गौरकाण्ड सतहमा आएपछि मधेशको शरणमा उपेन्द्र (तस्बिरहरू) – Nepal Press

गौरकाण्ड सतहमा आएपछि मधेशको शरणमा उपेन्द्र (तस्बिरहरू)

सिरहामा शक्ति प्रदर्शन, जसपालाई समाप्त पार्न खोज्ने आफैं समाप्त हुने चेतावनी

जनकपुरधाम । १७ वर्षपछि गौर हत्याकाण्ड सतहमा आएपछि मुख्य आरोपी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव मधेशमा शक्ति आर्जन र प्रदर्शन गर्न जुटेका छन् ।

आज सिरहाको धनगढीमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर जसपा अध्यक्ष यादव शक्ति देखाए । अहिले न चुनाव, न आन्दोलनको समय रहेको छ । तर जसपाले हजारौं कार्यकर्ता उतारेर विशाल आमसभा आयोजना गर्दा धेरैले आश्चर्य मानेका छन् ।

जसपा जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता देखियो । गाउँ गाउँबाट नेताहरु बस, ट्याक्टर, स्कार्पियो र मोटरसाइकलमार्फत कार्यकर्ता ओसारेका थिए । कार्यक्रम स्थलमा सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समेत हमेहम्मे परेको थियो ।

उक्त कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका नेता विनोद चौधरीलाई आफ्नो पार्टीमा भित्र्याए । चौधरी बाहेक पनि सयौं कार्यकर्ता अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गरे ।

जसपाले पार्टी प्रवेश र आमसभा गरेर सरकार तथा विपक्षीलाई आफ्नो शक्ति देखाउन खोजेको देखिएको छ ।

हुन त सरकार गौर हत्याकाण्डको छानविन अगाडी नबढाउने निष्कर्षमा पुगिसकेको छ । तर सरकारमाथि उपेन्द्र यादव विश्वस्त छैन । त्यसैले उनी मधेश झरेर पुनः शक्ति आर्जन र प्रदर्शनमा लागेको देखिन्छ ।

आमसभामा जसपाका नेताहरु समेत गौरहत्याकाण्ड अगाडि बढाए अर्को जनविद्रोह हुने चेतावनी दिएका छन् ।

जसपा नेता प्रकाश अधिकारीले गौर हत्याकाण्ड राजनीतिक घटना भएको तर्क गरे । उनले भने, ‘१७ वर्षपछि घटनालाई उचालेर पार्टी अध्यक्षलाई फसाउने षड्यन्त्र भइरहेको छ । यस्तो भयो भने अर्का जनविद्रोह हुन्छ ।’

जसपा नेता तथा संघीय साँसद राजकिशोर यादवले पनि गौर हत्याकाण्ड उचालेर मधेशलाई अधिकारबाट बञ्चित गर्न खोजेको टिप्पणी गरे । उनले चेतावनी दिए, ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नफाल्नुस्, नत्र आफैं जल्नुपर्छ ।’

षड्यन्त्र गर्नेहरु आफैं समाप्त हुन्छन् : उपेन्द्र यादव

आमसभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले षड्यन्त्र गर्नेहरु आफै समाप्त हुने बताए । गौर हत्याकाण्डलाई लक्षित गर्दै उनले भने- केही पार्टीहरु के गर्छन् त कहिले सुनकाण्ड, कहिले के काण्ड, कहिले के काण्ड, कहिले गाइ काण्ड, कहिले गदहा काण्डको पछाडी लागेको छ । यी काण्डहरु बन्द गरोस् । नत्र आफै समाप्त हुनेछन् ।’

जसपामाथि निरन्तर हमला हुँदै आएको तर जनताको आर्शिवादले अहिले जसपा ठूलो शक्ति बनेको दावी गरे । देशको महत्वपूर्ण शक्ति मधेश छ र मधेशमा जसपाको रातो झण्डा फहराइरहेको छ- अध्यक्ष यादवले भने– जबसम्म जसपाको रातो झण्डा फहराइरहन्छ, तबसम्म कुनै शक्तिले मधेशको सम्मान र स्वाभिमानलाई दबाउन सक्दैनन् ।

उनले मधेशको उपेक्षा, अधिकारबाट बञ्चित र छलकपट गरेर यो मुलुक अगाडी बढ्न नसक्ने चेतावनी समेत दिए । अहिले अहिले प्रदेशलाई अधिकार सम्पन्न बनाउने, देशबाट गरिबी र बेरोजगारी हटाउने, भ्रष्टाचार अन्त्य गर्ने जस्ता कामहरु छाडेर कहिले यो काण्ड त कहिले त्यो काण्ड उचालेर देशको भलाई नहुने बताए ।

अब पहिचान र अधिकारको आन्दोलनलाई अगाडी बढाउने भन्दै अध्यक्ष यादवले कार्यकर्तालाई निर्देशन दिए, ‘हरेक खालको चुनौतीको सामना गर्न तयार बस्नुपर्छ ।’ उनले मधेशमा मात्र होइन्, उत्पीडन र विभेदमा परेका हिमाल तथा पहाडका जनताको लागि पनि संघर्ष गर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर