इन्स्टाग्राममा फलो गरेका व्यक्तिसँग ‘लभ’ पर्दा फाइनान्सकी रिसेप्सनिष्टको १४ लाख स्वाहा – Nepal Press

इन्स्टाग्राममा फलो गरेका व्यक्तिसँग ‘लभ’ पर्दा फाइनान्सकी रिसेप्सनिष्टको १४ लाख स्वाहा

काठमाडौं । सामाजिक सञ्जालमार्फत परिचित एक व्यक्तिले काठमाडौंको एक फाइनान्समा रिसेप्सनिष्टको काम गर्दै आएकी महिलालाई करिब १४ लाख रुपैयाँ ठगेका छन् ।

पीडित महिलाका अनुसार चार्ल्स वाङ नाम गरेका व्यक्तिले उनलाई इन्स्टाग्राममा फलो गरेपछि उनीहरुबीच चिनजान भएको थियो । वाङले आफूलाई क्यानेडियन नागरिक बताएका थिए ।

कुराकानीकै क्रममा ह्वाट्स एप नम्बर आदानप्रदान भएको र मायाप्रेमका गफहरु हुन थालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । त्यसपछि वाङले ती महिलालाई सरप्राइज गिफ्ट पठाउन लागेको भन्दै उनको इमेल आईडी र अन्य ठेगाना मागेका थिए ।

पीडितका अनुसार वाङले ४५ हजार क्यानेडियन डलरसहित गिफ्टहरु पठाएको उनलाई बताएका थिए । त्यसपछि पीडितलाई ठग्ने क्रम सुरु भएको थियो । भारतस्थित भन्सार कार्यालयको कर्मचारी भन्दै उनलाई पटक पटक फोन आयो ।

त्यसबीचमा उनले भन्सार क्लियरेन्सका लागि ८ पटकमा गरी १३ लाख ६१ हजार ५ सय रुपैयाँ पठाएकी थिइन् । त्यो पैसा उनले आफ्नो बैंक खाताबाट उनलाई दिइएका विभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरेको देखिएको छ ।

थप १० लाख ३० हजार रुपैयाँ आवश्यक रहेको भन्दै भन्सार कर्मचारी बताउने व्यक्तिले फेरि पनि रकम माग गरेपछि ती महिला झस्किएकी थिइन् । त्यसपछि प्रहरीमा उनले उजुरी गरेकी थिइन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पीडितले पैसा ट्रान्सफर गरेका बैंक खातावालालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । ५ जनालाई प्रतिवादी बनाइए पनि उनीहरु कोही पनि पक्राउ परेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर