बुबा सोभित बस्नेतमाथि सलोनको टिप्पणी- उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ (भिडिओ) – Nepal Press

बुबा सोभित बस्नेतमाथि सलोनको टिप्पणी- उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ (भिडिओ)

काठमाडौं । आउँदो शुक्रबारबाट सलोन बस्नेत र केकी अधिकारी स्टारर फिल्म ‘जय हो’ प्रदर्शनमा आउँदैछ । टेक पौरखी राईद्वारा निर्देशित र सोभित बस्नेत निर्माता रहेको यस चलचित्रमा सलोन र केकीको अलावा निशा अधिकारी, अर्पन थापा, माओत्से गुरुङलगायतको अभिनय छ ।

डेढ महिनादेखि चलचित्र युनिट फिल्मको प्रमोसनको दौडधुपमा व्यस्त छ । तर, प्रमोसनले मात्रै फिल्म चल्न सक्छ त ? सलोनलाई लाग्छ, प्रमोसनभन्दा ठूलो कुरा चाहिँ फिल्म बलियो छ कि छैन भन्ने नै हो । सालोन भन्छन्, ‘तर, कति फिल्महरु प्रचारप्रसारकै कमीले गर्दा दर्शकहरुले थाहा पाउनु भएको हुँदैन । प्रचारप्रसारले उहाँहरुसम्म जानकारी पुर्‍याउन चाहिँ सहयोग गर्छ । अन्तिममा भने फिल्म नै बलियो हुनुपर्‍यो ।’

कुनै फिल्ममा काम गर्दैगर्दा निर्माताको लगानी डुब्ला कि भन्ने भयले सताउने गरेको बताउँछन् सलोन । आफ्नै घरमा पनि लगानी डुब्दा र उक्सिँदाको अवस्था देखेको बताउँदै उनी भन्छन्, ‘फिल्म असफल हुँदा निर्मातामा निराशपन देखिन्छ । त्यो हुँदा एकदमै नराम्रो लाग्छ ।’

सलोनलाई लाग्छ, राम्रो फिल्म बनाउने कुनै सूत्र हुँदैन । कसैले सोचेको कुनै संसारलाई फिल्ममा देखाउन कोसिस गर्ने हो । त्यो संसार सबैलाई मनपर्छ भन्ने पनि हुँदैन । सबै फिल्म सफल हुन्छन् भन्ने पनि हुँदैन । तर, लगानी नडुबाउन निर्माता स्वयं पनि स्मार्ट हुनुपर्ने सलोनको बुझाइ छ ।

सलोन भन्छन्, ‘कति निर्माताहरु होमवर्क नगरी आउनुभएको मैले देखेको छु । कति सिनेमा त लगानी नै धेरै भएर पनि डुबेको देखेको छु । मुख्य कुरा त होमवर्कको कमी हो । निर्माताहरुले अलिकति स्मार्टली काम गर्न आवश्यक देख्छु ।’

यस हिसाबमा सलोनलाई आफ्नो बुवा सोभित बस्नेत स्मार्ट मेकर जस्तो लाग्छ । ‘जय हो’को समेत निर्माता रहेका सोभितले फिल्म बनाउने कुरामा स्मार्टनेस देखाइदिने सलोनको बुझाइ छ । भन्छन्, ‘उहाँ के चलिरहेको छ, कस्तो कुरा चलिरहेको छ, ठ्याक्कै बुझ्नुहुन्छ । त्यो भएर पनि उहाँ आजसम्म सक्रिय हुनुहुन्छ । यसैमा रमाइरहनुभएको पनि छ । उहाँसँगैका कति मान्छे अहिले हुनुहुन्न । उहाँ टिकिरहनु भएको छ । उहाँ स्मार्ट मेकर र निर्देशक हो जस्तो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर