माधव-बाबुरामको घरमै सलामीसहित घटना विवरण कागजमा हस्ताक्षर, प्रतिवादी होइन सरकारी साक्षी बनाइँदै – Nepal Press

माधव-बाबुरामको घरमै सलामीसहित घटना विवरण कागजमा हस्ताक्षर, प्रतिवादी होइन सरकारी साक्षी बनाइँदै

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा अनुसन्धानको दायरामा ल्याउनु भनेका तत्कालीन प्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपाललाई घटना विवरण कागजमात्र गराएर उन्मुक्ति दिइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आइतबार घरमै पुगेर घटना विवरण कागज गराएको हो ।

घटना विवरण कागज सरकारी साक्षी बनाउनमात्र प्रयोग हुन्छ । सरकारी वकिलको उपस्थितिमा बयान गराएमा मात्र प्रतिवादी बनाउन सकिने व्यवस्था छ ।

तर, अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहँदा सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वयसँग घटना विवरण कागजमात्र गरेको हो ।

‘यसलाई बयान भनिँदैन र यसका आधारमा प्रतिवादी पनि बनाउन मिल्दैन’, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने ।

यसअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा अह्राए खटाएकोलाई मात्र पक्राउ गरिएको र निर्णयकर्तालाई अनुसन्धानको दायरामा नल्याएको भन्दै त्यसले समग्र न्याय प्रणालीप्रतिको आमविश्वासलाई समेत जोखिममा पारेको निष्कर्षसहित निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो ।

तर, उनीहरूलाई जोगाउन गठबन्धनले सीआईबीलाई समेत दबाब र प्रभावमा पारेको भन्दै तीव्र आलोचना भएको थियो । सोधपुछसम्म पनि नगरी अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको भन्दै सीआईबीमाथि प्रश्न उठाइएको थियो ।


प्रतिक्रिया

One thought on “माधव-बाबुरामको घरमै सलामीसहित घटना विवरण कागजमा हस्ताक्षर, प्रतिवादी होइन सरकारी साक्षी बनाइँदै

  1. Most of our corrupted leaders are involved in unimaginable scams. The truth about these scams will never be revealed. So, the best policy is ‘Let’s not dig our graves or else we all fall into our own graves.’ The ongoing INVESTIGATION is just an eye wash.
    😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर