अमेरिकामा मेस्सीलाई उपाधि जिताएका गोलकिपर कालेन्डर भन्छन्- मैले पेनाल्टी रोकेको र गोल गरेको दुवै पहिलोपटक – Nepal Press

अमेरिकामा मेस्सीलाई उपाधि जिताएका गोलकिपर कालेन्डर भन्छन्- मैले पेनाल्टी रोकेको र गोल गरेको दुवै पहिलोपटक

लन्डन । लियोनल मेस्सीको प्रेरणामा अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले आइतबार इतिहासमै पहिलो उपाधि जित्यो, लिग्स कपका रुपमा ।

अमेरिका र मेक्सिकोका प्रिमियर क्लबहरु सहभागी यस प्रतियोगितामा मेस्सीले हरेक खेलमा गोल गरे । तर, फाइनल जित्न मेस्सीको गोलमात्र पर्याप्त भएन ।

गोलकिपर ड्रेक कालेन्डरले निर्धारित समयमा ५ वटा गोलका सुन्दर अवसरमा नासभिल एससीलाई निराश बनाएका थिए । त्यसपछि भएको पेनाल्टी सुटआउटमा उनले २ प्रहार रोकेका थिए भने आफैंले पनि गोल गरेका थिए ।

गोलकिपर कालेन्डरका अनुसार व्यवसायिक फुटबलमा यसअघि उनले कहिल्यै पेनाल्टी प्रहार गरेका थिएनन् भने गोल पनि राेकेका थिएनन्।

‘जब मैले पनि पेनाल्टी प्रहार गर्नुपर्छ भन्ने महसुस भयो, एकदमै उत्साही भएको थिएँ’, खेलपछि कालेन्डरले भने, ‘त्यो मेरो पहिलो व्यवसायिक गोल थियो । मैले सुटआउटमा दुई वटा प्रहार पनि बचाएँ र यसअघि व्यवसायिक फुटबलमा भएको सुटआउटमा एउटा पनि प्रहार रोक्न सकेको थिइनँ ।’

सुटआउटमा टोलीका १० खेलाडीको पालो सकिएपछि कालेन्डर आफैं प्रहार गर्न उत्रनु परेको थियो । सहजै गोल गरेका उनले विपक्षी गोलकिपरको प्रहार भने रोकेका थिए ।

एमएलएसमै कमजोर रहँदै आएको मियामीले मेस्सीको आगमनयता शानदार प्रदर्शन गर्दै पहिलोपटक फाइनल यात्रामात्र तय गरेन, उपाधि पनि जित्यो । मेस्सीले ७ खेलमा १० गोल गरे । तर, प्रतियोगिताभर गोलकिपर कालेन्डरको प्रदर्शन शानदार रह्यो । मेस्सीले गोल गरेरमात्र पुग्ने अवस्था बनेन, कालेन्डरले शानदार प्रदर्शन पनि गरिरहनुपर्‍यो ।

गोलकिपर कालेन्डरले प्लेयर अफ दी फाइनल र बेस्ट गोलकिपरको अवार्ड पनि प्राप्त गरे । २५ वर्षीय कालेन्डर सन् २०२० देखि मियामीका लागि खेलिरहेका छन् । उनले अमेरिकाको राष्ट्रिय टोलीमा ठाउँ बनाउन बाँकी नै छ ।

यसै सिजन क्लबमा भित्रिएका प्रशिक्षक टाटा मार्टिनो र बार्सिलोनाका पूर्वतीन खेलाडी जोर्दी अल्बा, मेस्सी र सर्जियो बुस्केट्सले मियामीलाई नयाँ उचाइमा पुर्‍याएका हुन् । अर्जेन्टिनी मार्टिनो आफैं पनि बार्सिलोना र अर्जेन्टिनाका पूर्वप्रशिक्षक हुन् ।

मेस्सीको उपाधि करियरमा गोलकिपरको भूमिका महत्वपूर्ण रहँदै आएको छ । अर्जेन्टिनाका लागि कोपा अमेरिका र विश्वकप जित्दा पनि गोलकिपर एमिलियानो मार्टिनेजले निर्णायक प्रदर्शन गरेका थिए । गोलकिपर कालेन्डरले मेस्सीसहितका नयाँ खेलाडीको उपस्थितिले मियामी बलियो बनेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर