कुखुराको अवैध आयात रोक्न सरकारको निर्देशन – Nepal Press

कुखुराको अवैध आयात रोक्न सरकारको निर्देशन

काठमाडौं । सरकारले कुखुराको अवैध आयात रोक्न निर्देशन दिएको छ । ‘भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासो’लाई सम्बाेधन गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच वृहत छलफल भएको थियो ।

उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा देहाय बमोजिम गर्न गराउन पाँच बुँदे निर्णय जारी गरेका हुन् ।

एक, खुला सीमानाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने ।

दुई, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कानूनी कारवाही गर्ने ।

तीन, सीमा नाकामा गस्ती निगरानी बढाउने ।

चार, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरुलाई हटाउने ।

पाँच, भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर