लुम्बिनीमा माओवादीको तीन महिने रुपान्तरण अभियान सुरु, चार जिल्ला संयोजक फेरिए – Nepal Press

लुम्बिनीमा माओवादीको तीन महिने रुपान्तरण अभियान सुरु, चार जिल्ला संयोजक फेरिए

रुपन्देही । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरु केन्द्रीय कमिटीमा भएकाले उनीहरुलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो ।

लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार रुकुम जिल्ला संयोजकमा रामसुर बुढामगर, गुल्मी संयोजकमा युवराज केसी वसन्त, रोल्पा संयोजकमा पूर्ण केसी र प्युठान संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ ।

प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।

‘अहिले पार्टीमा एक व्यक्ति एक पदको जिम्मेवारी दिने निर्णय भएको छ । सोहीअनुसार ४ जिल्लाको नेतृत्वमा रहेका साथीहरु अन्य जिम्मेवारीमा रहेकाले नयाँ जिम्मेवारी तोकिएको हो । प्रदेश कमिटीले यो जिम्मेवारी तोकेको हो’, प्रदेश अध्यक्ष बरालले भने ।

अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।
गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलवस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् ।

यस्तै बैठकमा १२ वटै जिल्लाको सांगठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । पार्टीले दिएको नयाँ जिम्मेवारीअनुसार सबै विशेष रुपान्तरण अभियानअन्तर्गत खटिएका छन् ।

स्थायी कमिटी सदस्य तहका नेताहरुलाई जिल्लाको इन्चार्ज तोकिएपछि केन्द्रीय कमिटी र प्रदेशका सबै पालिका र वडा तहको जिम्मेवारीमा रहेका छन् ।

माओवादीले लुम्बिनी प्रदेशलाई आफ्नो आधार इलाकाको रुपमा माने पनि रोल्पा, रुकुम पूर्वमा बाहेक अन्य क्षेत्रमा धेरै कमजोर भएकाले विशेष रुपान्तरण अभियानलाई ध्यान दिइएको जनाएको छ ।

प्रदेशको चौथो पूर्ण बैठकले तोकेको जिम्मेवारीअनुसार नेताहरु आफ्नो कार्यक्षेत्रमा खटिइसकेको प्रदेश अध्यक्ष बरालले जनाए । पार्टीको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान र प्रदेशको मुख्य कार्यभारबारे प्रदेश इञ्चार्ज, अभियान संयोजक एवम् केन्द्रीय सचिव हितमान शाक्यले विशेष जिम्मेवारी लिएका छन् ।

पार्टी सत्ता, सरकारी सत्ता र सामाजिक सत्तालाई एक अर्कामा जोड्दै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियानलाई सफल पार्न जनतासँग एकाकार हुने, अभियानलाई प्रदेशमा प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्यसहित सञ्चालन कार्यविधि तयार गरिएको, १०९ पालिकामा पार्टी संगठन सुदृढ गर्ने, ९८३ वटा वडामा पार्टी संगठन सुदृढ एवं विस्तार गरी हजारौं पार्टी सदस्यहरुलाई परिचालन गरी लाखौं जनतामा पुग्ने रणनीति माओवादीले बनाएको छ ।

अहिलेको अभियानलाई तीन चरणमा सम्पन्न गर्ने रणनीतिअनुसार पहिलो आन्तरिक तयारीलाई भदौ १५ भित्र पूरा गर्ने, दोस्रो उद्घाटन र वार्मअपलाई भदौ १६ देखि २५ भित्र सम्पन्न गर्ने र तेस्रो निरन्तरता र उत्कर्षलाई भाद्र २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने कार्ययोजना माओवादीले बनाएको छ ।

सोही योजनाअनुसार १२ वटै जिल्लामा अभियान संयोजक तोकिएको छ भने जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्युह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरी रहेको अभियान अनुगमन तथा प्रशिक्षण टीम निर्माण, सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई क्रमशः अन्तरजिल्ला र अन्तरपालिकामा जिम्मेवारी निश्चित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर