भक्तपुरको बाल सुधार गृहमा १३१ जना कैदीबन्दी १८ वर्ष उमेर नाघेका – Nepal Press

भक्तपुरको बाल सुधार गृहमा १३१ जना कैदीबन्दी १८ वर्ष उमेर नाघेका

काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा सोमबार बबण्डर गर्दै थुनुवा तथा कैदीबन्दीहरु बार तोडेर निस्किए । उक्त सुधार गृहमा रहेका २९७ मध्ये २२६ जना भागेका थिए ।

उनीहरु अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले अब ९ जनालाई पक्राउ गर्न बाँकी रहेको बताए । ‘उनीहरुलाई पनि हामी केही दिनभित्रै पक्राउ गर्छौं’, एसपी केसीले भने ।

विभिन्न अपराधमा संलग्न १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई थुन्नु परेमा वा कैद सजाय गर्नु परेमा बाल सुधार गृहमा राख्ने व्यवस्था छ । तर, भक्तपुरको उक्त कारागारमा रहेकामध्ये १३१ जना १८ वर्षभन्दा माथि उमेरका कैदीबन्दी रहेको पाइएको छ ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले १८ वर्ष उमेर ननाघ्दै कैद सजाय भएमा उनीहरु सजाय नकाटेसम्म सुधार गृहमै बस्ने गरेको बताए ।

‘कुनै बालक १७ वर्षको हुँदा उसलाई अदालतले १० वर्ष कैद सजाय गर्‍यो भने उसलाई २७ वर्षको उमेरसम्म बाल सुधार गृहमै राखिन्छ । १८ वर्ष नाघिसकेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने ऐनमा कुनै व्यवस्था नभएकाले यो जटिलता उत्पन्न भएको हो’, उनले भने ।

उनले यसरी उमेर नाघेकालाई छुट्टै कारागारमा राख्न छलफल भइरहेको पनि बताए ।

‘कानूनमा कुनै व्यवस्था नभएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा हामीले छुट्टै कारागारमा राख्ने भन्ने छलफल अगाडि बढाएका छौं’, उनले भने ।

हाल देशभर ८ वटा बाल सुधार गृह छन् । बाल सुधार गृहको व्यवस्थापन तथा रेखदेख महिला तथा बालबालिका मन्त्रालयले गर्दै आएको कारागार विभागले जनाएको छ ।

‘हामीले खाना तथा लत्ताकपडाको खर्च व्यवस्थापनमात्र हेर्ने हो । बाँकी सबै महिला तथा बालबालिका मन्त्रालयले गर्ने गरेको छ’, पाण्डेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर