मेट्रो र पूर्वपश्चिम रेलमा सहयोगका लागि रसियाका अधिकारीसमक्ष मन्त्री ज्वालाको प्रस्ताव – Nepal Press

मेट्रो र पूर्वपश्चिम रेलमा सहयोगका लागि रसियाका अधिकारीसमक्ष मन्त्री ज्वालाको प्रस्ताव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा रसियन टोलीसँग छलफल गरेका छन् । सोमबार नेपालका लागि रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले बताए ।

रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन् । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन् । केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको थियो ।

छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए ।

‘मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो’, सचिव केशव शर्माले बताए ।

जवाफमा रसियनपक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको बताएको थियो । त्यसका लागि ठोस प्रस्तावसमेत उनीहरूले मागेका छन् । रसियन पक्षले पोखरा-रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरूको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए ।

छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *