कोशीकी उपसभामुख काठमाडौं लागिन्, कार्यव्यवस्थाको बैठक दिउँसोलाई सारियो – Nepal Press

कोशीकी उपसभामुख काठमाडौं लागिन्, कार्यव्यवस्थाको बैठक दिउँसोलाई सारियो

विराटनगर । उपसभामुख सृजना दनुवारको अनुपस्थितिका कारण कोशी प्रदेशसभाको कार्य व्यवस्था समिति बैठक सरेको छ । सोमबार बिहान बोलाइएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको हो ।

बैठकको अध्यक्षता गर्ने व्यक्ति नै अनुपस्थित भएपछि बैठक दिउँसोलाई सारिएको हो ।

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेपछि सभाको कार्यसूची नै बन्न नसकेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीले बताए । उनका अनुसार दिउँसो समितिको बैठक बसी सभाको कार्यसूची तय गर्नेछ । सभाको कार्यसूचीसमेत तय नभएका कारण सभा चल्ने नचल्ने विषयमा अझै टुंगो लागेको छैन ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने बारेको सूचना शुक्रबार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले विश्वासको मत पाउनका लागि उप सभामुखले सभा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशसभा सदस्यको अंक गणितका कारण उपसभामुखले सभा सञ्चालन नगरेको अवस्थामा अध्यक्ष मण्डलमा रहेका एमाले या राप्रपाका प्रदेशसभा सदस्यहरूले सभा सञ्चालन गरे मात्रै थापाले विश्व सको मत पाउने छन् । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थापासँग ४७ सदस्य छन् । ४७ मध्ये अध्यक्ष मण्डलमा रहेका कसैले सभा सञ्चालन गर्नुपरे उनलाई ४६ जनाले मात्रै विश्व सको मत दिन पाउने छन् ।

थापालाई विश्वासको मत लिनबाट रोक्नका लागि राप्रपा र एमोलका ९ जना ज्येष्ठ सदस्यले हिजै बिदामा बसेका छन् । उपसभामुखसमेत बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं गएकी छन् । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन साउन १६ गते राजीनामा दिएका थिए । माओवादीबाट प्रदेशसभा सदस्य भएका गौतम अहिले आर्थिक मामिला तथा योजनामन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर