माओ विचारधारा त्यागेर मदन भण्डारी नेतृत्वको उदय भएकै ठाउँमा ३५ वर्षपछि एमाले बैठक बस्दै – Nepal Press

माओ विचारधारा त्यागेर मदन भण्डारी नेतृत्वको उदय भएकै ठाउँमा ३५ वर्षपछि एमाले बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको महासचिवमा पहिलोपटक मदन भण्डारी निर्वाचित भएर मार्क्सवादको सिर्जनात्मक प्रयोगको यात्रा सुरू भएकै ठाउँमा ३५ वर्षपछि सचिवालयको बैठक बस्ने भएको छ ।

सिरहाको विष्णुपुरमा विक्रम सम्वत् २०४५ भदौ ९ गते भएको तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीको विचार र नेतृत्व स्थापित गरेको थियो । सोही दिन पारेर एमाले केन्द्रीय सचिवालयको बैठक महाधिवेशन भएको ठाउँमै बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

हाल धनगढीमाई नगरपालिका-१४ मा पर्ने सो ठाउँमा तत्कालीन नेकपा मालेको महाधिवेशनका लागि पार्टीले बनाएको काठको घर अहिले पनि संरक्षण गरेर राखिएको छ । सोही घरमा एमालेको बैठक बस्दैछ ।

त्यसबेला महाधिवेशन आयोजनाको जिम्मा ईश्वर पोखरेल र व्यवस्थापन विष्णु रिमाललगायतको नेतृत्वमा भएको थियो । सोही महाधिवेशनबाट हालको एमालेले माओ विचारधारा परित्याग गरेको थियो । त्यसअघि मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने गरेको थियो ।

सोही महाधिवेशनबाट नेपाली मौलिकता अनुरूप मार्क्सवाद सिर्जनात्मक प्रयोग थालेर जनताको बहुदलीय जनवादमा पुगेको भन्दै रिमालले नेतृत्वको सहज परिवर्तन समेत भएको दिनका रूपमा भदौ ९ गते ऐतिहासिकस्थलमा बैठक बस्न लागिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर