरणको रुपमा घोराही सिमेन्ट रहेको उनी बताउँछन् । घोराहीले लगातार घाटामा गएको नेटवर्थ शेयर जारी गर्न नै नाफा देखाएको खरेलको तर्क छ ।

पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीहरुमा सन नेपाल लाइफ, भगवती हाइड्रोपावर, आईएमई लाइफ इन्सुरेन्स, रिलायबल लाइफ इन्सुरेन्स, घोराही सिमेन्टलगायत छन् ।

सन नेपाल लाइफ इन्सुरेन्सले साउन ३२ गते १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा बिक्री खुला गर्‍यो । यसको पछिल्लो लेखापरीक्षण गरेको प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ छ । कम्पनीको विवरणपत्रअनुसार यो आर्थिक वर्ष २०७८/७९ सम्मको नेटवर्थ हो । त्योभन्दा पछिका नेटवर्थ प्रक्षेपणमात्र गरिएको छ । लेखापरीक्षण गरेको नेटवर्थलाई आधार मान्ने हो भने यसले नेटवर्थको डेढ गुणा मूल्य राखेर आईपीओ बिक्रीमा ल्याएको देखिन्छ ।

भदौ ५ गतेदेखि आईपीओ जारी गरेको भगवती हाइड्रोपावरले १६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमै शेयर बिक्री गरिरहेको छ । यसको पछिल्लो लेखापरीक्षण गरिएको प्रतिशेयर नेटवर्थ १२०.४१ रुपैयाँ छ । यस आधारमा यसले पनि नेटवर्थको डेढ गुणाभन्दा कम मूल्य राखेको देखिन्छ ।

घोराही सिमेन्टले पनि अंकित मूल्य १०० मा ३३५ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्तामा शेयर जारी गर्‍यो । कम्पनीले जेठ ३२ गते सर्वसाधारणलाई शेयर निष्कासन गरेको थियो । यसको पछिल्लो नेटवर्थ २२६.६१ रुपैयाँ देखिन्छ । यसले नेटवर्थको लगभग २ गुणा मूल्य राखेर आईपीओ बिक्री गरेको थियो ।

यस्तै सिटिजन्स लाइफ इन्सुरेन्सले पनि भदौ १५ देखि प्रिमियम मूल्यमा शेयर जारी गर्दैछ । यसले प्रतिकित्ता १४४ थप गरेर २४४ रुपैयाँ प्रतिकित्तामा शेयर जारी गर्नेछ ।

शेयरविज्ञ डा. केशव श्रेष्ठ कम्पनीहरुले प्रिमियम मूल्य निर्धारण गर्दा नेटवर्थको डेढ गुणासम्म बनाउँदा राम्रो हुने बताउँछन् । तर, नियमले नै २ गुणासम्म थप मूल्य निर्धारण गर्न सक्ने भएकाले कम्पनीहरुले सकेसम्म अधिकतम सीमा नै प्रयोग गर्छन् । यद्यपि, नेटवर्थ गणना विधि र प्रिमियम मूल्य सही तरिकाले निर्धारण भएको छ कि छैन भनेर हेर्नुपर्ने श्रेष्ठको तर्क छ ।

उनी भन्छन्, ‘आईपीओमा सबैको पहुँच पुर्‍याउने भन्नेबित्तिकै सबै शेयर १०० रुपैयाँमै दिनुपर्छ भन्ने छैन । यसमा लगानीकर्ता आफैं कम्पनीमा लगानी गर्दा जोखिम छ वा छैन भनेर सचेत हुनुपर्छ ।’

प्रिमियम मूल्य कसरी निर्धारण हुन्छ ?

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा बिक्री प्रस्तावमार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था छ ।

यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यी हुन् आईपीओभन्दा सस्तो मूल्यका शेयर भएका कम्पनी

दिव्यश्वरी हाइड्रोपावर (१५७), ग्लोबल आईएमई बैंक (२१०), घलेम्दी हाइड्रो पावर (१७४)

प्रिमियमा जारी गरेको कम्पनीको दोस्रो बजारमा कति छ मूल्य ?

प्रिमियम मूल्यमा शेयर जारी गरेका कम्पनीको दोस्रो बजारमा कति मूल्य पुग्यो होला भन्ने चासो पनि छ । यहाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेका केही कम्पनीको दोस्रो बजार मूल्य देखाइएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ४३५ रुपैयाँ प्रतिकित्तामा बिक्री गरेको घोराहीको शेयर मूल्य अहिले ५०० रुपैयाँ माथि छ । शिवम सिमेन्टको ५२७ रुपैयाँ छ । आईएमई लाइफको ५०० रुपैयाँभन्दा माथि छ शेयर मूल्य ।


प्रतिक्रिया

One thought on “बढी मूल्यमा आईपीओ जारी गर्ने प्रतिस्पर्धा, लगानीकर्तालाई फाइदा कि घाटा ?

  1. घाटा हुन्छ
    यो सबै लगानी कर्ता लाई लुट्ने बिचार हो
    प्रीमियम १०० मा खुलेको पनि ५०००हुन्छ र
    २५०/३०० मा खुलेको पनि ५००० हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर