जातिवादविरोधी विश्व च्याम्पियन सरस्वती नेपाली भन्छिन्- सरकारले विभेद गरे पनि म डगमगाएको छैन (भिडिओ) – Nepal Press
नेपाल टक

जातिवादविरोधी विश्व च्याम्पियन सरस्वती नेपाली भन्छिन्- सरकारले विभेद गरे पनि म डगमगाएको छैन (भिडिओ)

काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने पहिलो व्यक्ति बन्न सफल भएकी छन् नेपालकी सरस्वती नेपाली । विश्वभरका ६ जनाले उक्त पुरस्कार हात पार्दा सरस्वती एक्ली नेपाली हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका-४ खलंगागढीमा जन्मिएकी सरस्वती आज विश्वभर चिनिएकी छन् । बैतडीमा विभेदको खालबाट जन्मिएकी सरस्वती नेपाललाई विश्वभर नै चिनाउन सफल भएकी छन् ।

विद्यालयमै जातीय विभेद भोगेकी उनी आफूलाई बाल्यकालदेखि नै विद्रोही स्वभावको भएको बताउँछिन् । अमेरिकाबाट संसारलाई नेपाल चिनाउने ‘अवार्ड’ बोकेर फर्कंदा नेपाल सरकारले आफूलाई नसम्झेको उनको गुनासो छ । तर, गैरसरकारी निकायबाट सम्मान लिन र मिडियालाई अन्तर्वार्ता दिन भने उनलाई भ्याइ नभ्याइ छ ।

सामाजिक विभेदविरुद्ध भएका आन्दोलनमा उनी घाइतेसमेत भएकी थिइन् । दर्नाल अवार्डसमेत पाइसकेकी सरस्वती नेपालीसँग  गरिएको कुराकानी नेपाल टकमा :

– यो ग्लोबल एन्टिरेसिजम कस्तो खालको अवार्ड हो ?

यो अमेरिकी सरकारको विदेश मन्त्रालयले यसै वर्ष स्थापना गरेको अन्तर्राष्ट्रिय अवार्ड हो । मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सवालमा विभिन्न ६ मुलुकका ६ जनालाई अवार्ड दिएको हो । नेपालको हकमा जातीय विभेदविरुद्ध आन्दोलन गरेर र संघर्ष गरेको भनेर मलाई यो अवार्ड दिएको हो ।

– तपाईं यो पुरस्कार पाउन कसरी सफल हुनुभयो ?

यसमा अमेरिकाको विदेश मन्त्रालयले सम्बन्धित मुलुकको दूतावासमार्फत सम्बन्धित क्षेत्रमा काम गर्नेको नाम सिफारिसका लागि माग गरेको थियो । विभिन्न माध्यमबाट उहाँहरुले अध्ययन गर्नुभएछ । नेपालबाट पनि धेरै जनाको नाम दूतावासले सिफारिस गरेको थियो । अन्तिममा अमेरिकी विदेशमन्त्री र मन्त्रालयले मेरो नाम छनोट गरेको र मैले अवार्ड पाएको हँु । मलाई कुनै फारम भर्न र आवेदन गर्न पनि भनिएको थिएन । सिफारिस गरिएको छ भनेर पनि भनिएको थिएन । मात्रै मलाई दूतावासको मानव अधिकार र राजनीतिक क्षेत्र हेर्ने व्यक्तिले सम्पर्क गरेर मैले गरेको काम र यसअघि प्राप्त गरेको दर्नाल अवार्डको बारेमा जानकारी लिनुभयो । तर, यो अवार्डका लागि नाम सिफारिस भएको छ भनेर केही पनि भन्नुभएको थिएन ।

– तपाईंले अवार्ड पाएको जानकारी कसरी पाउनुभयो ?

दूतावासको कर्मचारीले मलाई सोधपुछ गरेको एक महिनापछि दूतावासले फोन गरेर तपाईंलाई हामीले केही पनि भनेका थिएनौं । तपाईंको बारेमा धेरै अध्ययन गर्‍यौं । नेपलाबाट धेरै जनाको नाम पनि सिफारिस भएको थियो । तर अन्तिममा तपाईंको नाम ‘ग्लोबल एन्टी-रेसिजम च्याम्पियन्स अवार्ड’का लागि छनोट भएको छ भनेर बधाई भन्नुभयो । त्यसपछि मात्रै मैले जानकारी पाएँ ।

– अवार्ड पाएको खवरपछि कस्तो अनुभूति भयो ?

त्यो सुनेर म अचम्ममा परें । एकछिन त के गरौं के बोलौं भनेर टोलाएँ । यो साँच्चिकैको खवर हो कि के हो भनेर अलमलमा पनि परें । उताबाट हामी तपाईंको निरन्तर सम्पर्कमा रहन्छौं र भिसाको प्रक्रियाका लागि काठमाडौं आउनुपर्छ भनेर भन्नुभयो । त्यसपछि विश्वास लाग्यो ।

आफूले समाजका लागि गरेको कामको ढिलै भए पनि मूल्यांकन हुने रहेछ भन्ने लाग्यो । मैले २०५३ सालदेखि यस क्षेत्रमा काम गर्दा यो अवार्ड पाउँछु भनेर गरेको होइन । म त्यो समुदायको मान्छे हो, जसले लैंगिक हिंसा कस्तो हुन्छ भनेर भोगेको छ । जातीय विभेद पनि भोगेको छु । गरिबीको पीडा पनि भोगेको छु । त्यसैले सामाजिक न्यायको क्षेत्रमा काम गरेर आज अवार्ड पाउन सफल भएँ । मैले यसअघि दर्नाल अवार्ड पनि पाएँ र विभिन्न आन्दोलनमा पनि सहभागी भएँ । तर, मलाई राष्ट्रिय मिडियाले र काठमाडौंले चिनेको थिएन । न्यायको पक्षमा विभिन्न मुद्दा लडियो र जितियो पनि । त्यो कसैले पनि थाहा पाएन । आज समय आयो, सबैले चिने, अन्तर्राष्ट्रिय अवार्डले चिनायो । साह्रै खुशी छु ।

– तपाईंले अवार्ड पाएपछि पनि धेरै चर्चा नभएको हो ?

पक्कै पनि । हुन त मैले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बधाई त पाइरहेकै छु । तर, जुन तहले सम्झिनुपर्ने हो, त्यसले विशेषगरी राज्यले मलाई सम्झेन । मैले अन्तर्राष्ट्रिय अवार्ड नै पाइसकेको हुनाले यो सरस्वती नेपालीले मात्रै नभएर सिंगो देशले नै पाएको अवार्ड हो । यसमा त सरकारले सम्झिनुपर्ने हो ! मिडियाले त सम्झिरहनुभएको छ । यसले मलाई थप हौसला दिने काम गरेको छ । सरकारले पनि सम्झेको भए कम्तीमा मलाई राज्यले पनि सम्झियो भनेर थप हौसला बढ्ने थियो । मलाई मात्र नभएर सिंगो जातीय विभेदविरुद्धको आन्दोलनकर्मी र महिला अधिकारकर्मीलाई पनि हौसला दिन सक्थ्यो । त्यसैले हामी जस्ता अन्य व्यक्तिलाई पनि राज्यले सम्झिनुपर्छ ।

– राज्यले तपाईंलाई किन सम्झेन भन्ने लाग्छ ?

सायद म दलित समुदायको व्यक्ति भएको र जातीय विभेदविरुद्ध लागेर यो अवार्ड प्राप्त गरेका कारण राज्यले नसम्झेको हुनसक्छ । जस्तैः महिला हिंसालगायतका कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्छ । अपांगता भएका व्यक्तिको हकमा पनि कार्यक्रम गर्छ । तर, जातीय विभेदविरुद्धलगायत दलित समुदायसँग सम्बन्धित दिवस भने सरकारको कुनै पनि निकायले गर्दैन । किन ?

– सरकारी उच्चपदस्थ निकाय वा व्यक्तिबाट बधाई पाउनुभयो कि भएन ?

अहिलेसम्म कुनै पनि उच्च सरकारी निकायबाट बधाई तथा शुभकामना पाएको छैन । सरकारले बधाई दिन कञ्जुस्याइँ गरे पनि बाहिर रहेको नागरिक समाज र मिडियाबाट धेरैभन्दा धेरै बधाई तथा शुभकामना पाएको छु । सायद सत्तासम्म पहुँच नपुगेको कारण पनि होला सरकारले नसम्झको !

– राजनीतिक दल वा तिनका भ्रातृ संगठनबाट बधाई तथा शुभकामना पाउनुभयो त ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्रै मलाई बोलाएरै बधाई दिनुभयो । त्योबाहेक अरु कुनै पनि राजनीतिक दल वा भ्रातृ संघसंगठनले बधाई तथा शुभकामना दिएको छैन ।

– सरकारले तपाईंले पाएको अवार्डको सम्मान नगर्दा कस्तो महसुस गर्नुभयो ?

काम गर्दै जानेलाई हौसला दिने भनेकै सरकारले हो । हामी जस्तो व्यक्तिको संरक्षण गर्ने दायित्व पनि सरकारकै हो । सायद धेरैजसो सामाजिक कार्य गर्ने व्यक्ति यस्तै यस्तै कारणले पनि निराश हुने गरेका होलान् ।

– अन्तर्राष्ट्रिय सम्मान पाउँदा पनि विभेद गरेको महसुस गर्नुभएको हो त ?

नेपाल जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेको छ । सरकारकै पहलमा जातीय विभेदविरुद्ध संविधान, ऐन कानून निर्माण भएका छन् । सरकारले बनाएकै संविधान, ऐन कानून कार्यान्वयन गर्न हामीले आन्दोलन गरेका हौं । सरकारलाई सघाउ पुर्‍याउने काम गरेकै कारण मैले अवार्ड पाएको हो नि ! तर, के गर्नु सरकारले यो कुरा बुझ्दैन ?

– सरकारी निकायले सम्मान गर्ने योजना बनाइरहेको पो छ कि ?

त्यस्तो मलाई कुनै पनि जानकारी छैन । सरकारी निकायकै कुरा गर्ने हो भने राष्ट्रिय दलित आयोगले मात्रै बोलाएर सम्मान गरेको छ । त्योबाहेक अन्य कुनै पनि सरकारी निकायले सम्झेको छैन । दलित आयोग त दलित समुदायको क्षेत्रमा काम गर्ने निकाय र संवैधानिक आयोग हो । त्योबाहेक पनि अन्य विभिन्न सरकारी निकाय र संयन्त्र छन् नि ! विश्वभरका ६ वटा देशले मात्रै अवार्ड प्राप्त गर्दा नेपाल जस्तो सानो मुलुक पर्नु सानो कुरा होइन । त्यसैमा पनि म एउटा गरिब र दलित त्यसैमाथि महिला छु । त्यसैमा पनि राजधानी काठमाडौंले नचिनेको विकट बैतडी जस्तो जिल्लाबाट । अहिले सरकारको नेतृत्व पनि आम जनाको पक्षमा १० वर्षे जनयुद्धमा दलित, गरिब तथा सीमान्तकृत समुदायको पक्षमा लडेको नेकपा माओवादी केन्द्र गरेको छ, जसले नसम्झिनु एकदमै दुःखद हो । मैले आफैंले मलाई सम्मान गर्नुस् भनेर भन्ने कुरा पनि हुँदैन नि ! सरकारी संयन्त्र र त्यहाँ पुगेका व्यक्तिले बुझ्नुपर्ने कुरा हो ।

– अन्तर्राष्ट्रिय अवार्ड पाउँदा पनि सरकारबाट सम्मान पाइएन भन्ने गुनासो हो ?

हो नि ! म अमेरिकाबाट फर्किएको पनि एक साता पुगिसक्यो । अहिलेसम्म त्यस्तो केही जानकारी पाएको छैन । अब एकदुई दिनभित्रै बैतडी फर्किन्छु ।

– अहिले जातीय विभेदमा के फरक पाउनुभएको छ ?

हिजोको तुलनामा अहिले केही परिवर्तन पक्कै भएको छ । नेपालको संविधान जारी भयो । त्यहाँ दलितका लागि मौलिक अधिकारदेखि अन्य अधिकार पनि समेटिए । स्थानीय तहमा एक जना दलित महिला सदस्य अनिवार्य रहने व्यवस्था भयो । निजामती सेवामा आरक्षणको व्यवस्था गरियो । तर, दलितको अवस्था भने परिवर्तन हुन सकेन । हरेक निकायमा दलित समुदायको सहभागिता गराउने भनेर भनिन्छ । तर, मापदण्ड पुग्नेगरी व्यवस्था गरिँदैन ।

अहिले पनि शिक्षा, स्वास्थ्यलगायतका आधारभूत पक्ष दलित समुदायको हकमा एकदमै कमजोर छ । जस्तो गणतन्त्र स्थापनापछि मात्रै दलित समुदायका सयौं जनाले दलित भएकै कारण मृत्युवरण गर्नुपरेको छ । अन्तरजातीय विवाह गरेकै कारण मृत्युवरण गर्नुपरेको छ । जनप्रतिनिधिले नै सामाजिक सञ्जालमा दुर्व्यवहारजन्य काम गरिरहनुभएको छ । अहिले पनि दलित भएकै कारण सांसद जस्तो व्यक्तिले कोठा नपाउने समस्या छ । कोठा नपाएकै कारण थर लुकाउनुपर्ने र थर लुकाउँदा पनि थर लुकाएको भनेर हेपिनुपरेको छ ।

गणतन्त्रका कुरा गरिरहँदा अजित मिजारको हत्या भएको सात वर्ष बितिसक्दा पनि उनको शव शिक्षण अस्पतालमा न्याय कुरिरहेको छ । खै ! सरकारले न्याय दिएको ? छोराको अन्तिम दाहसंस्कार गर्न नपाएर परिवार कति पीडामा होला ?

– जातीय विभेद अहिले भइरहेको छ, मात्रै रुप फेरिएको भन्न खोज्नुभएको हो ?

हो, विभदेका रुप फेरिएका छन् । अहिले मेरो जिल्ला बैतडीको हकमा ८४ जना वडा सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित भए पनि उहाँहरुले निर्णायक भूमिका निर्वाह गर्न सक्नुभएको छैन । उनीहरुलाई माइन्युटमा हस्ताक्षर गराउने काममात्रै भइरहेको छ । दुई चार जना निजामती सेवालगायत अन्य विभिन्न सेवामा बल्ल पुगेका छन् ।

अहिले पनि दिनमा चारदेखि पाँच जना महिलामाथि बलात्कार भइरहेकै छ । त्यसमा एक जना दलित समुदायको महिला परेकै छ । कानून बनेका कारण उजुरी गर्नेको संख्या विस्तारै बढिरहेको छ । तर, अदालतबाट न्याय पाउन सकिरहेको छैन । अहिले पनि पानीको धारा छोएको निहुँमा कुटपिट भइरहेकै छ । लोकसेवालगायत विभिन्न आयोगमा आरक्षणको व्यवस्था गरिएको छ । तर, कर्मचारी करारमा भर्ना गर्दा आफ्ना मान्छे हालेर दलित समुदायलाई अवसरबाट बञ्चित गराइएको छ ।

यो सबै संरचनाको दोष हो । महिलाको आन्दोलन भनेको महिला र पुरुषबीचको आन्दोलन होइन । त्यस्तै जातीय विभेद दलित र गैरदलित समुदायबीचको मात्रै होइन, दलितभित्रै र गैरदलितभित्र पनि विभेद कायम छ । त्यसैले यो सबै विभदेलाई सँगै अन्त्य गरेर लानुपर्छ । कुनै ठाउँमा जातीय विभेद भयो भने त्यहाँ दलितमात्रै अपमानित हुँदैन, गैरदलित पनि अपमानिन हुन्छ । अहिले पनि जनप्रतिनिधिबाट सार्वजनिक कार्यक्रममा नै विभेदकारी शब्दको वर्षा भइरहेको छ । उनीहरुलाई नियन्त्रण गर्ने संयन्त्र नै छैन । जनप्रतिनिधिले गर्ने यस्ता हर्कतमा कडाइ हुनुपर्‍यो । यसको जिम्मेवार सरकार हो नि ! कानून कार्यान्वयन गर्ने पाटो एकदमै फितलो छ । कानून बनेको छ । तर, नियत सफा नभएका कारण समस्या ज्यूँका त्यूँ छ ।

– तपाईंलाई यो पुरस्कार किन दिइयो जस्तो लाग्छ ?

२०५३ सालदेखि जातीयलगायत विभिन्न विभेदविरुद्ध गरेको कामको मूल्यांकन हो यो पुरस्कार । बैतडीको जगन्नाथ मन्दिरमा २०५८ सालमा प्रवेश गर्दा म पनि एक अगुवा थिएँ । त्यहाँ पुरनसिंह दयालको नेतृत्वमा मन्दिर प्रवेश गरिसकेपछि ६ महिनासम्म मैले र मेरो परिवारले भोगेको पीडा सम्झिँदा अहिले पनि कहाली लागेर आउँछ । त्यसपछि डोटीको शैलेश्वरी मन्दिरमा प्रवेशका क्रममा पूर्वसांसद नीरा जैरु र म सडकको नालीमा सुतेका थियौं । त्यतिबेला थुप्रै मान्छे घाइते हुनुभएको थियो । त्यसमा म पनि एक थिएँ । धनगढी अञ्चल अस्पतालमा उपचार गर्नुपरेको थियो । सयौं बलात्कारबाट पीडित भएका व्यक्तिले मैरै अगुवाइमा न्याय पाए । अपराधीलाई थुना र कारागारमा पु¥याउन सफल भएको छु । त्यस्तो अवस्थामा मैले ज्यान मार्नेसम्मका धम्कीसमेत खानुपरेको छ ।

२०५७ सालमा बैतडीमा भूमि आन्दोलनको नेतृत्व गर्दा आकाशे पुर्जा बाँडिएको थियो । त्यो भनेको विना जग्गाको पुर्जा । त्यस बेला ३७ जनालाई साँच्चिकै पुर्जा दिलाएर जग्गा उपलब्ध गराउन मेरै नेतृत्वमा पहल भएको थियो । त्यो पनि श्रीमान र श्रीमतीको संयुक्त नाममा । यतिमात्र नभएर बैतडीमा सार्वजनिक स्थलमा नै एकजना दलित समुदायको युवामाथि कुटपिट भइरहेको थियो । ती युवाले शीरको टोपी कुटपिट गर्ने मान्छेको खुट्टामा राख्दासमेत कुटपिट नरोकेपछि त्यसको प्रतिवाद गर्दा मैले पनि लात्ती खानुपरेको थियो ।

यतिमात्र होइन, सामाजिक आन्दोलन गरेरमात्रै हुँदैन भनेर नेकपा एमालेमार्फत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बैतडीको दशरथचन्द नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएँ । उम्मेदवार बन्दा राम्रो मत आए पनि मेरोविरुद्ध गलत प्रचार भएका कारण निर्वाचनमा पराजित भएँ । मेरोविरुद्ध यो अभियन्ता हो, दलित अधिकारकर्मी हो, यदि दलित समुदायको मान्छे उपप्रमुख भयो भने यसबाट मन्दिरको शिलान्यास कसरी गर्ने, धाराको उद्घाटन कसरी गर्ने ? यो त महिलाको पक्षमा काम गर्छ र सबै खराब पुरुषलाई तह लगाउँछ भनेर मलाई पराजित गराइयो । त्यतिमात्रै होइन, २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि म सहभागी भएँ र फेरि पनि पराजित हुन पुगें । त्यो पनि मात्र साढे दुई सयको मतान्तरले ।

मेरो नामका पछाडि लागेको थर मेरा लागि घाँडो भयो । मैले गरेको न्याय मेरा लागि अन्याय भयो । मैले अन्यायमा परेका सबैको क्षेत्रमा काम गर्दा र न्याय दिँदा राजकीय सत्तामा जान असफल भएँ । त्यो आक्षेपमा लागेर आफैंमाथि अन्याय भइरहेको महसुस पनि हुन्छ कहिलेकाहीं त ! किनभने म दुई पटक निर्वाचनमा पराजित भएँ । अझै पनि डगमगाएको छैन । मेरो लडाइँ जारी रहन्छ । निर्णायक ठाउँमा पुग्ने मेरो प्रयास जारी रहनेछ । यो अवस्था परिवर्तन गर्न सामाजिक न्यायसहितको समानता जरुरी छ । राजनीतिक दलका नेता तथा राजकीय पदमा पुगेका व्यक्तिहरु नेपाललाई हामी अमेरिका बनाउँछौं, स्विट्जरल्याण्ड बनाउँछौ भन्छन् । तर, जबसम्म दलित, महिला तथा सीमान्तकृत समुदायले न्याय पाउँदैनन्, तबसम्म त्यो देशको विकास भएको मानिँदैन ।

– अवार्ड पाएपछि अब तपाईंको अभियान र आन्दोलन कसरी अघि बढाउनुहुन्छ ?

मलाई यो अवार्डले जति खुशी दिएको छ, त्यति नै मलाई गम्भीर र संवेदनशील पनि बनाएको छ । यसले मलाई गर्वसँगै जिम्मेवारी थपेको छ । अब सीमान्तकृत समुदायका लागि कानून बनेरमात्रै भएन, कार्यान्वयन गर्न र सरकारलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । बैतडीसँग काठमाडौंको साइनो जोड्ने काम गर्न पहल गर्नेछु । अब मैले थाक्छु भने पनि यी पुरस्कारले थाक्न दिनेछैन । अवार्डले मलाई जुर्मुराउनेछ । मैले प्राप्त गरेको साढे पाँच हजार मतको कदर गर्नेछु । जसले मलाई विश्वास र भरोसा गर्नुभएको छ, उहाँहरुको थप विश्वास जित्नु छ र भरोसा दिलाउनुछ । यतिमात्र नभएर जसले मलाई भरोसा र विश्वास गर्नुभएको छैन, उहाँहरुलाई भरोसा र विश्वास दिलाउनुछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर