सरकारको स्थायित्वका लागि मैले पद त्याग गरें : अमनलाल मोदी – Nepal Press

सरकारको स्थायित्वका लागि मैले पद त्याग गरें : अमनलाल मोदी

काठमाडौं । पूर्वमन्त्री अमनलाल मोदीले सरकारको स्थायित्वका लागि आफूले पद त्याग गरेको बताएका छन् । काठमाडौंमा थारु समुदायले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मोदीले यस्तो बताएका हुन् ।

पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले भने, ‘अहिले हराउँदै गएको त्यागको परिपाटीलाई जागृत गराउनका लागि मैले सहजै पद त्याग गरें ।’ सरकारको स्थायीत्वलाई ध्यान दिँदै आफूले पद त्याग गरेको उनको भनाई थियो ।

‘सरकारको स्थायीत्वका लागि कसै न कसैको त्याग आवश्यक थियो, त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैँले सहज तरिकाले पद छाडेको हुँ’ कार्यक्रमका पूर्ववक्ताले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएकोप्रति असन्तुष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन् राजनीतिक दल र शक्ति केन्द्रलाई चित्त बुझिरहेको छैन । सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ । सरकारलाई मजबुद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ ।’

राजनीतिक रुपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाई थियो । उनले भने, ‘जसले पदलाई सधैँ रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ । पदमा रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्, यो चाहिँ महत्वपूर्ण कुरा हो । मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दूरगामी निर्णय गरेँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर