नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप छुट्ने – Nepal Press

नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप छुट्ने

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपले एसिया कप खेल्नैपर्छ र खेल्छ भन्ने विश्वास छ

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।

एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।

नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।

अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दको विश्वास छ । ‘हामी सन्दीपसँग कुरा गर्दैछौं । उसले जस्तो परिस्थितिमा पनि देशका लागि खेल्नैपर्छ र खेल्छ भन्ने विश्वास छ,’ चन्दले भने ।

आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।


प्रतिक्रिया

2 thoughts on “नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप छुट्ने

  1. सन्दिप लामिछाने खेल्न नजाने हो भने हामी पनि एसिया कप का बिपक्ष्य छौ यसको जिम्मेवारी नेपाल मरेका लाश नेता र क्रिकेट क्यानले लिनु पर्छ ।

  2. सन्दिप ले खेल न खेल्ने र खेल्न जान नपाउने भए पछि त अरु खेलाडी हरु लाई पनि नपठाए पनि भो किन कि बिना रानी को माहुरी को के काम भनेझै हुदैन र मलाई त एस्तै लाग्छ हैन यो हाम्रो देश मा के भै रहेको छ मलाइ त नेपाली हु भन्न पनि हिनता बोध हुदैछ। तेत्रो टिकापुर हत्याकाण्डको नाइके लाई राष्ट्रपती मार्फत आम माफी दिएर उसलाइ रिहागर्ने अनि यो सन्दिप जस्तो राष्ट्रको गहनालाइ मानसिक यातना को सिकार बनाउने जे गर्नु छ सरकार 😭😭😭

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर