देवेन्द्र पौडेलको दाबी- नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने काम पहिलेदेखि चलिरहेको थियो – Nepal Press

देवेन्द्र पौडेलको दाबी- नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने काम पहिलेदेखि चलिरहेको थियो

पोखरा । नेपाल माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका लैजाने कुरा पहिलेदेखि नै चलिरहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पौडेलले भुटानी बनाएर अमेरिका लैजाने काम पहिलेदेखिनै चलिरहेको दाबी गरेका हुन् ।

‘७ वर्षअघिको कुरा हो । सदनमा पनि कुरा उठ्यो । नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिका लैजाने कुरा पहिलेदेखिनै चलिरहेको थियो । यो आजको विषय होइन । तर, अहिलेको सरकारले सुरुआत गरेको छ र प्रक्रिया अगाडि बढाएको छ’, उनले भने ।

माओवादी केन्द्रले गण्डकी प्रदेशका ११ वटै जिल्ला इन्चार्ज तोकेको छ । पार्टीको शनिबार बसेको ७ औं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नेताहरुको जिम्मेवारी तोकेको हो ।

नेता राजकाजी गुरुङ (करण)ले स्याङ्जा जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य दीपक कोइरालालाई गोरखा जिल्ला इन्चार्ज र नेत्रनाथ अधिकारी (हिमाल)ले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, बागलुङ गोविन्द पौडेल, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

पार्टी सबै पालिकाका वडासम्म पुग्ने र जनतासँग जोडिने माओवादी गण्डकी इन्चार्ज पौडेलले सुनाए । यो अभियानपछि विधान अधिवेशन र त्यसपछि राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।

 


प्रतिक्रिया

One thought on “देवेन्द्र पौडेलको दाबी- नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने काम पहिलेदेखि चलिरहेको थियो

  1. सर्पले सर्पको खुट्टा देख्छ । महराले हामी त साना सुन तस्कर भनेको अहिले प्रमाणित हुदैछ । यिनलाई पनि भुटानी शरणार्थी काण्ड पहिलेदेखि नै हुन्थ्यो भन्ने थाहा रहेछ । अब अर्को पटक यिनले अलिअलि नेपालीलाई भुटानी बनाएर त हामीले पनि पठाईयो तर यसरी हजारका हजार त होईन है भन्न बेर छैन । यो देशमा काण्ड घटाउने, भ्रष्टाचार गर्नेमा माओवादी एक नम्बर हो । दुई छाक खान धौधौ परेर क्रान्ति भन्दै हिडेकाहरूको अहिले अवस्था हेरौ त । राज्यको पहुचमा पुगेकाहरूको जीवनमा त आमूल परिवर्तन देखियो । प्रचण्ड कै हेरौ । एउटा सामान्य शिक्षक अहिले उनको, उनका परिवारको बसाइ, लवाइ खवाइ कहाँबाट कहाँ पुग्यो ? जनताले त यी चाहिँ जाली फटाहा रहेछन भनेर चिनीसके । काँग्रेस र अरूका भोटले १० / २० सिट जितेका मात्र हुन गएको चुनावमा । अब यी शुन्यमा झर्छन । प्रचण्डले नै वावुरामका गोरखाका पकेट भोटले जितेका हुन् । अहिले वावुरामलाई धोका दिएका हुन् किनकी अब उनलाई गोरखाबाट चुनाव लडनु छैन । त्यसैले पछिल्ला सबै काण्डका नायक माओवादी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर