दर्शकले फिल्म नबुझिदिनु भनेको हाम्रो असफलता हो : केकी अधिकारी (भिडिओ) – Nepal Press

दर्शकले फिल्म नबुझिदिनु भनेको हाम्रो असफलता हो : केकी अधिकारी (भिडिओ)

काठमाडौं । अभिनेत्री केकी अधिकारी अहिले फिल्म ‘जय हो’ को प्रचारमा व्यस्त छिन् । आउँदो शुक्रबारबाट फिल्म देशभर प्रदर्शन हुँदैछ । अहिले एक खाले दबाब महसुस पनि गरिरहेको बताउँछिन् उनी ।

३३ औं फिल्ममा काम गरिरहेकी केकीलाई फिल्म प्रदर्शन हुनुअघिसम्मको समय जति दबाबमा बसे पनि प्रदर्शन भएपछि भने केही गर्न नसकिने लाग्छ । फिल्मलाई दर्शकले जसरी पनि ग्रहण गरिदिन सक्छन् । दर्शकले ग्रहण गरिदिने तरीकाले नै बक्स अफिसमा फिल्मको आयु लामो या छोटो हुन्छ, निर्क्यौल गरिदने उनको बुझाइ छ ।

केकी भन्छिन्, ‘फिल्ममा धेरै मान्छेको सपनाको लगानी भएको हुन्छ । मैले काम गरेको हरेक फिल्ममा मैले मेरो गोल्डेन समय दिएकी हुन्छु । कहिलेकाहीँ सोच्छु, यदि यो नै मेरो अन्तिम फिल्म भयो भने रु यदि मैले योबाहेक अरु फिल्ममा काम गर्नै नसक्ने अवस्था बन्यो भने रु फिल्म रिलिजको अन्तिम समयसम्म यस्तो पलहरुबाट गुज्रिएकी हुन्छु ।’

दुई-तीन दिनसम्म यस्तो तनाव र दबाब महसुस भएपछि त्यसपछि मुभअन हुन सकिएन भने अर्को फिल्ममा मानसिक र शारीरिक रुपमा सय प्रतिशत मिहेनत गर्न नसकिने केकीको अनुभूति छ । तर, एकदमै धेरै मिहेनत गर्दा पनि दर्शकले फिल्म बुझेनन् भने त्यसलाई आफूहरुको असफलता हुने बताउँछिन् केकी ।

कुनै कुनै फिल्म निकै पछि फिल्मका विद्यार्थीहरूका लागि काम लाग्न सक्छ । कुनै कुनै फिल्म समयभन्दा अगाडि बढेर पनि बनाइएका हुन्छन् । समय बित्दै जाँदा त्यसलाई सफल फिल्म मानिन्छ ।
केकी भन्छिन्, ‘तर, तत्कालको समयमा हलहरुमा दर्शकलाई फिल्म बुझाउन नसक्नु पनि असफल हुनु नै हो आखिरमा । दर्शकले फिल्म नबुझ्नु भनेकै हाम्रो असफलता हो । समयभन्दा अघि दर्शक तयार नै नहुँदै गर्दा पनि त्यस्ता कन्टेन्टमा काम गरिन्छ । किनभने फिल्म प्रयोग पनि हो । समाज यस्तो भइदिए हुन्थ्यो भन्नका लागि पनि कति चिज बनाउँछौं ।’

तर, दर्शकले कस्तो फिल्म रुचाउने भन्ने कुरा चाहिँ मानवीय स्वाभावसँग जोडिने केकीको निर्क्यौल छ ।

भन्छिन्, ‘फिल्म मेकिङको मजा नै यो हो कि दर्शकले जस्तो कथा पनि मन पराइदिन सक्नुहुन्छ ।कहिलेकाहीँ एकदमै अपेक्षा गरेको चिजमा विपरीत नतिजा आउन सक्छ । कहिलकाहीँ नसोचेको नतिजाले उत्साह थपिदिन्छ । मुख्य कुरा त दर्शकको मनमा छुनुपर्‍यो । यही खालको कन्टेन्ट चल्छ भन्ने हुँदैन । फिल्म मेकिङको सौन्दर्य नै यही हो ।’

तर, फिल्म टीमवर्क भएकाले सबैको उत्तिकै लगानी र योगदान चाहिने केकीको तर्क छ । यसो हुँदाहुँदै पनि आफूलाई पात्र वा चरित्र निर्वाह गर्दै गर्दा प्रस्तुतिमार्फत् दर्शकलाई कहाँ झुट बोलेँ भनेर ठ्याक्कै थाहा हुने बताउँछिन् ।

उनी भन्छिन्, ‘कहाँ दर्शकलाई झुट बोलेँ, कहाँ दर्शकलाई फिल हुने गरी काम गरेँ भनेर ठ्याक्कै थाहा हुन्छ । जहाँ राम्रो गरेको छु, त्यसले फेरि अर्कै मजा दिन्छ । एउटा कलाकारले दुई घण्टाको चलचित्रमा उस्तै मुमेन्ट फिल हुने गरी सायदै काम गर्न सक्ला । त्यसैले कलाकारलाई सोचेजस्तो बेस्ट दिन सकिनँ, सोचेजस्तो उतार्न सकिनँ भनेर जहिल्यै लाग्छ । व्यवहारिक जीवनमा पनि हामी यस्तै खाले अनुभूति लिएर बाँचिरहेका हुन्छौं नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर