एसएलसी सकेकाे ३८ वर्षपछि १२ कक्षा पास, पूर्वभारतीय सैनिककाे अब वकिल बन्ने आश – Nepal Press

एसएलसी सकेकाे ३८ वर्षपछि १२ कक्षा पास, पूर्वभारतीय सैनिककाे अब वकिल बन्ने आश

रुपन्देही । भारतीय सेनामा ३२ वर्ष काम गरेपछि २०७७ सालमा रिटायर्ड भए पश्चिम नवलपरासीको सुनवलका ५५ वर्षीय हरिबहादुर खत्री । भारतीय सेनाको ४.९ गोर्खा राइफल सिपाहीमा २०४२ सालमा भर्ती भएका उनी सुबेदार मेजर अनेरी क्याप्टेनबाट रिटायर्ड भए । २०४२ सालमा एसएससी पास गरेलगत्तै खाएको जागिरबाट सेवा निवृत्त भएपछि उनी नेपाल आए ।

नेपाल आएपछि उनले लेखापढी काम थाले । लेखापढी गर्दै जाँदा कानूनी विषयले अप्ठेरो पार्न थाल्यो । अनि हरिबहादुरले कानून पढ्ने संकल्प गरे । त्यही संकल्पअनुसार उनै खत्रीले एसएलसी पास गरेको ३६ वर्षपछि कानून विषय पढ्न कक्षा १२ मा भर्ना भए । उनी यसै वर्ष ३.५० जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण हुनसमेत सफल भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमुना माविबाट उनले कक्षा १२ को परीक्षा दिएका हुन् ।

गुल्मीको शान्तिपुर गाविस वडा नम्बर ३ मा २०२५ सालमा जन्मिएका खत्रीले स्थानीय उदय मावि शान्तिपुरबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनका बुवा भक्तबहादुर र आमा द्रौपती खत्री हुन् । कक्षा १२ पाससँगै कानून व्यवसायी बनेर निःशुल्क समाजसेवा गर्ने योजना रहेको उनी बताउँछन् । अब बीए एलएलबी अध्ययन गर्ने उनको योजना छ ।

दुई छोराका बुवा हरिबहादुरका जेठा छोरा ओमले एमए पास गरिसकेका छन् । उनी अहिले रुपन्देहीस्थित कलेज पढाउँछन् । कान्छा छोरा रोजगारीका लागि दुबईमा छन् । घरमा श्रीमती विष्णुकुमारी खत्रीले पनि उनलाई अध्ययन गर्न उत्तिकै प्रेरणा र साथ दिएको बताउँछन् हरिबहादुर ।

‘मेरो अध्ययनको सबै व्यवस्थापन गर्ने छोरा र श्रीमती हुन्, छोराले बुवा तपाईंले सजिलै पास गर्न सक्नुहुन्छ, नियमित पढ्नुहोस् भनेर ऊर्जा दिए’, उनले भने, ‘श्रीमतीले त हरेक दिन कलेज जान तयार गरिदिन्थिन् । उनको सहयोग नभएको भए त यो सम्भव नै थिएन ।’

उनका अनुसार हरिबहादुरलाई अध्ययन अनि सामाजिक काममा रुचि थियो । जुन रुचि पूरा गर्न रिटायर्ड सहयोगी भएको उनको भनाइ छ ।

‘२०४२ सालमा एसएलसी सकेपछि पढाइ छाडियो, भारतीय सेनामा भर्ती भइयो, त्यतिबेला पढ्न पाइएन’, उनले भने, ‘अहिले सुरु गरेको छु ।’

नाति उमेरका साथी, छोरा उमेरका शिक्षकशिक्षिका हुँदा सुरु सुरुमा निकै गाह्रो भएको उनको भनाइ छ । ‘सुरुमा कभर गर्न सकिन्न कि जस्तो लाग्यो । तैपनि मेहनत गरें, नियमित कलेज नै गएँ । शिक्षकहरुले धेरै सम्मानका साथ माया गरेर पढाउनुभयो’, हरिबहादुरले सुनाए, ‘अब ब्याचलर नि कानून नै पढ्ने तयारी गरेको छु, नियमित कलेज जान्छु, लुम्बिनी विश्वविद्यालयले कानून सेवा सुरु गरेको छ । त्यसमै भर्ना हुने हो ।’

खत्री गुल्मीको शान्तिपुरबाट २०६० सालमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका- ७ तरगौलीमा परिवारसहित बसाइ सरेका थिए । बुवाको पढाइप्रतिको लगाव देखेर नै पढ्न अनुरोध र सहयोग गरेको बताउँछन् जेठा छोरा ओम ।

‘उहाँ सामाजिक काम र पढाइको मात्रै चिन्ता गर्नुहुन्छ, पहिले हामीलाई पनि पढ्न उसैगरी प्रेरणा दिनुहुन्थ्यो, अहिले पनि उस्तै मेहनत गर्नुहुन्छ । उहाँलाई मनलाग्दासम्म यसैगरी पढ्ने वातावरण मिलाउने हो’, उनले भने ।

श्रीमती विष्णुकुमारीकाे साथमा हरिबहादुर खत्री ।

हरिबहादुरकी श्रीमती विष्णुकुमारी श्रीमानको सफलतामा उस्तै दंग छिन् । कक्षा १२ पास गर्न सबै दृष्टिले साथ र सहयोग गरेकी उनी अब पनि त्यसैगरी साथ दिने बताउँछिन् ।

खत्री पढ्न रुचि भएमा केहीले पनि रोक्दैन भन्ने उदाहरण भएको अध्यापक माधवकुमार पौडेल बताउँछन् ।

‘साधारणतया धेरैले समयमा पढ्न नपाएको, उमेर बढेको, जागिरले विदेश गएको आदि बहाना बनाएर आफ्नो अध्ययनलाई निरन्तरता दिँदैनन् । तर, हरिबहादुर त्यस्ता बहानामात्रै बनाउनेहरुका लागि गतिलो उहाहरण बन्न सफल हुनुभएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर