वीरमा अप्रेसनका लागि पालो कुर्नुपर्ने बाध्यता हट्दै, सुधारका लागि यस्तो छ डा. पौडेलको योजना (भिडिओ) – Nepal Press

वीरमा अप्रेसनका लागि पालो कुर्नुपर्ने बाध्यता हट्दै, सुधारका लागि यस्तो छ डा. पौडेलको योजना (भिडिओ)

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको भन्दै आफ्नो योजना सुनाए । त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन कक्षहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थपिने उनले बताए ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि, निर्देशिका र अस्पतालले गर्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले पाइसकेको छ ।

डा. पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृतिका बिरामीको प्राथमिकीकरण गर्न थालिएको सुनाए ।

‘जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिन थालिएको छ । अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेका छौं’, डा. पौडेलले भने ।

बिरामीको चापलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपीडी भएको स्थानमा काउन्टर स्थापना गरिएको उनले बताए । ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिहान ८ बजेदेखि ४ बजेसम्म ओपीडी सञ्चालन गर्दै आएको छ । नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शय्या सञ्चालनमा आएको छ ।

आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको उनले बताए । नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिएपनि कार्यान्वयमा चुनौती सिर्जना भएको उनले बताए ।

उनका अनुसार आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रूपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रूपैयाँमात्रै दिएको छ । आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोधभर्ना हुने आश्वासन पाएको उनले बताए ।

उहाँले भन्नुभयो, ‘अप्रेसनका लागि करार सेवामा जनशक्ति थप्ने योजना छ । भीआईपी, भीभीआईपी सेवा अस्पतालले लामो समयदेखि दिँदै आएको छ । मन्त्रीज्युको धारणा के छ भने राज्यको खर्च हुन्छ भने निजीमा होइन वीर अस्पतालमा नै उपचारका लागि जानुपर्छ भन्ने रहेको छ । अहिले हामीले तीन वटा कक्ष बढायौं । जम्मा पाँचवटा क्याविन पुग्यो । दुई वटा भिभिआईपीको लागि र तीन वटा भीआईपीको लागि । एकजना आम पब्लिकले जस्तो सेवा पाउनुहुन्छ, भीआईपी, भीभीआईपीले । स्वास्थ्य सेवामा सानो, ठूलो, धनी, गरिब भनेर विभेद हुँदैन । केही सुविधामात्रै थपेको छ । मिटिङ गर्नलाई एउटा कोठा, परिवारको लागि सँगै बसेर खाजाखाने छुट्टै कोठा, आकस्मिक उपचारका लागि चाहिने उपकरण व्याकअपमा हुन्छन् ।’

वीरले आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

One thought on “वीरमा अप्रेसनका लागि पालो कुर्नुपर्ने बाध्यता हट्दै, सुधारका लागि यस्तो छ डा. पौडेलको योजना (भिडिओ)

  1. सबै को साथ र सहयोग हुनु जरुरी छ आसेपासे भरौटे ले हो काम मा बाधा दिने डाक्टर सन्तोश आफैमा सछ्यम ब्यक्ति भन्ने ट्रमा को ब्यवस्थापन बाट नै प्रष्ट छ ।सो सचेत भयेर अगाडि बढनु होला । बेला बेला अनुगमन गर्न जरुरी छ जस्ले गर्दा कर्मचारी को काम गर्ने शैलीमा केही परिवर्तन पक्कै आउने छ🙏🙏 जस्को रिजल्ट सकारात्मक हुने छ । शुभकामना 💐💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *