संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न: गाईगोरु काटेर सामाजिक सञ्जालमा प्रदर्शन गर्दा गृहमन्त्री रमिता हेरेर बस्ने ? (भिडिओ) – Nepal Press

संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न: गाईगोरु काटेर सामाजिक सञ्जालमा प्रदर्शन गर्दा गृहमन्त्री रमिता हेरेर बस्ने ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गाईगोरु काटेर खाएको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमाथि कानूनी कारबाहीको माग गरेका छन् । उनले वैदिक सनातन मान्ने ९३ प्रतिशत जनसंख्याको आस्थामाथि खेलवाड गर्न नपाइने बताए ।

आज संसद बैठकमा बोल्दै शाहीले संविधान र कानूनको उल्लंघन गर्दै खुलमखुला गौहत्या भएको विषयमा गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए ।

उनको भनाइ यस्तो छ:

पछिल्लो जनगणनाअनुसार हाम्रो देशको जनसंख्या २ करोड ९१ लाख ४२ हजार ४८० रहेको छ । यो रेकर्ड पनि तलमाथि भयो भन्ने कुराहरु आइरहेका छन् । यसमा ८१.३४ प्रतिशत हिन्दू, ९.४ प्रतिशत बुद्धिष्ट र ३.४ प्रतिशत किराँत गरी वैदिक सनातन मान्ने ओमकार परिवार ९३.४२ प्रतिशत छन् ।

देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उनीहरुलाई पक्राउ गरेर कानूनी कारबाही गरियोस् ।

नेपालको संविधान र कानूनले पशुपंक्षीसम्बन्धी कसुरमा राष्ट्रिय जनावर गाई र वैदिक सनातनले मानेका गोरुहरु काटियो भने ३ वर्ष कैद हुने व्यवस्था गरेको छ । तर, आज यसरी कानून उल्लंघन गर्नेलाई किन खुलमखुला छाडिएइको हो ? करोडौंको आस्थामाथि खेलवाड गर्न पाइन्छ ? मासु मीठो भएर खायौं रे ! संसारमा सबैभन्दा मीठो मासु मान्छेको हुन्छ भनेर अध्ययनले देखाएको छ । त्यसो भए मान्छेको मासु खाने ? यदि दम र हिम्मत छ भने साउदी अरब गएर सुंगुर काटेर देखाऊन् । त्यहाँको सरकारले झुण्ड्याएर फाँसी दिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर