बेथितिमा लमही नगरपालिकाको छलाङ, कानूनमै नभएको प्रेस सल्लाहकार र प्रेस संयोजक नियुक्त – Nepal Press

बेथितिमा लमही नगरपालिकाको छलाङ, कानूनमै नभएको प्रेस सल्लाहकार र प्रेस संयोजक नियुक्त

दाङ । लमही नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत सञ्चार हेर्नेगरी २ जना कर्मचारी नियुक्त गरेको छ ।

सोमबार बसेको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत प्रेस सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेको हो ।

मेयर जोगराज चौधरीले प्रेस सल्लाहकारमा लीला शाह र प्रेस संयोजकमा पूर्णप्रसाद विकलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । तर, स्थानीय सरकारले प्रेस सल्लाहकार र प्रेस संयोजक नियुक्त गर्ने परिकल्पना स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको छैन ।

देशका विभिन्न स्थानीय तहले प्रमुखको सचिवालयमा करारमा नासु वा अधिकृत राखेर उनैलाई प्रेस हेर्ने जिम्मा दिँदै आएका नजिर छन् । तर, लमही नगरपालिकाले भने सीधै प्रेस सल्लाहकार र प्रेस संयोजकको नियुक्ति दिने निर्णय गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठले प्रेस सल्लाहकार र प्रेस संयोजकको नियुक्ति दिने निर्णय भएको र उनीहरूको सेवा सुविधाका बारेमा भोलि सार्वजनिक गरिने बताए ।

‘आज लीलाजीलाई प्रेस सल्लाहकार र गजमेरजीलाई प्रेस संयोजकको नियुक्ति दिने निर्णय भएको छ’, उनले नेपालप्रेससँग भने, ‘सेवा सुविधा भोलि सार्वजनिक हुन्छ ।’

मेयर चौधरीले प्रेस सल्लाहकार र प्रेस संयोजकको नियुक्ति दिने विषयमा आफू कानूनी रूपमा जानकार नभएको बताए ।

‘हामीले आज प्रेस सल्लाहकार र प्रेस संयोजकको नियुक्ति दिने निर्णय गर्‍यौं’, उनले भने, ‘कानूनमा छ कि छैन, मलाई थाहा छैन । बुझेर खबर गर्छु ।’

कार्यपालिकाका एक सदस्यका अनुसार मेयरले गजमेरलाई प्रेस हेर्नेगरी कर्मचारी नियुक्त गर्न खोजेका थिए । तर, उपमेयर लक्ष्मी योगीले लीला शाहलाई रोजिन् । मेयर र उपमेयरको टकरावका कारण कानूनविपरीत प्रेस सल्लाहकार र प्रेस संयोजकको नियुक्ति दिने निर्णय गरिएको ती कार्यपालिका सदस्यले जानकारी दिए ।

मेयर र उपमेयर दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *